-->
थारु र मुस्लिम मधेसी कोटाबाट अलग्गिए, कांग्रेसले सुरु गर्यो यस्तो अभ्यास
Advertisement

चैत्र २५  
काठमाडौँ : नयाँ संविधानले व्यवस्था गरेको समानुपातिक समावेशीको अभ्यास नेपाली कांग्रेसले आफ्नो संसदीय कार्यसमितिबाट सुरु गरेको छ। कांग्रेसले भर्खरै सम्पन्न १३औं महाधिवेशनमा समेत यस्तो अभ्यास गर्न सकेको थिएन।
कार्यसमितिले सुरु गरेको समानुपातिक समावेशिताको अभ्यासले यसअघि मधेसी क्लस्टरमा रहेका थारु र मुस्लिमलाई छुट्टै क्लस्टरमा स्थापित गरिदएको छ।
यसअनुसार पहिले मधेसीको कोटामा भाग लिने थारु र मुस्लिमले अब कांग्रेस संसदीय दलको कार्यसमितिमा समानुपातिक ढंगले एक-एक सदस्य पाउने छन्।
यही अभ्यास अब राज्यका अरु निकायमा पनि लागू हुँदै जानेछ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा क्षेत्रीको १६.६ प्रतिशत, पहाडी ब्राह्मणको १२.२ प्रतिशत, मगरको ७.१ प्रतिशत, थारुको ६.६ प्रतिशत, तामाङको प्रतिशत ५.८ प्रतिशत, नेवारको ५ प्रतिशत, कामीको ४.८ प्रतिशत, मुसलमानको ४.४, यादवको ४ प्रतिशत र राईको २.३ प्रतिशत जनसंख्या छ।
खस आर्य र मधेसी कोटामा महिला दोब्बर
यस्तै महिलाका लागि प्रमुख क्लस्टरमा प्राथमिकतासहित कोटा छुट्याएको कांग्रेसले खस आर्य क्लस्टरमा पुरुषको दोब्बर संख्या छुट्याउँदै एक पुरुष र दुई महिलाको कोटा निर्धारण गरेको छ। मधेसी कोटामा पनि ठीक उस्तै अर्थात् एक पुरुष र दुई महिलाको कोटा छ।
आदिवासी जनजातिमा महिला पुरुष बराबरी
कांग्रेसले आदिवासी जनजाति कोटामा दुई पुरुष र दुई महिला गरी बराबर निर्वाचित हुने गरी ४ वटा कोटा निर्धारण गरेको छ। कांग्रेसले आदिवासी जनजातिलाई विशेष प्राथमिकतामा राख्दै ४ वटा कोटा निर्धारण गरेको हो।
विगतमा ६.६ प्रतिशत जनसंख्या ओगटेको थारु जाति समेत रहँदा ३७ प्रतिशत रहेका आदिवासी जनजातिले थारुलाई छुट्टै कोटामा लैजाँदा समेत एक सिट बढी पाएको हो।
दलितमा पनि बराबरी
कांग्रेसले संसदीय कार्यसमितिमा आदिवासी जनजाति जस्तै दलितमा पनि महिला पुरुष बराबरी प्रतिनिधित्वको व्यवस्था मिलाएको छ, जसअनुसार महिला एक सदस्य निर्वाचित हुनेछिन् भने पुरुष पनि एक जना नै निर्वाचित हुनेछन्।
थारु र मुस्लिम मधेसी कोटाबाट छुट्टिए
कांग्रेसले यसअघि मधेसी कोटामै रहेका मुस्लिम र थारुलाई पनि एक-एक कोटा सहित छुट्टाएको छ। अन्तरिम संविधानले थारु र मुस्लिमलाई मधेसी कोटामा राखेपछि त्यसको विरोधमा दोस्रो संविधानसभामा सम्बन्धित समुदायका सभासद्हरुले संविधानसभामा चर्को विरोध गरेका थिए।
उनीहरुको विरोधमा प्रमुख दलले समर्थन जनाएपछि दोस्रो संविधानभाबाट जारी संविधानले उनीहरुलाई छुट्टै कोटामा राखिएको थियो।
मधेसी कोटामा एउटै जिल्लाका दुई प्रतिस्पर्धी
समावेसी कोटा अन्तर्गत एक पुरुष कोटाका लागि बाराका लालबाबु सिंह भूइहार र अयोधीप्रसाद यादव प्रतिस्पर्धामा उत्रीएका छन्। पहिले दुबै संस्थापन पक्षका भए पनि अहिले यादवले सभापति देउवा पक्षबाट र भूइहारले पौडेल पक्षबाट उम्मेद्वारी दिएका हुन्। जिल्ला राजनीतिमा नै उनीहरुबीच प्रतिस्पर्धा रहँदै आएको थियो।
आठ कोटामा १५ जना निर्वाचित हुने
कांग्रेसले समानुपातिक समावेसी प्रतिनिधित्वका लागि आठ क्लस्टरमा १५ सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ। यसअनुसार दुई महिला, एक पुरुष गरी खस आर्य कोटाबाट तीन जना, त्यस्तै दुई महिला, एक पुरुष सहित मधेसी कोटाबाट तीन जना, दुई पुरुष दुई महिलासहित सबैभन्दा बढी चार जना आदिवासी जनजाति कोटाबाट, थारुबाट एक जना, मुस्लिमबाट एक जना र पिछडिएको क्षेत्रबाट एक जना तथा दलितबाट एक पुरुष र एक महिला गरी १५ जना निर्वाचित हुन्छन्।- पहिलोपोस्ट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.