ओखारी (लमजुङ): भलिबल खेल्न रुचाउने बेलायती राजकुमार ह्यारीले आफ्नो नेपाल भ्रमणमा पनि त्यसलाई छुटाउन चाहेनन् ।
मंगलबार लमजुङको गौंडा–१, ओखारीमा पुगेका उनले आफ्नो सानैदेखिको भलिबलप्रतिको रुचि सबैसामू छर्लङ्ग पारिदिए ।
ओखारीस्थित गौंडा माध्यामिक बिद्यालयको कक्षा १० युवायुवती र केही पूर्व बेलायती सैनिकसँग उनले झण्डै १५ मिनेट समय मैत्रीपूर्ण भलिबल खेलेर बिताए ।
राजकुमार ह्यारीले भलिबल खेल्ने इच्छा ब्यक्त गरेपछि बिद्यालयले सो को तयारी गरेको थियो । राजकुमार ह्यारीको खेल हेर्न स्थानीयको ओइरो लागेको थियो ।
विद्यार्थी भन्दा अग्ला रहेका उनले निकै राम्रो खेल देखाउँदा स्थानीय छक्क परेर हेरिरहेका थिए । ‘राजकुमारले भलिबल खेल्न पनि जानेका रहेछन, स्थानीय न्यानकउरी गुरुङले भनिन, ‘राजकुमार त सर्बसाधरण जस्तै रहेछन् ।’
राजकुमार ह्यारी र बिद्यार्थीबीचको खेललाई विद्यार्थी र स्थानीयले ताली बजाएर स्वागत गरिरहे ।
ह्यारीको हातमा बल पर्ने बित्तिकै स्थानीयले ‘ह्यारी’, ‘ह्यारी’ भन्दै हुटिङ लगाएपछि उनी निकै हौसिएका थिए । स्थानीयलाई हुटिङ लगाउन उनले हातले ईशारा गरेका थिए ।
गोर्खा वेयलफयेर स्कीम (जीडब्लुएस) को सहयोगमा निर्माणाधीन गौंडा माध्यामिक विद्यालयको अवलोकन पश्चात उनी बिद्यार्थीबीच भलिवल खेल्न तम्सिएका उनले विद्यार्थीबीच पहिलो हाफ मात्र खेले । पहिलो हाफमा उनको समुहले २५ र अर्को समुहले १९ प्वाइन्ट ल्याएका थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...