-->
७२ वर्षे वृद्धको दैनिक १५ सय कमाई
Advertisement

रोल्पा–आजभोलि रोल्पा सदरमुकाम लिबाङमा ‘स्टोवरी’ (भूँइलिची) बेचिरहेका एक वृद्ध भेटिन्छन् । झोलामै अटाउने तराजुमा हेर्दै खाउँ–खाउँ लाग्ने भूँइलिची तौलिरहेका वृद्धका वरिपरि विद्यार्थी केटाकेटीहरु झुम्मिएका देखिन्छन् । ‘कसरी हो ?’ ‘२५ को १०० ग्राम’ सोध्न नभ्याउँदै जवाफ तयार बनाएका उनी जसलाई पनि फ्याट्ट उत्तर दिन्छन् ।

धबाङ–६, धाङ्सीबाट अढाई घण्टाको बाटो हिँडेर सदरमुकाम लिबाङमा भूँइलिची बेच्न आउने देउराज बुढाको दैनिकी आजभोलि धबाङ–लिबाङ गर्दैमा बित्छ । उमेरले ७२ वर्ष पुगिसकेका देउराज अझैँ हिम्मतिला देखिन्छन् । भन्छन् ‘नेपाल खाइसकेको मान्छे पो हुँ ।’ आफूले उत्पादन गरेका विभिन्न फलफूल बेच्न उनी बैतडी, जुम्ला, मुस्ताङ हुँदै इलामसम्म पुगेका छन् । त्यतिमात्र होइन भारतको विभिन्न ठाउँमा समेत कामको सिलसिलामा पुगिसकेको उनी बताउँछन् ।

‘ढकिया’भरि भूँइलिची बोकेर एकाबिहानै लिबाङ झर्ने देउराजले दैनिक १५ सयमाथिको व्यापार गर्छन् । उनकाअनुसार मासिक ४५ हजारसम्मको कमाई हुन्छ ।

भारतको हिमाञ्चल प्रदेशबाट ल्याएका भूइँलिचीबाट आफ्नै बारीमा अहिले हजारौं बोटको खेती गरिरहेका छन् । ‘५ बोट लिएको हुँ, एकैचोटी १ सय १२ बोटमा फैलियो ।’ हँसिलो चेहेरा बनाउँदै उनले भने । दुई वर्षदेखि भूइँलिची उत्पादनमा लागेका देउराजको अहिले तीनवटा बारीभरि विरुवा छन् ।

देउराज बुढा स्थानीय हरियाली अलैँची कृषक समूहमा समेत आबद्ध छन् । ‘समूूहमार्फत कृषिबाट पनि केही सल्लाह लिने गरेको छु’ उनले भने– ‘तर औपचारिक तालिम भने लिएको छैन ।’ देउराजलाई मान्छेहरुले परिश्रम गर्न डराएकोप्रति थकथक लाग्छ । ‘ढाँटेर, छलेर, लुटेर मात्र मान्छेले पैसा कमाउन खोज्छन् । श्रम गर्नुपर्छ, श्रम ।’ भूँइलिची किन्नेहरुको भीड अलि कम भएपछिको व्याख्या हो यो उनको । उनी अझै थप्छन्– ‘यो ठाउँ भनेको बोटविरुवा, फलफूल उत्पादन हुने ठाउँ हो । तर, मान्छेहरुलाई थाहा छैन ।’


एक छोरा र एक छोरीमध्ये छोरी भने स्थानीय विद्यालयका स्थायी शिक्षिका छिन् भने छोरा कृषक । एकै छोरासँग समेत छुट्टिएर अलग्गै बसिरहेका देउराजको मुख्य पेशा खेती किसानी नै हो । ‘बुढी छ, गोरु भैंसी पालेको छु’ उनले भने–‘बुढेसकालमा पनि आफैँ बारी जोत्छु ।’ यसका अलवा उनले अलैँची खेती समेत गरेका छन् । यता जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत किशोर प्रसाद पन्तले कृषकहरु कसैले चाहेमा आफूहरुले फलफूल तथा अन्य बिरुवाहरु निःशुल्क उपलब्ध गराउने बताए । बजेट पर्याप्त भए पनि कृषकको चासो कम भएको उनको भनाई छ ।

२००१ सालमा जन्मिएर उमेर ढल्किसकेको अवस्थामा पनि आफ्नै परिश्रममा रमाउने देउराज ‘विदेशी गाउँ’का युवाहरुका लागि उदाहरण हुन् । अहिले गाउँपिच्छे ‘परदेशी युवा’ भेटिन्छन् । ‘कालापार’ (भारत)मा पसिना बगाएर पनि नथाकेका देउराजले जस्तै विदेशमा भौंतारिरहेका युवाहरुले पनि सिक्न जरुरी छ ।Ratopati 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.