१९ चैत, चितवन । मारवाडी युवा मञ्च भैरहवा, चितवनमा जारी दोस्रो मारवाडी क्रिकेट लिगको फाइनलमा प्रबेश गरेको छ ।
नारायणगढको क्याम्पाचौरमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा जनकपुरलाई २८ रनले हराउँदै भैरहवाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो । भैरहवाको लागि सौरभ अग्रवालले नटआउट ५२ बलमा ५८ रन, पियुस अग्रवालले ११ बलमा २५ र शुभम अग्रवालले १५ बलमा २० रनको योगदान दिए । बलिङतर्फ जनकपुरमा अंकित चोपडाले दुई, राहुल नहरले र चन्दन टिग्रीवालले १/१ विकेट हात पारे ।
एक सय ५४ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ सम्हालेको जनकपुर निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २५ रनमात्र बनाउन सक्यो । जनकपुरका लागि हर्ष शर्माले २० बलमा २६ रन, राहुल नहरले २६ र आकाश मोहनकाले २३ रनको बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङतर्फ भैरहवाका शुभम अग्रवाल र अशोक डागाले २/२ तथा रौनक अग्रवालले १ विकेट लिए । भैरहवाका सौरभ अग्रवाल म्यान अफ दी म्याच बने ।
शनिबार पूर्व क्षेत्रमा हुने बिराटनगर च्यालेन्जर र बिराटनगर महालक्ष्मी ११ बीचको सेमिफाइनल खेल हुनेछ । दुवै क्षेत्रका विजेताहरुबीच चैत २२ गते बिराटनगरको शहिद मैदानमा फाइलन खेल हुनेछ ।
चैत १३ गतेदेखि भएको दोस्रो मारवाडी क्रिकेट लिगमा पश्चिम क्षेत्र अन्तर्गत नारायणगढको क्याम्पाचौरमा नौ वटा खेलहरु भएका थिए । शुक्रबारको सेमिफाइलनसँगै चितवनमा आयोजना गरिएको खेल सकिएको छ ।
- अनलाइनखबर



0 comments
प्रतिक्रिया दिनुहोस्...