-->
किन घट्यो सुन तथा गहनाको बिक्री ?
Advertisement

काठमाडौँ– बजारमा सर्वसाधारण उपभोक्ताको मागको तुलनामा सुनको आपूर्ति तीन गुणाले वृद्धि भएपछि सुन तथा गरगहनाको कारोबार प्रभावित भएको छ ।
गत फागुनदेखि सुनको मूल्यमा वृद्धि हुने क्रम सुरु भएपछि बजारमा सुन खरिद गर्न भन्दा बेच्न सर्वसाधारण तथा उपभोक्ताको भीड लागेको हो ।
अहिले बजारमा दैनिक करिब १० दखि १२ किलोको सुनको माग रहेको भए पनि विभिन्न क्षेत्रबाट मुलुकभित्र दैनिक ३५ देखि ४० किलोसम्म सुन आपूर्ति हुने गरेकाले कारोबार हुन नसकेको व्यापारी बताउँछन् ।
गत फागुनको पहिलो सातामा सुन प्रतितोला रु ४७ हजार मूल्य कायम भई कारोबार भइआएकामा दोस्रो सातादेखि क्रमिक रुपमा मूल्य वृद्धि भई चैतको पहिलो सातामा रु ५७ हजारसम्म पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सुन तथा गरगहनाको व्यापारमा मन्दी आएका कारण अहिले विभिन्न वाणिज्य बैङ्कमार्फत आउने दैनिक १५ किलो सुनसमेत उठाउन नसकिएको बताउनुभयो । भूकम्पका कारण सुन तथा गरगहनाको कारोबार ह्वात्तै घटेको भए पनि विवाह, व्रतबन्ध तथा तीजलगायतका पर्वले कारोबारमा क्रमिक सुधार आउन थालेको थियो ।
महासङ्घका अनुसार पछिल्लो पटक संविधान जारी हुने बेलामा मधेस आन्दोलन तथा अघोषित नाकाबन्दी भई यस क्षेत्रको व्यापारमा नकारात्मक असर परेको हो । सुनको मूल्य सस्तिएको समयमा खरिद गरेका उपभोक्ताले अहिले महँगिएको बेला बिक्री गर्दा बजारमा नकारात्मक प्रभाव परेको बताइन्छ ।
अधिकांश नेपाली नगद आवश्यक पर्दा सञ्चय गरेको सुन तथा गहना बिक्री गरी जोहो टार्ने गर्छन् ।
सुनको मूल्य आज प्रतितोला रु ५५ हजार ५०० मा कारोबार भएको महासङ्घले जनाएको छ ।
श्री रिद्धि सिद्धि सुनचाँदी तथा गहना पसलका सञ्चालक नरेन्द्र गुप्ताले राजनीतिक अस्थिरताले व्यवसायले गति लिन नसकेको बताए ।
नेपाल रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनले सुन, रत्न तथा गहना महङ्गो भएका कारण सबैको पहुँचमा पुग्न नसकेको बताउँदै भने – स्वदेशमा पाइने महत्वपूर्ण रत्नको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि नेपालमा त्यसको व्यावसायिक उत्पादन हुन सकेको छैन । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.