१८ वैशाख, एजेन्सी। सिरियाको अलेपो सहरमा पछिल्लो समयमा बढिरहेको हिंसाप्रति चिन्ता व्यक्त गरिएको समाचार छ । बिहीबार पनि अलेपोमा भएको भिडन्तमा परी कम्तीमा ३८ जना सर्वसाधारण मारिएका थिए ।
सिरियामा केही महिनायतादेखि युद्धविराम भएको छ । त्यसको अनुगमन संयुक्त राष्ट्रसंघ र अमेरिकाले गरिरहेका थिए । युद्धविरामको पालना भइरहेको भनिएका बेला पछिल्लो समयमा अलेपो सहरमा हिंसा भड्किएको छ ।
विश्व समुदायले सिरियमा पुनः हिंसा भड्किई युद्धविराम उल्लङ्घनको अवस्था आउने हो कि भन्ने विषयमा चिन्ता व्यक्त गरिरहेका बताइएको छ ।
अलेपोमा विद्रोहीले सरकार समर्थित ब्रदरहुड समूहलाई लक्ष्यगरी गरेको रकेट हमलामा परी बिहीबार ३८ जना सर्वसाधारणको ज्यान गएको अधिकारवादीहरुले जनाएका थिए ।
ब्रदरहुडलाई लक्ष्य गरेर उनीहरूले रकेट हमला गरेको र त्यसमा परी कम्तीमा दुई जना बालबालिकासहित ३८ जना मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
सिरियामा दुई महिनाअघिदेखि युद्धविराम सुरु भएको हो । युद्धविरामको अवस्था अहिले पनि कायमै छ । तर यति लामो समयसम्म पनि सिरियाको बारेमा ठोस रुपमा वार्ता भने सुरु हुन सकेको छैन ।
पछिल्लो समयमा सिरियामा युद्धबिराम जारी रहेको भनिएको भए पनि अलेपोमा भने भिडन्त भइरहेको छ । सो भिडन्तमा परी पछिल्लो शुक्रबारयता करिब १८६ जनाको ज्यान गएको बताइएको छ ।
सिरियामा हुन लागेको भनिएको वार्ताको अगुवाई अमेरिका र रसियाले नै गरेका छन् । तर सिरियाली विपक्षीहरूले सिरियाली राष्ट्रपति बसर अल असद नहट्दासम्म कुनै वार्ता हुन नसक्ने अडान लिएपछि यो वार्ता अघि बढ्न सकेको छैन ।
सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । हाल त्यहाँ गृहयुद्ध जारी छ ।
सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
यस द्वन्द्वमा ७९ हजार भन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५०० बालबालिका र करिब ९ हजार महिला रहेका छन् ।nepaliheadlines



0 comments
प्रतिक्रिया दिनुहोस्...