महामहिम निवर्तमान राष्ट्रपतिज्यू,
नमस्कार ।
तपाईं नेपालमा गणतन्त्र स्थापनापछिको पहिलो राष्ट्रपति, झन्डै २ सय ५० वर्षसम्मको राजतन्त्र फालेपछिको देशमा साधारण जनताको सन्तानको पहिलो प्रतिनिधि राष्ट्रपति ।
तपाईं तराईको गÞरिब बस्तीको बीचबाट संघर्ष गर्दै राज्यको सर्बोच्च पदमा पुगेको जनताको छोरा ।
हामी गर्व गर्छौं, आज एउटा आम जनताको छोरा, मधेसमा पछि परेको र पारिएको जनजाति ‘यादव’ को छोराले इतिहास रच्दै देशको सर्वोच्च पदमा आसिन भएर देशमा जनताको संविधान घोषणा गरेकोमा ।
तपाईं पदमा आसिन भएपछि देशले केही उपलब्धि हात पा-यो, केही गुमायो । केही राजनीतिले गर्दा त केही प्रकृतिले गर्दा । यो त तपाईं जानिफकार नै हुनुहुन्छ । राजनीतिक आरोह अवरोह र प्राकृतिक प्रकोपले मुलुकको अर्थ ब्यवस्थासँगै मनहरु छियाछिया भएको तथ्यांक मसँग भन्दा तपाईंसँग आधिकारिक छ हैन र ?
जनताले, जनताका लागि र जनताद्वारा गरिने शासन ब्यवस्था हो ‘लोकतन्त्र’ । जनतालाई केन्द्रमा राखेर जनताको हितमा काम गर्ने ब्यवस्था नै लोकतन्त्र हो भनेर हामीले पढ्यौं र अहिले साना–साना नानी बाबुहरुले पनि पढिरहेकै छन् ।
आज झन्डै पचास लाखभन्दा बढी युवायुवतीले विदेशमा ज्यान जोखिममा पारेर पसिनासँग श्रम साटेर पठाएको रेमिट्यान्सले देश चलेको छ, थामिएको छ ।
लोडसेडिङमा मधुरो टुकी, मैनवत्ती बालेर नेपाल ब्राजिलपछिको दोस्रो ठूलो जलविद्युत् उत्पादन गर्न सक्ने देश हो भनेर भविष्यका कर्णधारहरुले पढिरहेकै छन, कहिलेसम्म पढ्ने हुन कुन्नि ?
भूकम्पपछि हजारौं जनता अझै पनि आफन्त गुमाएर मुटुमा गाँठो पार्दै च्यातिएको त्रिपालमुनि आधा जिन्दगी बाँचिरहेका छन् ।
दुर्गम क्षेत्रमा अझै पनि धेरै मान्छेले मोटर देखेकै छैनन । विकास भन्ने कुन चराको नाउँ हो उनीहरुलाई थाहा छैन । पाँच किलो चामल सित्तैमा होइन, किन्नलाई पनि नेताहरुको सिफÞारिश चाहिन्छ ।
नेपालको त्यही दुर्गम क्षेत्र हो जहाँ एउटी नारी बहुपति प्रथामा आफ्नो शरीर लुटाइरहेकी छे, प्रगतिशील ठानिएको संविधानको कुनै पनि धाराले उसलाई देख्न सकेको छैन ।
तपाईं जन्मे हुर्केको तराईमा अझै पनि बाबुवाद कायमै छ । शिक्षा, स्वास्थ्य र विकासको सूचक लाजमर्दो छ । विश्वले विज्ञान प्रविधिमा जादूमयी फड्को मार्दा हामी भने ‘खुला दिशामुक्त’ गाविस र नगरपालिका घोषणा गरिरहेका छांै । तर अझै पनि तराईमा विभिन्न संस्थाले बनाइदिएका शौचालयहरुलाई मान्छेहरुले भुसको गोदाम बनाइरहेका छन् ।
दिन प्रतिदिन कर्मचारीले अख्तियार दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको समाचार, घुस लिँदालिँदै पक्रेको समाचार आएकै छ ।
सिंहदरबार र बालुवाटारमा बहालवाला र भीआईपीहरुको तलब सुबिधा बढाउन चौतर्फी प्रेसर आइरहेको छ । निर्णय बिना भीआईपीहरुलाई बिलासी गाडी, ईन्धन सुविधा र अन्य सुविधा दिइएको छ ।
पाँच महिनासम्म नागरिकलाई पेट्रोलियम पदार्थ आपूर्ति गर्न नसक्ने निकम्मा आयल निगमले कर्मचारीलाई नब्बे करोड रुपैयाँ बोनस बाँड्ने तयारी गर्दैछ । त्यही आयल निगमका कर्मचारी कालोबजारी गर्छन्, कम तेल दिने डिभाईस सेट गर्छन् ।
यस्ता कैयौं प्रहसनहरुको लामो लिष्ट तयार हुन्छ । जो एउटा सानो पत्रमा अटाउँदैन । त्यसैले खाँटी बिषयवस्तुमा प्रवेश गर्न चाहन्छु । जुन कुराले तपाईको निर्णय त नबदलिएला तर बारम्बार काउकुति भने अवश्य लाग्नेछ ।
महामहिमज्यू,
