-->
श्रीमान् जीउँदै छन् तर उनी श्रीमान्को हत्या आरोपमा जेलमा छिन्
Advertisement

काठमाण्डु, ७ वैशाख – ‘मेरा श्रीमान् जीउँदै छन् तर मलाई उनको हत्या गरेको आरोपमा जेल हालिएको छ ।’ घरायसी झगडाका बेला घाइते भएका श्रीमान्को हत्या प्रयास गरेको आरोपमा जेल पुगेकी काभ्रेकी एक महिलाको भनाइ हो यो ।

kaidi bandi

हेर्दा भर्खर २० वर्ष पनि नपुगेको जस्तो देखिने ती महिलाको काखमा दुई वर्षकी छोरी छन् । उनले आफ्नी छोरीलाई देखाउँदै भनिन्, ‘यो छोरी यही जन्मिएकी हो । जेल परेपछि यहीँ जन्माएँ तर अहिलेसम्म यसका बाबुले एक पटक पनि हेर्न आएका छैनन् ।’

सधैँ जाँड खाएर झगडा गर्ने र कुटपिट गर्ने बानीबाट आजित भएपछि एकदिन उनले पनि हात फर्काइन् । हात फर्काएकै बेला उनका श्रीमान् नराम्ररी घाइते भए । उनलाई परिवारका अन्य सदस्य र छिमेकीले अस्पताल पु¥याए । उपचार भइरहँदा उनलाई भने ज्यान मार्ने उद्योगको आरोपमा प्रहरीले समात्यो । अहिले उनी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेकी छिन् । दुई वर्षदेखि जेलमा बसिरहेकी उनलाई यो पनि थाहा छैन कि अझै कति वर्ष जेलमै बस्नुपर्ने हो ।

कक्षा ६ सम्म मात्र पढेकी ती महिलालाई अब त यहीको वातावरण रमाइलो लाग्न थालेको छ । ‘कम्तीमा रातदिन कुट्ने लोग्नेको अनुहार त हेर्न पर्दैन’, उनले हाँस्दै भनिन् । उनीजस्तै बिनाअपराध जेल जीवन भोगिरहेकी दोलखाकी अर्की महिलालाई पनि अभियोग उस्तै लगाइएको छ , श्रीमान्को हत्या । विसं २०७० मा अचानक उनको श्रीमान्को शव भेटिएको थियो । काठमाण्डुमा गलैँचा बुन्ने काम गर्दागर्दै उनीहरुको प्रेम बसेको थियो ।

प्रेममा परेपछि उनीहरुले छिट्टै नै विवाह पनि गरिहाले । ‘लोग्नेस्वास्नीबीच सामान्य झगडा त भई नै हाल्छ नि हैन र ?,” उनले भनिन्, ‘तर एक्कासि श्रीमान्को शव खोलामा भेटिएपछि त्यसको शङ्का मैमाथि भयो । पुलिसले मलाई समात्यो । बिनाकारण मैले मेरो लोग्नेलाई किन मार्थें तर पुलिसले पत्याएन ।’

उनका अनुसार प्रहरीले उनलाई कुटपिट गर्दै हत्याको आरोप स्वीकार्न लगाएको थियो । साढे दुई वर्षदेखि हत्याको अभियोगमा जेलमा रहेकी उनलाई आफ्नो लोग्नेको वास्तविक हत्यारा अझै पनि को हो भन्ने थाहा छैन । पढाइका नाममा अक्षर पनि नचिन्ने उनका लागि वकिलको प्रवन्ध गरिदिने वा मुद्दा लडिदिने कसले ? सायद यसबारे जानकारी भए उनी पनि आफ्नो पक्षमा वकालत गर्न लगाउँथिन् होला ।

