-->
नेपालको संविधान कोसेढुंगाः भारतीय गृहमन्त्री
Advertisement

नयाँदिल्ली-भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालको नयाँ संविधानलाई 'कोसेढुंगा' भन्दै स्वागत तथा प्रशंसा गरेका छन् । भारत, नयाँदिल्लीमा आयोजित 'नेपाल–भारत सम्बन्धः परिवर्तित सन्दर्भ, विद्यमान परिस्थिति' विषयक गोष्ठीलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
'नेपालको संविधान कोसेढुंगा साबित भएको छ,' शनिबार सुरु द्विदिवसीय गोष्ठीमा उनले भने । संविधान जारी भएलगत्तै भारतले यसलाई स्वागत नगरी 'जानकारीमा लिएको' प्रतिक्रिया दिएको थियो । अन्तर्राष्ट्रिय सहयोग परिषद् भारत, इन्डिया पोलिसी फाउन्डेसन र नीति अनुसन्धान परिषद् नेपालद्वारा आयोजित संयुक्त गोष्ठीमा सिंहले संविधानलाई स्वागत मात्र गरेनन्, नेपालको प्रजातन्त्रलाई जस्तोसुकै सहयोग पुर्याउन भारत तयार रहेको समेत बताए ।

'नेपालको प्रजातान्त्रिक संघर्षमा भारतले सधैं सहयोग पुर्याएको छ,' उनले भने, 'नेपालले जो अपेक्षा गर्छ त्यो पूरा गर्न भारत तयार छ ।' सिंहले सम्बोधनक्रममा तराई–मधेसमा जारी आन्दोलनको सन्दर्भसमेत जोड्न भ्याए । उनले भने, 'मधेसी नेपालका हुन्, यसमा कुनै असमझदारी आवश्यक छैन ।' आन्दोलन क्रममा नेपालमा आपूर्ति बन्द हुँदा आफूहरू पनि चिन्तित भएको उनले उल्लेख गरे । नेपाली समाजको विविधतालाई औंल्याउँदै उनले कसैलाई 'एक्लिन' नदिन पनि आग्रह गरे । नेपाल र भारत अलग–अलग सार्वभौम मुलुक भएको चर्चा गर्दै उनले कहिलेकाहीँ आफूहरूजस्तो निकट सम्बन्ध भएका मानिसलाई यी दुई अलग मुलुक हुन् भन्ने अनुभूतिसमेत नहुने गरेको बताए । 'नेपाल र भारत सम्बन्ध अटुट मात्र होइन, अनौठो पनि छ,' उनले भने ।

परिवार सदस्यबीच कहिलेकाहीँ समस्या आउँदाको जस्तो स्थिति नेपाल र भारतबीचको सम्बन्धमा पनि देखिने गरेको उनले बताए । 'दुवै सार्वभौम मुलुक हुन् तैपनि यस्तो सम्बन्धमा कहिलेकाहीँ सामान्य चर्चा हुनु खराब होइन,' उनले भने, 'हामीबीच सांस्कृतिक, सामाजिक, भौगोलिक र धार्मिक साइनो छ ।'

'तपाईंहरू पनि सीताराम भन्नुहुन्छ, हामी पनि भन्छौं,' उनले भने, 'नेपाल–भारत दुवैलाई नमिलाई सीतारामको कल्पना गर्न सकिन्न । राम यहाँका थिए, सीता उहाँकी थिइन् । यस्तो साइनो दुनियाँका कुनै मुलुकबीच छैन ।'

यही विशेष सम्बन्धकै कारण नेपालमा कुनै समस्या हुँदा भारतमा 'बेचैनी' बढ्ने गरेको सिंहले बताए । भारतमा कुनै असजिलो पर्दा नेपालीमा पनि त्यस्तै मनस्थिति हुने उनले उल्लेख गरे ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण क्रममा गोर्खा रेजिमेन्टको प्रशंसा गरेजस्तै सिंहले पनि आफ्नो देशमा सेवा गरिरहेका सेनाको प्रशंसा दोहोर्याए । उनले भने, 'भारतीय सीमाको रक्षा गर्ने सबैभन्दा बहादुर रेजिमेन्ट गोर्खा हो । उनीहरूले भारतलाई आफ्नो ठानेर रक्षा गर्छन् ।'

दुई देशबीच खुला सीमामा आवतजावत रहेको, भारतबाट जाने सामानलाई भन्सार लाग्ने नगरेको उल्लेख गर्दै यस्तो सम्बन्ध संसारका कुनै पनि मुलुकबीच नरहेको उनले दोहोर्याए । 'नेपालको बेरोजगारी र गरिबीप्रति भारतको पनि चिन्ता छ,' उनले भने, 'हामीलाई किन चिन्ता हुन्छ भने नेपाल हाम्रो मित्र देश हो ।'

नेपालमा भूकम्पपछि भारतीय प्रधानमन्त्रीलगायतले सहयोग गर्न तत्परता देखाएको चर्चा पनि सिंहले गरे । 'नेपालका प्रधानमन्त्री (तत्कालीन प्रधानमन्त्री सुशील कोइराला)लाई समेत यसबारे पछि मात्र थाहा भएको थियो,' उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार सम्पन्न चीन भ्रमणका सन्दर्भमा उनले एउटा सार्वभौम मुलुकका रूपमा नेपालले सम्बन्ध राख्नुलाई अन्यथा लिन नसकिने प्रतिक्रिया दिए । 'यहाँ नेपाल चीनको नजिक गयो भनिरहेछन्,' उनले भने, 'मलाई त्यस्तो लाग्दैन । सार्वभौम मुलुकले संसारको कुनै पनि देशसँग राम्रो सम्बन्ध बनाउनु आवश्यक छ । यसमा कुनै आपत्ति छैन ।'

गृहमन्त्री सिंहले नेपालले चाहे सीमा व्यवस्थापन नियमित गर्न सकिनेसमेत बताए । 'यो दुवै देशका लागि लाभदायी हुन्छ,' उनले भने । सिंहले कार्यक्रममा सहभागीले उठाएका प्रश्नको पनि जवाफ दिएका थिए । संविधान जारी भएपछि दुई देशबीच सम्बन्धमा आएको असहजता मेटाउने उद्देश्यले आयोजित गोष्ठीमा नेपालबाट विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ३५ जनाको प्रतिनिधिमण्डल सहभागी थियो । भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालस्थित भारतीय राजदूत रञ्जित रे, पूर्वराजदूतसमेत पूरै दुई दिन छलफलमा सहभागी थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.