-->
पौरख : सैलुनबाट पूजाको मासिक बचत ३० हजार
Advertisement

कावासोती नवलपरासीकी सामान्य परिवारमा जन्मेकी पूजा तामाङले सायदै सोचेकी थिइन्, जीवनमा केही व्यावसाय गरौंला र एक दिन त्यसको मालिकसमेत बनौंला भनेर । सामान्य परिवारमा जन्मेकी तामाङ आज धेरैको प्रेरणा स्रोत बनेकी छन् ।
कक्षा ९ को परीक्षा सकेर घर बसेकी उनी काठमाडौं पसिन् । चार दिदिबहिनी र तीन दाजुभाइभन्दा फरक बाटो रोजेकी उनले पुतलीसडकमा एउटा फ्ल्याट भाडामा लिएर एक्सक्लुसिभ सैलुन सञ्चालन गर्दै आएकी छन् ।
पहिलोपटक काठमाडौं छिरेकी उनले दिदीभिनाजुसँग यतै पढ्ने र केही जागिर गर्ने निधो गरिन् । सुरुमा निकै दुःख भयो । ‘जिन्दगीमा कति संर्घष गरें लेखाजोखा छैन,’ उनी भन्छिन्, ‘आमाबुवाले काठमाडौं नजाऊ भन्नुभएको थियो । उहाँहरूको भनाइ मानेकी भए चुलोचौकामै सीमित हुने थिएँ ।’ व्युटिसियन पूजा तामाङ भनेर परिचित हुन पाउँदा गर्व लागेको उनको भनाइ छ ।
संवत् २०४८ देखि सञ्चालनमा आएको सैलुनमा पोछा लगाउने र भुइँ पुछ्ने कर्मचारीका रूपमा प्रवेश गरेकी तामाङले १० वर्षमै व्युटीपार्लर सञ्चालकको हैसियत बनाउनेछु भनेर कहिल्यै सोचेकी थिइनन् । तर, काम गर्दै जाँदा सम्भव हुँदोरहेछ । स्थापित ब्युटी सैलुनमा सामान्य कामदारका रूपमा छिरेकी उनी अन्ततः त्यही सैलुनको मालिक बनेकी छन् ।
हिजो भोगेको दुःखले उनलाई स्पातजस्तै मजबुत बनाएको छ । विगत सम्झँदै उनले सुनाइन्, ‘एकताका काठमाडौंमा भोकभोकै बसेकी थिएँ । हिजोआज महिनामा ३० हजार रुपैयाँ बचत गर्न सक्ने भएकी छु ।’ तीनजना स्वयम्सेवकका साथमा ६ कर्मचारीसँग दैनिक दिन बिहान साढे आठबाट रातिको साढे आठ बजेसम्म आफैं काममा खटिने उनको व्युटी सैलुनमा नेतादेखि अभिनेतासम्म, कलाकारदेखि पत्रकारसम्म आउने गरेको उनी सवर्ग बताउँछिन् ।
महिला र पुरुष सबैका लागि सबैखाले सुविधा दिएर उनले व्युटी सैलुन सञ्चालन गरेकी छन् । महिला फेसियल र थ्रेडिङ गर्नमात्रै होइन अन्य विविध कामका लागि पार्लर आउने गर्छन् भने पुरुषसमेत सेभिङ र फेसियल गर्न आउने गरेको उनले सुनाइन् ।
उनले महिला र पुरुषका लागि छुट्टाछुट्टै कर्मचारी राखेकी छन् । त्यहाँ काम गर्ने कर्मचारी सबै काम गर्न सक्छन् । महिलाले पनि पुरुषका लागि सेभिङको तालिम लिएर काम गरिरहेको उनले सुनाइन् । सुरु–सुरुमा यसरी काम गर्दा अप्ठ्यारो लागे पनि हिजोआज बानी पर्दै गएको उनको अनुभव छ ।
कामकै सिलसिलामा भेटिएका कलंकीनिवासी विश्वनाथ रानाभाटसँग सात वर्षअगाडि प्रेमविवाह गरेपछि जीवन सहज हुँदै गएको पूजाको स्वीकारोक्ति छ । रानाभाट परिवारले तामाङ समुदायकी बुहारी भित्र्याउन मानेका थिएनन् । तर पनि श्रीमान्ले उनलाई हरेक अवस्थामा साथ दिए । एक–अर्काप्रतिको दह्रिलो विश्वासमा झाँगिएको प्रेमले अन्ततः सफलता पाएको थियो । विविध समस्याका बाबजुद उनी रानाभाटको घरमा बुहारी बनेर भित्रिएकी थिइन् ।
३० वर्षीया पूजा भावुक हुँदै अतीत सम्झन्छिन्, ‘अन्तरजातीय विवाहले सुरु–सुरुमा धेरै अप्ठ्यारोे पारे पनि श्रीमान्ले सधैं सहयोग गर्नुभयो । मेरो व्यावसायिक सफलताको श्रेय श्रीमान् नै हुनुहुन्छ ।’ बिहे भएको वर्ष दिनमै उनले छोरी जन्माइन् । छोरी जन्मेपछि कामलाई निरन्तरता दिन केही अप्ठ्यारो परेको थियो । छोरी ६ महिनाको भएपछि उनी काममा फर्केकी थिइन् ।
आफ्नो व्यवसायलाई बढाउँदै लैजाने सोच बनाएकी उनको काम छैन भनेर घरमा बसिरहने महिलालाई सुझाव छ, ‘घरभित्रै सीमित भएर नबस । क्षमता विस्तार गर । जसरी हुन्छ–आफ्नो खुट्टामा आफैं उभिने सक्ने हौ । काम गर । निरन्तरता देऊ । स–साना असफलतामा निराश नहोऊ । सफलताले तिमीलाई पर्खेर बसेको हुन्छ ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.