विडम्वना हो कि वि. सं. २००७ सालमा प्रजातन्त्रको उदय भए पश्चात राजनैतिक दल, नेता र शासकहरू विच धेरै वर्ष देखि निरन्तर शक्ति संघर्ष चल्दैछ। यसको ज्वलन्त उदाहरण निर्दलीय पंचायती व्यवस्थाको प्रादुर्भाव ( २०१७-२०४६), संवैधानिक राजतन्त्र र वहुदलीय व्यवस्थाको स्थापना (२०४६-२०६२), माओवादी हिंसात्मक आन्दोलन (२०५२-६२), राजाको प्रत्यक्ष हुकुमी शासन (२०६१-२०६२) र गणतन्त्रको घोषणा (२०६३) तथा संघीय, लोकतान्त्रिक, गणतन्त्रमा आधारित संविधान(२०७२) जारी भए पनि संक्रमणकाल लम्विदो छ र पूर्ण शान्तिको प्रत्याभूति भएको छैन।
(२) नेपालमा राजनैतिक परिस्थिति राष्ट्रको विकास होइन विनास तर्फ उन्मुख छ; आन्तरिक कलह र शक्ति राष्ट्रहरूको खेल मैदानको रूपमा नेपाल परिणत भएको छ। निरन्तरको राजनैतिक परिवर्तन पश्चात पनि आन्तरिक र वाह्य कारणले राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्तालाई अक्षुण्ण कायम राख्न, प्रजातन्त्रलाई सम्वर्धन गर्न र आर्थिक सम्वृद्धि हासिल गर्न ठूलो चुनौतिको सामना गर्नुपरेको छ।
(३) भूकम्प, आन्दोलन, नाकावन्दीले अर्थतन्त्र तहस-नहस भएको छ भने विखण्डनको चुनौति पनि त्यतिनै संवेदनशील रहेको छ। संसदमा कुनै पनि दलको पूर्ण वहुमत नभएकोले शक्ति संघर्षले झन उग्र रूप लिएको छ। विगत ९ वर्षमा ८ वटा सरकारहरू वने अव अर्को सरकार वनाउने चलखेल शुरू भएको छ।
(४) यो शक्ति संघर्षमा आन्तरिक रूपमा ठूला दल र सधैं च्यांखे दाउमा वसेका साना दल र नेताहरू समेत संलग्न छन्। वाह्य शक्तिहरू खास गरि छिमेकी राष्ट्र भारत सधैं सुरक्षा कवचको वहानामा नेपाललाई आफ्नो कव्जाको मुलुक जस्तो व्यवहार गर्दछ भने अर्को छिमेकी राष्ट्र चीन नेपालको वाटो भएर ‘स्वतन्त्र तिब्बत’को गतिविधिमा भारत, अमेरिका, युरोपिएन युनियन लगाएत अन्य कृश्चियन देशहरू संलग्न रहेको त्रासमा सधैं सशंकित छ। यस्तो अवस्थामा नेपालले आफ्नो कुटनीति, परराष्ट्र नीति, आर्थिक नीति र समष्टिगत रणनीतिलाई समय सापेक्ष वनाउंदै परिमार्जन गर्नु पर्दछ।
(५) अन्यथा नेपालमा राजनैतिक दलहरू विचको आन्तरिक कलह र शक्ति संघर्ष तथा वाह्य शक्ति राष्ट्रहरूको अखाडामा परिणत भएर आफ्नो स्वतन्त्र अस्तित्व गुम्न सक्ने स्थिति उत्पन्न हुन सक्छ। तसर्थ देश भित्र र देश वाहिरका तत्वहरू द्वारा नेपाललाई रणभूमि वनाउने षडयन्त्रवाट जोगाउं।
सवैलाई चेतना भया !



0 comments
प्रतिक्रिया दिनुहोस्...