-->
पशुपतिनाथ क्षेत्रलाई पर्यटकीय विकास गर्नुपर्ने
Advertisement

काठमाडौँ, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पशुपतिनाथ क्षेत्रको विकास, विस्तार र प्रचारका लागि सबैको सार्थक पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल पशुपति क्षेत्र विकास कोषको चौथो महाधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले विश्वका विभिन्न मुलुकमा यस्तै महत्वपूर्ण क्षेत्रको नाममा पर्यटकीय तथा आर्थिक गतिविधि मौलाएकाले नेपालले पनि त्यसबाट फाइदा लिएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पशुपतिनाथ क्षेत्र जस्ता महत्वपूर्ण धार्मिक स्थललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने अध्यक्ष दाहालको कथन थियो ।
अर्काे प्रसङ्गमा उहाँले नयाँ संविधानले निर्दिष्ट गरेका विषयलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै नेपाली जनताले चाहेको सम्पूर्ण अधिकार प्राप्त गर्न नसकेको भए पनि प्राप्त अधिकारलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपाली जनताको आत्मसम्मान र राष्ट्रिय स्वाधीनतालाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
कोषका कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “आफ्नो अधिकार खोज्दा अरूको अधिकारको पनि सम्मान गर्नुपर्छ, जिम्मेवारीबाट विमुख हुनुहुन्न, अधिकारको नाममा अराजकता भयो भने त्यसले कोही कसैको हित गर्दैन ।” नेता दाहालले कोषसँग सम्बन्धित सबै प्रकारको समस्या समाधान गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक मार्फत पहल गरिने विश्वास समेत दिलाउनुभयो ।
कार्यक्रममा कोषका सदस्य सचिव डा गोविन्द टन्डनले पशुपतिनाथ क्षेत्रको वर्तमान अवस्था र समस्याका बारेमा जानकारी गराउनुभएको थियो । सम्मेलन सोमबारसम्म चल्ने र सङ्गठनको नयाँ कार्यसमिति समेत चयन गरिने छ । 
- News24Nepal.com


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.