खोटाङ । चैत २३ – तीन वर्षअघि साउदी अरेबिया पुगेका दिक्तेल बाम्राङका दलबहादुर खत्रीले बनाएको योजना पुरा भएको भए यतिवेला उनको परिवार ऋण मुक्त भइसकेको हुन्थ्यो । सदरमुकाम दिक्तेलको निजी स्कूलमा पढ्ने केटाकेटी नजिकैको नयाँ घरमा रमाइरहेका हुन्थे । तर दलबहादुरले सोचे जस्तो हुन सकेन परदेश । साउदी पुगेको एक वर्ष मै उनलाई मधुमेह रोग लाग्यो । ऋण काढेर साउदी पुगेका उनी रोग लाग्दा लाग्दै पनि ऋण तिर्नकै जवर्जस्ती साउदी बस्न चाहिरहेका थिए ।
तर श्रीमती भिमकलाले उनलाई साउदी बस्न दिइनन् । ‘घर फर्किनु, बारी बेचेरै भएपनि उपचार गरौंला’ श्रीमानलाई घर फिर्ता बोलाउन फोनमा भनेका संवाद सम्झँदै उनले भनिन् ‘मैंले बारम्बार ढिपि गर्न थालेपछि उहाँ थला परेर फर्किनुभयो ।’ उपचारका लागि दिक्तेलबाट काठमाडौं कमाउन गएका दलबहादुर २०७१ सालको कात्तिकमा थला परेर घर फर्किनु भएको थियो । घरपुग्दा उनको अवस्था चिन्ताजनक भैसकेको थियो । परिवारले हतार हतार जिल्ला अस्पताल दिक्तेलमा लगे । तर त्यहाँ उपचार हुन सकेन । दिक्तेलको अस्पतालले काठमाडौं रेफर गर्यो । भिमकलाले विरामी श्रीमानलाई भक्तपुरमा रहेको नेपाल कोरिया मैत्री अस्पताल लगिन् । अस्पतालले उपचार हुन सक्दैन भन्यो ।
त्यसपछि उनी ललितपुरको मेघा अस्पताल पुगिन् । बिहान ४ बजे मेघा अस्पतालको आकस्मिक कक्षमा श्रीमानलाई भर्ना गरेपछि भिमकलालाई लागेको थियो, अब त श्रीमानको उपचार होला । सिकिस्त भएका श्रीमानलाई अस्पतालले आइसियुमा राख्यो । उपचारमा संलग्न डाक्टरले रगत चाहिन सक्छ, तर अहिले नै नखोज्नुस्, तर तयार रहनुस हामी खबर गर्छौ भनेपछि श्रीमानको उपचार होला भन्ने आशा बढ्दै थियो भिमकलालाई । दिउँसोसम्म डाक्टरले केहि नभनेपछि रगत पनि नचाहिने भयो, श्रीमानलाई अब त सजिलो भयो होला, यस्तै यस्तै सोच्दै थिइन् भिमकला । दिउँसो तीन बजिसकेको थियो, आइसियुमा रहेका श्रीमानलाई ढोका बाहिरै कुरेर बसेकी भीमकलालाई डाक्टरले बोलाए ।
भीमकला उत्साहित हुँदै डाक्टरको छेउमा पुग्नि । तर डाक्टरले मलिन अनुहार लगाउँदै भीमकलासँग भने ‘हामीले तपाईंका श्रीमान बचाउन सकेनौं, तपाईंले धेरै ढिलो हामी कहाँ ल्याउनुभयो ।’ डाक्टरको भनाई सकिएकै थिएन, पति वियोगको पीडामा भीमकला मुर्छा परिन् । घरमा चार जना बालबच्चा र अपाङगता भएकी नन्द थिइन् । श्रीमानको कमाई उनकै उपचारमा सकियो । तर ऋण भने बाँकी नै थियो । जीवन साथी गुमाएकी भिमकलाको आड भरोसा केहि थिएन् । उपचारका लागि लिएका आएका श्रीमानको काठमाडौंमा नै अन्त्येष्टि गरेर दुःख र पीडा बोकेर उनी घर फर्किन् । श्रीमानको निधनसँगै आँट पनि कमजोर श्रीमान गुमाइसकेपछि भिमकलाले के गर्ने कसो गर्ने सोच्न पनि सकिनन् ।
