कमल थापाले मलाई सरकारबाट फिर्ता बोलाउनुको कुनै कारण थिएन । तर उहाँले बोलाउनु भयो । जनतामा भएको हिन्दुराष्ट्र, राजसंस्थाको विषयमा धारणा मैले अभिव्यक्त गरेको हो । जनताको आवाज एउटा मन्त्रीले बोल्न नपाउने भन्ने के छ ? मैले जनताको आवाज बोल्दा, निहुँ बनाएर मन्त्रीबाट फिर्ता बोलाइएको हो । अध्यक्ष थापा आफैले बोल्दा फरक नपर्ने तर मैले बोल्दा फरक पर्ने भन्ने हुँदैन ।
फिर्ताको रहस्य
राजसंस्थाबारे मैले दिएको अभिव्यक्तिलाई अहिले कारण बनाइएको छ । यो बेकारको कुरा हो । खास कारण के हो भने सरकारमा गएपछि पार्टीको एजेन्डाको विषयमा के के काम भयो ? भन्ने समिक्षा हुनु पर्छ भन्ने धारणा मेरो बुवा एवंम पार्टीका सहअध्यक्ष केशरबहादुर विष्टको थियो । उहाँले राष्ट्रिय प्रजातन्त्री पार्टी नेपालमा रहेर त्यही प्रजातान्त्रिक शैली अपनाउनु भयो । तर उहाँलाई तीन वर्षका लागिा निलम्वन गरियो । बुबालाई निलम्वन गरेपछि केशरबहादुर विष्टको छोरालाई किन मन्त्री बनाइराख्ने भनेर मलाई फिर्ता बोलाइएको हो ।
राजसंस्थाबारे अझै बोल्छु
यो देशको भलो गणतन्त्रले गर्दैन । राष्ट्रको माया गर्ने अभिभावक मुलुकले खोजेको छ । राष्ट्रको माया गर्ने व्यक्ति भनेको राजा नै हुन सक्छ । अरु हुँदैन । अहिले मुलुकभित्रको ससाना कुराको छलफल देशबाहिर हुन्छ । देशको सार्वभौमसत्ता देशबाहिर पुगिसकेको छ । बाहिर पुर्याउने अरु कोही होइनन् यी गणतन्त्रवादी नेताहरु नै हुन् । यसकारण म भन्छु यो देशको भलो गणतन्त्रले होइन राजसंस्थाले गर्छ । जनताले चाहे भने भोलि नै नेपालमा राजसंस्था फर्किन सक्छ । जनताको मनमनमा राजसंस्था छ । त्यो प्रष्फुटित भएर बाहिर आउन नसकेको हो । आएको दिन नेपालमा संवैधानिक राजसंस्था स्थापना नै हुनेछ ।
कमल थापाको शासन राणाहरुकै जस्तो
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालभित्र कस्तो प्रजातान्त्रिक परिपाटी छ भनेर खोजमुलक रिपोर्टीङ पत्रकारहरुले पनि गरे हुन्थ्यो । केही समयअघि केन्द्रिय समितिको बैठक थियो । केन्द्रिय सदस्यहरुले सरकारमा गएका पाँच मन्त्रीहरुको आलोचना बाहेक केही पनि गरेनन् । धेरैजसा केन्द्रिय सदस्यहरुले सरकारमा गएका मन्त्रीहरुलाई गाली गरेरै समय सिध्याए । तर त्यही केन्द्रिय समितिमा अध्यक्ष कमल थापाबारे एक शब्द पनि कसैले बोलेन । बोल्न सकेनन् । बिरालो अगाडिका मुसा जस्ता भए सबै । अध्यक्षविरुद्ध स्वस्थ आलोचना गर्न पनि अघोषित प्रतिबन्ध छ । जसले यो प्रतिबन्धको विरोध गर्छ त्यसले केशरबहादुर विष्ट हुुनु पर्छ । पद्मशुन्दर लावती, विष्णु भट्टराई, रविन्द्र शर्मा, राजेश्वर देवकोटा, श्याम तिमल्सिना, प्रहलाद साहलगायत व्यक्ति कसरी पार्टीबाट किनारा लागे ? यसको एउटा मात्रै कारक भनेको अध्यक्ष कमल थापाको व्यक्तिवादी चरित्र हो । यो चरित्र राप्रपा नेपालमा संस्थागत भएको छ । हिजो राणाशासनमा राणाहरुले जे बोल्थे त्यही कानुन बन्थ्यो । राप्रपा नेपालमा कमल थापाले जे सोच्नु हुन्छ त्यही ठीक हुन्छ । बेठीक भन्नेले कारबाही सहनु पर्छ ।
म राजावादीको पनि मन्त्री
मान्छेहरु भन्छन् कि गणतान्त्रिक मुलुकको मन्त्री भएपछि गणतन्त्रवादीको कुरा बोल्नु पर्छ । म गणतन्त्र नेपालको मन्त्री थिएँ । तर यो गणतान्त्रिक व्यवस्थाभित्र राजावादी जनता पनि त छन् । के मैले ती जनतालाई यो भन्न सक्छु कि ‘म तिमीहरुको मन्त्री होइन’, गणतन्त्रवादीको मात्रै हुँ ? म आफै पनि राजावादी हुँ तर मैले मन्त्री पदमा बसिरहँदा मैले आफुलाई गणतन्त्रवादीको पनि मन्त्री हुँ भन्ने ठानेँ । राजावादी पनि जनता हुन् । उनीहरुको आवाज पनि मैले बोल्नु पर्छ । मैले जनताको आवाज बोलेँ । एउटा मन्त्रीले जनताको आवाज नबोलेर के विदेशीको आवाज बोल्छ ? नेपाली जनताको भोट लिने अनि विदेशीको एजेन्डा बोक्ने, विदेशीकै हित चिताएर बोल्नका लागि नेपालमा धेरै नेता छन् । त्यहाँ मेरो जरुरत छैन । त्यो म गर्न सक्दिनँ ।
देश टुक्रयाउनु पर्छ भन्नेहरुलाई कारबाही नगर्ने मलाई गर्ने ?
नेपाल आमालाई अश्लिल शब्दमा गाली गर्ने । नेपाल टुक्रा टुक्रा पार्नुपर्छ भन्नेहरु नेपालमा साँढे झै घुमिरहेका छन् । त्यस्ता अराजक राष्ट्रघातीलाई कारबाही गर्ने दायित्व र कर्तब्य उपप्रधानमन्त्री कमल थापाको हो कि होइन ? राष्ट्रघातीलाई कारबाही गर्न नसक्ने, अनि मैले राजावादी जनताको भावना अलिकति बोल्दा कारबाही ? मैले अघि पनि भने वास्तवमा मलाई कारबाही गर्नु एउटा निहुँ मात्रै हो । राजसंस्था र हिन्दु राष्ट्रको विषयमा अध्यक्ष कमल थापा आफैले धेरै बोल्नु भएको छ ।Kathmandutoday



0 comments
प्रतिक्रिया दिनुहोस्...