पोखरा, लाहुरेहरुको सहर । २ सय वर्ष पुगिसकेछ यस क्षेत्रले लाहुरे जन्माएको । भलै लाहुरे संस्कृतिलाई उचित र अनुचित दुवै कोणबाट व्याख्या गरिएको छ । तर यस क्षेत्रको समृद्धिमा यसले राम्रै प्रभाव पारेको कुरालाई भने सायदै कसैले नकार्लान् ।
यही लाहुेर संस्कृतिसँग जोडिएको पोखराले आउँदो मंगलबार बेलायतको राजसंस्थाका प्रतिनिधिलाई भित्यारउने सौभाग्य पाएको छ ।
‘जहाँ गोर्खा सैनिक छन् त्यहाँ सुरक्षाको कुनै चिन्ता छैन’ भनेर गोर्खा सैनिकको मुक्त कण्ठले प्रसंशा गर्ने उनै बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारी पोखरा आउन लागेका हुन् । बेलायतको राष्ट्रिय सेना अन्तर्गतको गोर्खा बटालियनसँग सन् २००७÷८ मा अफगानिस्तानमा बिताएका क्षणको वर्णनमा उनले त्यसो भनेका थिए ।
नेपाल र बेलायतबीच दौत्य सम्बन्ध कायम भएको २ सय वर्ष भएको अवसर पारेर ह्यारी ५ दिने भ्रमणका लागि शनिबार काठमाडौं आउँदै छन् । बेलायती महारानीले आफ्ना प्रतिनिधिका रुपमा ३२ वर्षिय राजकुमार ह्यारीलाई नेपाल पठाएकी हुन् ।
राजकुमार ह्यारी बर्दिया, लमजुङ हुँदै मंगलबार हेलिकप्टर मार्फत् पोखरा आउने तय भएको छ । यहाँ रहँदा उनले वीरता र पराक्रममा ख्याति कमाएका गोर्खा सैनिकका परिवारजनसँत भलाकुसारी गर्नेछन् । युद्धमा घाइते र अपांग भएका योद्धासँग भेट्नेछन् ।
पोखरास्थित ब्रिटिस क्याम्पसँगै रहेको गोर्खा म्युजियमको पनि उनले अवलोकन गर्नेछन् । साथै गोर्खा सैनिक कल्याणकारी कोषले भूकम्पले क्षति पु¥याएका संरचना निर्माणसम्बन्धी जानकारी समेत लिने बेलायती दूतावासले जनाएको छ ।
सन् १८१५ देखि बेलायतको हरेक युद्धमा गोर्खाले साथ दिए । ती युद्धमा बहादुरी र इमान्दारितापूर्वक गोर्खा फौजले लडे । पहिलो र दोस्रो विश्वयुद्धमा ४० हजारभन्दा धेरै गोर्खा सैनिकले बेलायतको लागि ज्यान गुमाएका छन् । हजारौं घाइते र अपांग भए । बहादुरीको कदर स्वरुप १३ जना गोर्खा सैनिक बेलायतको भिक्टोरिया क्रमबाट सम्मानित भएका छन् ।
बेलायतकी महारानी एलिजाबेथबाट सन् १९६१ र १९८६ मा दुई पटक नेपालको भ्रमण भयो भने युवराज चाल्र्स, युवराज्ञी डायना, राजकुमार फिलिपले नेपालको यात्रा गरिसकेका छन् । ह्यारीका बाबु युवराज चाल्र्सले पदयात्रा गरेको कालिका, हंसपुर, रुपाकोट गाविसलाई जोडेर ‘रोयल ट्रेक’ नै नामकरण गरिएको छ ।
बेलायतबाट हालसम्म भएका ३९ वटा यस्ता उच्चस्तरीय भ्रमणले आपसी समझदारी, साझेदारी र सहकार्यलाई सघन तुल्याउन मद्दत पुगेको छ ।
लमजुङको गौंडामा ह्यारीको रात
राजकुमार ह्यारीले लमजुङको गौंडा गाविसमा पदयात्रा गर्ने तय भएको छ । बेशीसहरबाट ३० किलोमिटर उत्तरपूर्व पर्ने गौंडामा ह्यारीले ८ गते १ घण्टा पदयात्रा गर्नेछन् । उनी बर्दियाबाट सिधैं हेलिकप्टरमा २ः४५ बजे गौंडा पुग्नेछन् ।
उक्त गाविसमा रहेका ब्रिटिस गोर्खा आर्मीका परिवारलाई भेट्ने र स्थानीय रहनसहन बुझ्ने छन् । भूकम्पले घर भत्काएको दुई भूतपूर्व सैनिकका परिवारलाई पनि उनले भेट्नेछन् । सोमबार उनले गौंडाबाट मनमोहक हिमशृंखलासँगै सूर्यास्त अवलोकन गर्नेछन् । त्यस दिन गौंडाकै ओखरी गाउँमा देवबहादुर तामाङको घरमा ह्यारी बास बस्ने टुंगो लागेको छ । तामाङ भूपू ब्रिटिस आर्मीका छोरा हुन् ।
उक्त दिन साँझ स्थानीय तामाङ समुदायले प्रस्तुत गर्ने साँस्कृतिक कार्यक्रममा राजकुमार ह्यारी समावेश हुनेछन् । मंगलबार बिहान उनले सूर्योदयको अवलोकन गर्नेछन् । भूकम्पले क्षतिग्रस्त बनाएपछि पुनःनिर्माण भइरहेको स्थानीय गौंडा माविको भवनको अवस्थाबारे बुझ्ने स्रोतले बतायो ।



0 comments
प्रतिक्रिया दिनुहोस्...