तीन छोराछोरीकी आमा नुवाकोटकी अर्की महिलाको हातबाट अचानक जघन्य अपराध हुन पुग्यो । “मैले मार्ने मनसायले उसलाई हानेकी थिइनँ तर मेरै चोटका कारण उसको मृत्यु भयो,’ उनले भनिन्, ‘सधैँ कचकच गथ्र्यो । अरुसँग अनैतिक सम्बन्ध छ भनेर शङ्का गरिरहन्थ्यो । जाँड रक्सी खाएर आउने अनि कुटपिट गर्ने । सधैँ कति सहनु ! मैले पनि हात उठाएँ त्यसैदिन ऊ म¥यो ।’

उनले सुस्तरी भनिन्, ‘मेरो जिन्दगी त सधैँ कुटपिटमै बित्ने भयो तर तीन छोराछोरीको जिन्दगी राम्रो पार्ने सपना थियो तर यो सपना पनि सपनामा नै रहने भयो ।’ चार वर्षदेखि कारागारको जीवन बिताउन बाध्य ती महिलाको साथमा तीन वर्षकी छोरी छिन् । उनका अरु छोराछोरीलाई विभिन्न संघसस्थाले पढाउन लगेका छन् । ‘यो छोरी सानी भएकीले मसँग बसेकी छे, अलि ठूलो भएपछि यसलाई पनि कुनै संघसस्थाले पढाउन लगिहाल्छ’, उनले निर्धक्क भएर भनिन् ।

साधारण जानकारी नहुँदा आफ्नो सम्पूर्ण जीवन नै जेलभित्र बिताउन बाध्य महिलाको सङ्ख्या सयौँ छ केन्द्रीय कारागार सुन्धारामा । आफूले गर्दै नगरेको अपराधको सजायसमेत भोगिरहेका छन् ती महिलाले । उनीहरुलाई कस्तो अपराधका लागि कति अवधिको सजाय हुन्छ भन्नेसम्म पनि थाहा छैन रहेछ । जेलभित्रका महिलाका हकहितका लागि कार्यरत बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा रानामगरले भनिन्, ‘सूचनाको हक नपाएको स्थितिमा महिलाले कतिसम्म पीडा भोग्न बाध्य हुन्छन् भन्ने कुरा कारागारमा रहेका महिलाबाट प्रमाणित हुन्छ । यदि उनीहरुलाई आफ्नो अपराध र यससम्बन्धी कानुनबारे जानकारी भए सायद त्यतिका वर्ष उनीहरुले कारागारमा बिताउनुपर्ने थिएन ।’

उनीहरुभन्दा पनि कैदीबन्दीका साना केटाकेटीको अवस्था अझै दयनीय रहेको उनी बताउँछिन् । उनीहरुको यस्तै अवस्थासँग परिचित इन्दिराले कैदीबन्दीका बालबालिकालाई पढाउने र राख्ने व्यवस्थासमेत गरेकी छिन् । अहिले उनले आफ्नो संस्थामा ४५० को सङ्ख्यामा त्यस्ता बालबालिकालाई आश्रय दिइरहेकी छिन् ।

सुन्धारा केन्द्रीय कारागारमा रहेको महिला कारागारमा अहिले ३२५ महिला कैदीबन्दी रहेका छन् । कारागार प्रमुख वेदप्रसाद कार्कीका अनुसार यो सङ्ख्या घटबढ भइरहने हुनाले यही निश्चित सङ्ख्या भने होइन ।

कारागारको क्षमताभन्दा बढी महिला कैदीबन्दी भएकाले होला त्यहाँ महिला निकै अव्यवस्थित रुपमा बसेका देखिन्छन् । साँघुरो ठाउँमा नुहाउने, लुगा धुने, लुगा सुकाउने गर्दा कारागार निकै फोहर र दुर्ग्न्धित छ । बेलाबेलामा विभिन्न संघसस्थाले कारागारमा महिलालाई अभिमुखीकरण कार्यक्रम गर्दै आए पनि त्यति प्रभावकारी बनेको देखिँदैन ।Kathmandutoday 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.