गोरखा, वैशाख ३ – भूकम्पले क्षतिग्रस्त गोरखाको एक विद्यालय पुनर्निर्माणमा सघाउन आएका अमेरिकन दम्पत्तिले हिन्दु संस्कार अनुसार बिहे गरेका छन् । सहयोगकै लागि पेरु गएका बेला पनि त्यहीँको संस्कार अनुसार दोस्रोपटक बिहे गरेको उनीहरुले बताए । गोरखा बुंकोटको रामेश्वरी माध्यमिक विद्यालयका विभिन्न संरचना पुनर्निर्माणमा सहयोग गर्न आएका अमेरिकी नागरिक डानियल र लीलाले हिन्दु संस्कार अनुसार स्थानीय सरस्वती मन्दिरमा बिहे गरेका हुन् । बिहे भएको झण्डै दुई दशकपछि उनीहरुले फेरि नेपाली परम्परा अनुसार गरेको बिहे हेर्न स्थानीय बासिन्दाको भीड नै लागेको थियो । बिहेको रोचक पक्ष त के थियो भने बुंकोट गाविस–९ मैलुङस्थित सरस्वती मन्दिरमा उनीहरुले बिहे गरीरहँदा उनीहरुका दुई छोराहरुपनि सँगै थिए । ५५ वर्षका डानियल शीरमा नेपाली ढाका टोपी र दुबोको माला लगाएर लीलालाई लिन पञ्चेबाजा र जन्ती लिएर मन्दिरमा पुगेका थिए । स्थानीय नेपाली चेलीको सहयोगमा दुलहीको पहिरनमा सजिएकी ४९ वर्षकी लिला पहिलेनै मन्दिरमा पुगेर जन्तीलाई पर्खिरहेकी थिइन् । उनीहरुको साथमा थिए, १४ वर्षका जेठा छोरा एलेक्स र १२ वर्षका कान्छा छोरा निको । मन्दिरमा पुगेपछि लिलाले डानियल बसेको कुर्सीलाई
तीन फन्को मारेपछि उनीहरुले एक आपसमा माला साँटासाँट गरेर लगाए । जग्गेमा बिहेका सबैजसो सामग्री जम्मा पारिएको थियो, अनि पुरोहितले भनेका कुरा गराउनका लागि दोभाषेका रुपमा पर्यटन ब्यवसायी चेत भट्ट र गौतम वाग्लेले सघाइरहेका थिए । लिलाको सिउँदोमा डानियलले सिन्दुर हालिदिएपछि बिहे हेर्न जम्मा भएका ५ सयभन्दा बढी स्थानीय बासिन्दाले एकसाथ ताली बजाए । बिहेका मुख्य मुख्य संस्कार सकेपछि उनीहरु बस्दै आएको बुंकोट–९ का एक घरमा लिलालाई घरधनीहरुले बुहारीको रुपमा भित्र्याए । गाउँलेहरुकै संयोजनमा भोजको पनि आयोजना गरिएको थियो । डानियलकी पत्नी लीलाको पुर्खा हिन्दु संस्कार मान्ने भारतीय मूलका मलेसियन नागरिक भएको उनीहरुका नेपाली सहयोगी गौतम वाग्लेले बताउनुभयो । आफ्ना पुर्खाको स्मरणमा उनीहरुकै संस्कार अनुसार बिहे गर्दा खुसी लागेको लीलाले बताउनुभयो । स्वयमसेवाकै क्रममा पेरु पुगेका बेला पनि त्यहीँको संस्कार अनुसार बिहे गरेको उनले बताइन् । अमेरिकी रेडक्रसमा आबद्ध कान्छा छोरा निकोको स्यवम्सेवामा सघाउन उनीहरु सपरिवार नेपाल आएका हुन् । उनीहरुले मैलुङको रामेश्वरी माविको दुई वटा शौचालयको पुननिर्माण गरेको, पुस्तकालय निर्माणमा सघाएको र कम्प्युटर र स्टेशनरी सामग्री सहयोग गरेको स्थानीय विश्वनाथ वाग्लेले बताउनुभयो । अमेरिका फर्केपछि गाउँको खानेपानी योजनाको पुननिर्माणका लागि रकम संकलन गर्ने अमेरिकी दम्पत्तीले बताए । उनीहरुका साथमा अरु ३२ जनापनि विद्यालयको पुनर्निर्माणमा लागिरहेका छन् ।- Ujyaaloonline






0 comments
प्रतिक्रिया दिनुहोस्...