-->
सम्भव छ आणविक आतङ्कवाद ?
Advertisement

काठमाडौंः अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार वासिङ्टनमा आयोजित एक सम्मेलनमा भने, आतङ्कवादीहरुले आणविक आतङ्कवादको प्रयास गरिरहेको भन्ने बुझिन्छ, त्यसको खतरातर्फ अबको विश्वले अत्यन्तै सम्वेदनशिल रुपले सोच्नुपर्ने भएको छ ।

वासिङ्टनमा गएको बुधबारदेखि आणविक विश्वलाई सुरक्षित एवम् शान्त विश्व बनाउनुपर्ने विषयमा गम्भीर बहस सुरु भएको छ । त्यस सम्मेलनमा विश्वका कम्तीमा पनि ५० देशका नेता सहभागी छन् र उनीहरुले आणविक शस्त्रास्त्रले उन्माद जन्माउन खोजेको जस्तो देखिएको पछिल्लो विश्व परिवेषलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा चिन्तन गरिरहेका छन् ।

सम्मेलनमा राष्ट्रपति ओबामाले यस्तो घातक कर्मको सम्भावना देखिरहदा यता उत्तर कोरियाले फेरि अर्को आणविक परीक्षण गरेको समाचार विश्वव्यापी प्रचारमा आइरहेको थियो । विश्वका सञ्चारमाध्यमहरुले राष्ट्रपति ओबामाको यस संशयपूर्ण अभिव्यक्तिसँगै उत्तर कोरियाले फेरि पनि अर्को आणविक परीक्षण गरेको भन्ने समाचारलाई उत्तिकै प्राथमिकतामा प्रचार गरिरहेका थिए ।

राष्ट्रपति ओबामाको पछिल्लो अभिव्यक्तिको पृष्ठभूमि हालैका दिनमा युरोपमा बढिरहेको आतङ्कवादी हमला र उता उत्तर कोरियाले जारी राखेको एकपछि अर्को आणविक परीक्षण नै हो । उत्तर कोरियाले गत फेब्रुअरी ६ मा लामो दुरीको र निकै शक्तिशाली रकेट परीक्षण ग¥यो । त्यस परीक्षणका कारण दक्षिण कोरिया र जापानमा भूकम्पको धक्का नै महसुश भएको थियो ।

त्यसपश्चात विश्व समुदायले नै उत्तरको यस कार्यको निन्दा गरे र संयुक्त राष्ट्रसङ्घको अगुवाईमा अमेरिका, दक्षिण कोरियालगायतका देशले उत्तरका विरुद्धमा नाकाबन्दी पनि लगाए । नाकाबन्दीपछि उत्तर कोरियाले झनै आफूलाई शाक्तिशाली रुपमा प्रस्तुत गरिरहेको देखाएको छ । त्यसपछि पनि उसले थप तीन पटकसम्म यस्तै परीक्षण गरेको छ । यसको अन्तिम शृंखला शुक्रबारै देखिएको छ ।

त्यसैगरी, गतहप्तामात्र बेल्जियमको राजधानी ब्रसेल्समा आतङ्कवादको अर्को तथा पछिल्लो शृंखला प्रदर्शित भएको छ । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेशनमा भएको आक्रमणमा परी ३५ जनाको ज्यान गएको छ । इस्लामिक स्टेट्स् (आइएस) नाम दिएको एक आतङ्ककारी समूहले सो आक्रमण गराएको थियो ।

युरोपमा पनि यस समूहको आतङ्क फैलिएकोले पनि विश्व समूदायले नै चिन्ता व्यक्त गरेको छ । आइएस जिहादी समूहले गराएको आत्मघाती बम विस्फोटमा परी नागरिकको ज्यान गएको घटना दुःखद त छदैछ, त्यो भन्दा पनि युरोपमा समेत प्रवेश पाएको यस आत्मघाती कृत्यले आजसम्मको समृद्ध एवम् शान्त मानिने गरेको युरोपमै अध्यारो भविश्यको कालो बादल मडारिएकोप्रति चिन्ता छाएको हो ।