तपाईं पदमा रहुन्जेल जनताले बुझाएको करले जे जति सेवा सुविधा पाउनुभयो, त्यसमा मलाई गुनासो छैन । तपाईंले राज्यलाई नेतृत्व दिने बेलामा पाएका विलासी गाडी, आवास, ईन्धन र अन्य खर्चहरुको जनताले हिसाव मागेका पनि छैनन् ।
मैले जानेसम्म पेशाले तपाई डाक्टर हो । जुन पेशाबाट तपाईंले नेपालमा राम्रो कमाउन सक्ने मान्छेले जस्तै कम मेहनत गरेरै काम गर्न सक्नुहुन्छ । तपाईंको उमेरका बहुसंख्यक मान्छे पसिना बगाएर ज्यान पालिरहेका छन् ।
अझै पनि नेपालमा डाक्टरहरु अपुग छन् । तपाईं त झन अनुभवी पनि हुनुहुन्छ । तपाईंले कुनै सामुदायिक या सरकारी अस्पतालमा निःशुल्क सेवा गर्न सक्नुहुन्छ । जसले गर्दा तपाईंको शीप त तिखारिन्छ नै अकालमा मर्न लागेको धेरै मानिसको ज्यान पनि बाँच्न सक्छ ।
तपाईं राज्यले उपलब्ध गराउने मासिक १ लाख ३० हजार रुपैयाँको भाडाको घरमा बस्नुहुन्छ । तपाईंको त आफ्नै घर पनि छ । सरकारले भत्ता पनि दिन्छ । छोरा छोरी नातिनीहरुको पनि राम्रो कमाई छ । तपाईंको त यथेष्ट पुर्खौली जायजेथा पनि त छ ।
म एउटा उदाहरण दिइरहेको छु महामहिज्यू,
दक्षिण अमेरिकी मुलुक उरुग्वेका ७८ बर्षे पूर्वराष्ट्रपति जोसे मुजिका पनि अझै जीवित छन् । जो १ मार्च २०१० देखि १ मार्च २०१५ सम्म देशको राष्ट्रपति भए । उनी पदमुक्त भएपछि सरकारी निवासमा बसेनन्, उनी उनकी श्रीमतीको सिंगल बेडरूम फÞार्म हाउसमा बस्छन् । १९८७ मोडलको भोल्कसवेगेन कार चढ्छन् ।
एउटा साधारण घरमा बसेर आफ्नो तलब भत्ताको नब्बे प्रतिशत च्यारिटीमा खर्च गर्छन् । उनी त्यस्तो घरमा बस्न चाहे जहाँ उनको देशका बहुसंख्यक जनता बस्छन् । जब कि नेपालभन्दा धेरै विकसित र सम्पन्न देश हो उरुग्वे । त्यही सरल जीवनशैलीले गर्दा उनी संसारमै प्रिय छन् ।
एउटा भनाई छ– ‘राम्रो अभिभावकले राम्रै मार्गनिर्देश गर्छ, भावी पुस्तालाई सही बाटोमा डो¥याउँछ ।’
तपाईं तीन करोड नेपाली जनताको अभिभावक हो र तपाईंले गरेका हरेक राम्रा कामले राम्रा मान्छेलाई अझ राम्रो गर्न प्रेरणा दिन्छ भने भ्रष्टहरुलाई नैतिक दवाव पर्छ ।
त्यसैले हजारौं जनता घरवारविहीन भएका बेला, लाखौं मानिसको जीवन कारुणिक भइरहेको बेला तपाईं डेरा हैन आफ्नै घर सर्नुस् । सरकारसँग याचना नगर्नुस् । आफ्नै पेशामा फर्कनुस्, डाक्टर नपाएर मरिरहेका गÞरिबहरुको ज्यान बचाउनुस् । जसले भोलिका निवर्तमान र भूपुहरुलाई समेत नैतिक दवाव हुनेछ ।
संसारकै शक्ति सम्पन्न देश अमेरिकाका भूपुराष्ट्रपतिहरु पनि आफ्नो पुरानो पेशा वा समाजसेवामा अनवरत लागिरहेका छन् ।
तपाईं पनि आफ्नो विशेषज्ञताको पेशामा खटि काम गर्नुभएमा सर्वत्र तपाईंको समाजसेवाको प्रशंसा हुनेछ । तपाईंको कद बढ्ने छ । तपाईंको आफ्नै घर र काममा फर्कने निर्णयले एउटा कविता लेख्दैमा राज्यकोषबाट याचना गर्नेदेखि देशका सबै भीआईपीको तन्द्रा भंग हुनेछ । प्रधानमन्त्रीदेखि सभामुखसम्म सबैलाई आफ्नो कार्यकालपछि आ–आफ्नो पेशामा फर्कन नैतिक दवाब पुग्ने छ ।
किनकी अझै पनि सिटामोल नपाएर मान्छे मरिरहने देशमा क्षमता र योग्यता भएकाहरुले याचना गरेरै देशको ढुकुटी दोहन गर्ने हो भने हाम्रा भावी सन्ततिले तपाईं हामीबाट के सिक्ने ?
त्यसैले आफ्नै घर सर्नुस् र आफ्नै पेशामा फर्कनुस् । तपाईंको सुरक्षा सरकारले गर्छ । तपाई जनताको स्वास्थ्यको हेरचाह गर्नुस । यसो गर्नुभो भने तपाईं संसारकै सबैभन्दा लोकप्रिय राष्ट्रपति बन्नु हुनेछ । इतिहासमा तपाईंको नाम स्वर्ण अक्षरले लेखिने छ ।
गर्ने नगर्ने तपाईंकै ईच्छा ।



0 comments
प्रतिक्रिया दिनुहोस्...