काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पार्टी नेता रामचन्द्र पौडेलबीच पुनः प्रतिस्पर्धा हुने भएको छ। सभापतिमा प्रतिस्पर्धा गरेको एक महिना बित्न नपाउँदै देउवा र पौडेल संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रन लागेका हुन्।पार्टी केन्द्रीय समिति बैठकले दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरेसँगै दुवै नेताले सक्रियता बढाएका छन्। १३ औं महाधिवेशनमार्फत सभापति निर्वाचित भएका देउवाले सांसदसँग भेटघाट तीव्र बनाएका छन् भने निकट नेतालाई त्यसको तयारी थाल्न आग्रह गरिसकेका छन्।सकेसम्म सहमतिबाट संसदीय दलको नेता बन्ने र त्यस्तो सम्भव नभए पनि अधिकतम सांसदलाई पक्षमा पार्न देउवानिकट नेता सक्रिय छन्। १३ औं महाधिवेशनमा देउवालाई सभापतिमा समर्थन गर्ने सांसद संख्यालाई आंकलन गर्दै उनीहरु संसदीय दलमा सुविधाजनक बहुमत पुग्नेमा ढुक्क छन्।
तत्कालीन सभापति सुशील कोइरालासँग २०७० माघ १२ गते भएको संसदीय दलको निर्वाचनमा देउवा १६ मतले पछि परेका थिए। त्यतिबेला कोइरालापक्षका भनिएका अर्जुननरसिंह केसी, जगदिश्वरनरसिंह केसी, कुलबहादुर गुरुङ, चन्द्र भण्डारी, मानबहादुर विक, अमृत अर्याल, सूर्यमान गुरुङ, फर्मुल्लाह मन्सुर, केशवकुमार बुढाथोकी, अर्जुनप्रसाद जोशी, मधु शाही, अमरेशकुमार सिंहसहित नेता महाधिवेशनमा देउवाको पक्षमा उभिएका थिए।त्यस्तै, कोइरालाको पक्षमा देखिएका तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला, गगनकुमार थापा, तारामान गुरुङ, उषा गुरुङ, गणेशप्रसाद बिमलीसहित नेता १३ औं महाधिवेशनमा नेता पौडेलको विपक्षमा देखिएका थिए। त्यसको लाभ देउवालाई पुग्नसक्ने निकट नेताहरूको विश्लेषण छ।पौडेल पक्षीय नेता पनि संसदीय दलको नेता आफ्नो पक्षमा पार्न सक्रिय भएका छन्। पछिल्ला दिनमा सांसदको जोडघटाउमा जुटेका केही नेताले १३औं महाधिवेशनमा देउवाको पक्षमा खुलेका सांसदले अघिल्लो दलको निर्वाचनमा पनि देउवालाई मतदान गरेको दाबी गर्दै आएका छन्। पौडेल दलको नेताका लागि तयार भए निर्वाचन परिणाम पक्षमा पार्न सहज हुने भन्दै उनीहरूले पौडेललाई उम्मेदवार बन्न आग्रह गरेका छन्। केहीले भने फेरि हार्ने चुनावमा पौडेल उम्मेदवार हुन नहुने भन्दै देउवासँग सहमति गरेर जानुपर्ने वा अर्को कुनै नेतालाई अघि बढाउन सुझाएका छन्।पौडेलको विकल्पमा प्रकाशमान सिंह, रामशरण महत, शेखर कोइरालासहितका नेताहरू दलको नेतामा उम्मेदवार बन्न आकांक्षी रहेको निकट एक नेताले जानकारी दिए। तर, पौडेल भने आफैँ संसदीय दलको नेता बन्न सक्रिय छन्। उनले आइतबार मात्र सिंह, महत, मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, दिलबहादुर घर्तीसहित निकटसँग दलको नेतामा कसरी अघि बढ्नेमा छलफल गरेका थिए।
भेटमा पौडेले नै दलको नेतामा उम्मेदवारी दिने वा दिन नहुने भन्ने उनीहरुबीच एकमत नभएको स्रोतको दाबी छ। छलफलमा सहभागि केन्द्रीय सदस्य ढुंगानाले दलको नेताको निर्वाचन मिति नै टुंगो लाग्न बाँकी रहेको भन्दै त्यस विषयमा छलफल नभएको दाबी गरे। समसामयीक विषयमा कसरी अघि बढ्ने भनेर निकटहरुसँग छलफल गरेको भने स्वीकार गर्दै उनले नागरिकसँग भने, ...निर्वाचनको मिति घोषणा भएपछि कुरा गरौला।'
त्यसअघि नेता पौडेलले पार्टीमा एक व्यक्ति एक पद लागु गर्नु पर्ने भन्दै महाधिवेशनलगतै सभापति देउवा निकट नेता विमलेन्द्र निधिलाई निवासमा नै बोलाएर दलको नेतामा सहयोग मागेका थिए। संसदीय फाँटको जिम्मा आफुलाई दिन र पार्टी सञ्चालन देउवाले गर्ने गरी मिलाएर अघि बढ्न निधिसँग आग्रह गरेको स्रोतको दाबी छ। पौडेलले आफ्नो सन्देश सभापतिसम्म पुर्यावइदिन निधिलाई आग्रह गरेका थिए।
पार्टी महाधिवेशनअघि नै देउवाले संसदीय दलको नेता बन्न पौडेललाई औपचारीक रुपमा नै आग्रह गरे स्मरण गराउँदै निधिले सभापतिको दोस्रो चरणको निर्वाचन अघिको प्रस्तावलाई पनि अस्वीकार गरेकाले परिस्थीति अघि बढीसकेको जानकारी गराएका थिए। नेता निधिले सभापति देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने पौडेललाई जानकारी गराउँदै सर्वसहमतिको वातावरण बनाएर दुई नेता मिलेर पार्टीलाई अघि बढाउन आग्रह गरेको स्रोतको दाबी छ।
दलको नेतामा समर्थन गर्न पौडेलले गरेको आग्रहसहितको सन्देश निधिले सभापति देउवासम्म पुर्यासएपनि उक्त प्रस्ताव सम्भव नभएको जवाफ पठाइसकेका छन्। देउवाले दलको नेतामा आफै प्रतिष्पर्धा गर्ने जवाफ पठाएपछि पौडेलले आफ्नो सक्रियता बढाएका हुन।
यसैबीच रमेश रिजाल नेतृत्वको निर्वाचन समितिको चैत १३ गते बस्ने बैठकले दलको नेता चयकना लागि निर्वाचनको कार्यतालीका सार्वजनीक गर्ने छ।



0 comments
प्रतिक्रिया दिनुहोस्...