यस आतङ्ककारी संगठन इस्लामिक स्टेट्सले सन् २०१५ को जनवरी ७ मा फ्रान्सको राजधानी पेरिसमा रहेकोे ‘चार्ली एब्दो’ नामक पत्रिकामा हमला गरी प्रधानसम्पादकसहित १४ जनाको हत्या गरेको थियो ।

मुस्लिम धर्मका प्रबर्तक प्रोफेट मोहमम्दको कार्टुन बनाएर उनको अपमान गरेको आरोप लागाउँदै बदलास्वरुप आईएसका लडाकूले यसरी सम्पादकहरूको ज्यान लिएका थिए ।

यस घटनापछि फ्रान्सप्रति ऐक्यबद्धता जनाउन त्यसहप्ता विश्वका ४५ देशका राष्ट्रपति एवम् प्रधानमन्त्री त्यहाँ पुगे र लाखौँ लाखको सहभागितामा पेरिसमा भएको शान्ति¥यालीमा भाग लिए ।

अमेरिकाले आतङ्कवाद विरुद्धको हाल संसारमा जारी रहेको युद्धमा नयाँ अध्याय सुरु भएको घोषणा गर्यो । त्यसको नेतृत्व उसले गर्यो र पश्चिमा राष्ट्रहरूले यसलाई पछाए । तर पुनः गत नोभेम्बर १३ मा पनि आईएसको अर्को आक्रमणको सिकार बन्यो पेरिस । त्यसदिन पेरिसका विभिन्न सात ठाउँमा आईएसले हमला गरे र १३७ जनाको ज्यान लियो भने त्यसमा गोली लागेर ३५८ जना व्यक्ति नराम्ररी घाइते भए ।

युरोपकै ट्युनिसियामा सन् २०१५ मा नै राजधानी ट्युनिसस्थित बाडौ म्युजियममा आतङ्ककारी आक्रमण हुँदा २१ जना विदेशी पर्यटक र एकजना ट्युनिसियाली प्रहरीको मृत्यु भएको लगभग डेढ महिनापछि जुन २६ मा ट्युनिसियाकै एउटा होलिडे रिसोर्टमा यस्तै आक्रमण हुँदा अधिकांश बेलायतीसहित ३८ जना विदेशी पर्यटकको मृत्यु भयो । युरोपमा त्यसयता यस्तो त्रासदीपूर्ण आक्रमण कायमै छ ।

चिन्ताको विषय त के हो भने दुई पटकको पेरिस हमलापछि त्यसको तयारी बेल्जियममा गरिएको भनेर बेल्जियममा नै लुकिछिपी बसिरहेका भनिएका आतङ्कवादीहरुको खोजीका लागि निकै कडा सुरक्षा व्यवस्थाको प्रचार गरिएको थियो । लाग्छ कि सारा युरोपको सुरक्षा नै ब्रसेल्समा केन्द्रित थियो । ब्रसेल्समा हालै भएको आक्रमणको दुई दिनमात्र अघि पेरिस हमलाको एकजना मुख्य योजनाकारलाई पक्राउ पनि गरिएको थियो ।

त्यति कडा सुरक्षा हुदाहुदै पनि ब्रसेल्समा नै यसरी हमला हुनुलाई आइएसको दरिलो उपस्थितिका रुपमा विश्लेषकहरुले लिएका छन् । विश्लेषकहरुले युरोपका अरु देशहरुमा पनि आइएसको आक्रमण हुनसक्छ र अहिलेको जस्तो सुरक्षा प्रबन्धले पुग्दैन भनिरहेका छन् । उनीहरुले आतङ्कवादले यसरी वर्षेनी नै युरोपेली देशहरुमा जालो फिजाउनुले युरोपको भविश्यमाथि प्रश्नचिन्ह लगाइदिएको छ भनेका छन् ।

अल कायदा नामको एक आतङ्कवादी सञ्जालका नाइके ओसामा विन लादेन केही वर्षपहिले पाकिस्तानमा मारिए । उनको यो अन्त्यसँगै विश्वमा आतङ्कवादी क्रियाकलापमा कमी आउने अपेक्षा सर्वत्र गरिएको थियो । तर परिस्थिति त्यस्तो रहेन । त्यसपछिका वर्षहरुमा पनि विश्वका विभिन्न क्षेत्रमा यो त्रासले छोडेको छैन ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.