-->
पौरख : ३० हजारको तालिमले बदलिएको रसनाको जीवन
Advertisement

२६ | काठमाडौं– हातमा सीप र मनभरी जाँगर हुने हो भने कामका लागि कसैसँग हात फैलाइरहनु पर्दैन भन्छिन्– रामेछाप बाने दोरम्बाकी रसना रानामगर । शंखमुल–बौद्ध रुटमा पाँच वर्षदेखि सफा टेम्पो चलाउँदै आएकी उनले टेम्पो चलाएरै गाउँमा रहेको आफ्नो परिवारको घरखर्च चलाइरहेकी छन् ।

पाँच वर्ष अगाडिबाट टेम्पो चलाउन थालेकी उनले टेम्पो चलाएबापत साहुबाट मासिक १२ हजार तलब पाउँछिन् । उनले दैनिक रिङरोडमा चार ट्रिप सवारी चलाउनुपर्छ । साहुलाई दैनिक चार हजार बुझाएर बचेको पैसाले खाना खानदेखि घरखर्च चलाउनसम्म पुर्याउनुपर्छ । सामान्यतया दैनिक तीन सयदेखि एक हजारसम्म बचत हुने उनी सुनाउँछिन् । काठमाडौंमा टेम्पो चलाएर कमाएको पैसा घरखर्चका लागि आमालाई पठाइदिने गरेको राना बताउँछिन् । टेम्पो चलाउन थालेदेखि अहिलेसम्म मासिक आठदेखि १० हजार रुपैयाँ आमालाई घर पठाउने गर्छिन् ।

सामान्यतया हाम्रो समाजमा छोरीलाई अर्काको घर जाने जातका रूपमा बुझ्ने चलन छ । कतिपय अभिभावकको छोरीको कमाइ खानुहुँदैन भन्ने धारणाका पनि छन् । रामेछाप दोरम्काको बानेमा सामान्य परिवारमा जन्मेकी रसना पनि यो धारणाको सिकार भएकी थिइन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण माध्यमिक तहको पढाइ पूरा गर्न नपाएको रसना सुनाउँछिन् ।

विनायोजना काठमाडौं पसेकी उनी केही समय यत्तिकै बसिन् । काठमाडौंको सडकमा टेम्पो चलाइरहेका महिला देखेर उनलाई पनि रहर जागेर आयो । ऋण गरेर ३० हजार रुपैयाँमा तीनमहिने टेम्पो चालकको तालिम लिइन् । तालिम लिएपछि आत्मविश्वास चुलिएको उनले सगर्व सुनाइन् । पढाइ बीचैमा छाड्नुपरेकाले अब मैले के काम गर्न सकुँला र भन्ने चिन्ताले उनलाई सताउँथ्यो । त्यो चिन्ता अब हराएको थियो । उनले भनिन्, ‘अब टेम्पो चलाएर म पनि बाँच्न सक्छु र थोरै भए पनि गाँउमा रहेको परिवारलाई घरखर्च पठाइदिन सक्छु भन्ने कुराले मलाई आनन्दित बनाएको थियो ।’

छोरीले केही गर्न सक्दैनन् भन्ने गलत संस्कारले खुबी भएका महिला पनि घरको चुलोचौकोमा सीमित हुनुपरेको उनको तर्क छ । महिला र पुरुष समान हुनका लागि छोरीहरू घरको चारदिवार नाघेर बाहिर निस्किनुपर्ने उनी सुझाउँछिन् । हातमा सीप र मनभरि जाँगर हुने हो भने काम गरेर खान कसैले नरोक्ने उनको अनुभव छ ।

कतिपय बाइक, माइक्रोबस र बसचालकले टेम्पो चालकलाई हेप्ने गरेको रानाको अनुभव छ । त्यसमाथि पनि महिला चालक भनेपछि थप समस्या भोग्नुपर्ने उनी बताउँछिन् । आफ्नै साइडमा टेम्पो चलाइरहँदा कहिले बाइक, कहिले बस त कहिले माइक्रोबसले च्यापेर ल्याउने गरेकाले तनाव हुने गरेको उनले बताइन् । कतिले चर्को हर्न बजाएर सातो लिने गर्छन् भने कतिले अपशब्द बोलेर गाली गर्छन् । कहिलेकाहीँ त आफूले गल्ती नगर्दा नगर्दै पनि सवारी दुर्घटनामा परिने रसना बताउँछिन् ।

उपत्यकाका करिब तीन लाख सार्वजनिक यातायातसाधनमध्ये ६ सयमा महिला चालक छन् । यातायात विभागका अनुसार ६४ रुटमा चल्ने साना तथा ठूला सार्वजनिक यातायातका सवारीसाधन महिलाले चलाउँदै आएका छन् । तर, पुरुष चालकले साइड नदिनु, ट्राफिकले राम्रो व्यवहार नगर्नु र यात्रुले समेत कहिलेकाहीँ अभद्र व्यवहार गर्ने गरेकाले महिलाका लागि सवारीसाधन चलाउन केही कठिन भएको रसना बताउँछिन् ।

ratopati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.