घरमा बसेर परिवार कसरी चलाउने ? बालबच्चा कसरी हुर्काउने ? यस्तै यस्तै सोचेर उनका दिन बित्न थाले । परदेशमै भएपनि श्रीमान थिए । श्रीमानसँगै कमाइ थियो, आँट पनि थियो । तर श्रीमानको निधनपछि उनको आँट पनि कमजोर बनेको थियो । जनसेवा समाज नेपालले खोटाङमा सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामीका कर्मचारी एक दिन भीमकलालाई भेट्न घरमै पुगे । ‘वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट आर्थिक सहायता र बीमा कम्पनीबाट बीमा रकम पाइन्छ’ उनका पीडा सुनेर सामीका कर्मचारीले सोधे ‘तपाईंले बोर्ड र बीमा कम्पनीमा सम्पर्क गर्नुभएको छैन ?’ वैदेशिक रोजगारीका क्रममा आफन्त गुमाएपछि आर्थिक सहायता पाइन्छ भन्ने समेत जानकारी नभएकी भिमकलालाई सहायता र बीमा बारे थाहा हुने कुरै थिएन । सहायताका लागि आवश्यक प्रक्रियासमेत मिलाउन सघाउँछौ भनेपछि भीमकलालाई सहारा भेटिएला जस्तो लाग्यो ।
तर गाउँलेले गाह्रो छ दिँदैनन् । तिम्रो खर्च मात्रै हुन्छ भनेपछि ऋणमाथि ऋण थप्ने आँट पनि आएन भिमकलासँग । सामीका कर्मचारीले सघाउने भने पनि भिमकला झन्झट नगर्ने भनेर बसिरहेकी थिइन् । तर सामीको सूचना केन्द्रबाट तारन्तार फोन गरेपछि भिमकला केन्द्रमा पुगिन् र भनिन् ‘गाउँलेले खर्च र झन्झट मात्रै हुन्छ, पैसा पाइँदैन भन्छन्, खै के गर्ने गर्ने ?’ बीमा र सहायताको दाबी गर्न तयार सूचना केन्द्रका कर्मचारीले सम्झाई बुझाई गरेपछि भिमकला सहयता बीमाको दाबी गर्न सहमत भइन् । सूचना केन्द्रले आवश्यक कागजात बनाउन उनलाई सहयोग गर्यो । केन्द्रले तयार पारेका कागजात च्यापेर काठमाडौं आएकी उनले प्रवासी नेपाली समन्वय समिति पिएनसिसीमार्फत प्रबद्र्धन बोर्डमा निवेदन दिइन् । बीमा कम्पनीमा पनि पुगिन् । निवेदन दिएर घर फर्केकी उनलाई न त विमा कम्पनीले रकम दियो । न त प्रवद्र्धन वोर्डले सहायता नै ।
उनले सुने जस्तै दुःख मात्र हुन्छ रकम हात लाग्दैन भने जस्तै भइसकेको थियो । उनले पनि वास्ता गर्न छाडिसकेकी थिइन् । सूचना केन्द्रका कर्मचारीले उनलाई सहायता रकम दिलाउन प्रयास गरिरहेका थिए । खर्च मात्रै हुन्छ भनेर नमानेपछि सूचना केन्द्रबाट रकम उठाएरै भएपनि उनलाई फेरि काठमाडौं पठाउने तयारी भैरहेको थियो । पछि उनी गाउँमै ऋण लिएर काठमाडौं जान तयार भइन् । उनले प्रवद्र्धन बोर्ड र प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा निवेदन दिएको एक वर्ष भैसकेको थियो । प्रवद्र्धन बोर्डले उनलाई तीन लाख रुपैयाँ आर्थिक सहायता दियो तर बीमा कम्पनीले खाली हात फर्कायो । तीन लाख रुपैयाँ लिएर फर्किएपछि उनले ऋण तिरिन् । त्यसपछि मन पनि फेरियो । झुलाइरहेको बीमा कम्पनीले बीमा रकम दिएमा परिवारको पालन पोषण र गाउँमै केही व्यवसाय गर्ने योजना उनले बुनेकी छिन् । तर उनलाई थाहा छैन बीमा कम्पनीले पैसा दिन्छ कि दिँदैन।- DCnepal



0 comments
प्रतिक्रिया दिनुहोस्...