काठमाडौं, १७ चैत । प्रहरीले म्यानपावरमा छापा हानेपछि आन्दोलनमा उत्रिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम आंशिक रुपमा फिर्ता लिएको छ ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी संघले वार्तामार्फत समस्याको समाधान गर्ने श्रम तथा रोजगार मन्त्रालयको पत्रलाई सकारात्मक रुपमा लिँदै अन्तिम श्रम स्वीकृति लिने काम खुला गर्ने निर्णय गरेको जनाएको हो ।
‘श्रम तथा रोजगारमन्त्री दिपक बोहोराले वार्तामार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएर वार्ता समिति नै गठन गर्नुभएको छ’ पत्रकार सम्मेलनमा संघका अध्यक्ष विमल ढकालले भने- ‘अब निर्णायक वार्ता हुने देखिएकाले हामीहरु केही दिनका लागि अन्तिम श्रम स्वीकृति लिने कार्य खुला गर्ने निर्णयमा पुगेका हौं ।’
यद्यपी संघले पूर्व स्वीकृति लिने काम बन्द गर्ने निर्णय भने फिर्ता लिएको छैन । सरकारी वार्ता टोलीसँग हुने वार्ताका आधारमा पूर्व स्वीकृतिका बारेमा निर्णय लिइने अध्यक्ष ढकालको भनाई छ ।
अन्तिम श्रम स्वीकृति लिने काम खुला गर्ने निर्णयसँगै भिसा प्राप्त गरेर विदेश जानबाट रोकिएका करिब १५ हजार कामदारलाई रोजगारीका लागि विदेश जाने बाटो खुलेको छ ।
ठगीका उजुरी आएपछि महानगरीय प्रहरी अपराध महाशाखाले दुई सातादेखि दर्जन बढी म्यानपावरमा छापा मारेको थियो । यसैको विरोधमा म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।
- दैनिक नेपाल डट कम



0 comments
प्रतिक्रिया दिनुहोस्...