काठमाडौं, वैशाख १२ –
‘थोत्रा लुगा बाँड्दा पनि झगडा हुन्छ जहाँ ।
पीडितकै लुगाफाटो र खाट हराउँछन् यहाँ ।’
यी माथिका हरफ कुनै महान् साहित्यकारको नभई भूकम्प पीडित एक महिलाको हो । बौद्धमा रहेको भूकम्प पीडित शिविरमा पालमा बसेकी सुमित्रा नेपालीले पालमा बस्दाका आफ्ना पीडा, वेदना यसरी कवितामार्फत पोख्नुभएको हो ।
उहाँ सिन्धुली चपौलीकी भूकम्प पीडित हुनुहुन्छ । काखमा सात महिनाको नाती च्यापेर बसेकी उहाँ आफ्नो छेउमा नयाँ मान्छे आएपछि राहत पाउने आशामा मख्ख पर्नुहुन्छ । सिन्धुलीमा जेथोको नाममा रहेको एउटा घर पनि भूकम्पले भत्काएपछि उहाँ राहतको खोजी गर्दै जेठ १ गते काठमाडौं आइपुग्नुभयो ।नत उहाँले अहिलेसम्म राहत पाउनुभयो नत कसैले राहत पाउने आश्वासन नै दिए ।
जेठ १ गतेदेखि उहाँको ६ जनाको परिवारको रात यसरी नै पालमा बित्दै आएको छ । पालमा बस्ने पीडितलाई लागाउने र ओड्ने ओछ्याउने लुगाको खाँचो छ । कसैले थोत्रा लुगा बाँड्दा पनि थामी नसक्नुको भीड लाग्ने गरेको उहाँले बताउनुभयो ।
‘थोत्रा लुगा लिन लाइनमा लाग्दा पनि हामी जस्ता बुढीले पाएनौं बाबु’ उहाँले भन्नुभयो, ‘दिए हात थाप्छौं नदिए चुप लाग्छौं ।’ सुमित्रा मात्र हैन बौद्धमा अझैपनि चार सय भन्दा बढी परिवार पालमुनि बस्न बाध्य छन् । सरकारले अहिलेसम्म आफूहरुलाई बेवास्ता गरेकाले पालमुनि बस्नु परेको उनीहरुको गुनासो छ ।
आफू बसेका घर भूकम्पले ढलेपछि उनीहरुको बसाई पालमा सर्यो । बाँच्न त बाचियो अहिलेसम्म आफूहरुलाई सरकारले नहेरेकाले एक वर्षदेखि पालमै बस्नु परेको उनीहरुको गुनासो छ । पालमुनि बस्ने धेरैजसो भूकम्प पीडित निम्न आर्थिक अवस्थाका छन् ।
उनीहरु दिनभर ज्यामी काम गर्ने र राति पालमा आएर बस्ने गर्छन् । पालमा दिउँसो केटाकेटी र वृद्धमात्रै हुन्छन् । साना नानीहरु पनि आफूलाई व्यस्थ बनाउँदै खेलिरहेका हुन्छन् । पालको चौरमा भेटिएका १२ बर्षे धन आलेमगर स्कुल नगएको एक हप्ता भैसकेछ ।
किताब कापी नभएकाले स्कुल जान नपाएको उनको गुनासो थियो । यसरी भविष्यका कर्णदार मानिएका बालबालिका कापी किताबको अभावमा स्कुल जान पाएका छैनन् । ‘सरकारले माघमा एक बोरा चामल दियो, त्यहाँदेख हामीले केही पाएको छैन’ पालमा बस्दै आएकी भूकम्प पीडित सुन्दरीमाया ठकुरीले भन्नुभयो ।
ठकुरीलाई चीन सरकारले दिएको फलामको दुईवटा पलङ पनि चोरी भएछन् । ‘काम गर्न गएका बेला मेरो पलङ चोरी भयो, अहिले भुँइमै सुत्नु परेको छ’ उहाँले भन्नुभयो । पालमा बस्ने भूकम्प पीडितका आफ्नै व्यथा छन् ।
कोही नयाँ मान्छे पालमा छिर्ने बितिकै कतैबाट राहत पो आउन लाग्यो कि भन्दै दौडदै उनीहरु नयाँ मान्छेलाई घेरीहाल्छन् । कतिपयले नाम टिप्ने र अब यस्तो काम गर्नुपर्छ भन्दै उल्टै पीडितसँग पैसा मागेर भाग्ने गरेको पनि उहाँहरुको गुनासो छ ।
पीडित पाल रहेको बौद्धको वरपर आलिसान गगनचुम्बी महल छन् । बिचमा पालमुनिको कष्टकर जीवन जिउन पीडितहरु बाध्य छन् । पालमा बस्दा जाडोमा च्यादरमाथि सुतेजस्तो चिसो र गर्मीमा पनि त्यस्तै गर्मी हुने पालमुनि बसेका भूकम्प पीडितहरु बताउँछन् । पालमा बस्दै आउनुभएको पीडित भरत तामाङले आखिर मान्छे उस्तै हुन्, भनेर दक्षिणतर्फको निलो अग्लो घरलाई देखाउदै भन्नुभयो, ‘त्यती अग्लो घरमा पनि मान्छे नै बसेका छन्, पालमुनि पनि मान्छे नै बसेका छन् किन यस्तो हुन्छ सर ?’ भन्दै प्रश्न गर्नुभयो ।
अहिले तामाङको चार जनाको परिवार पालमुनि बस्दै आएको छ । आफूले ज्यामी काम गरेर भएपनि छोराछोरी पढाएकोमा उहाँ गर्व गर्नुहुन्छ । अर्कोतर्फ भूकम्पमा परेर मर्ने त मरेर गए बाँच्नेलाई झन दुःख भएको उनीहरुको गुनासो छ ।
अहिले बस्दै आएको पालबाट सरकारले उठाउँछ भन्ने उहाँले सुन्नुभएको रहेछ । ‘दुखले सामान जोडियो यो कहाँ लाने, यी बाँसका भाटा के गर्ने, दुईचार पैसा हुन्छ कि भनेर कुखुरा पनि पालियो यो के गर्ने, सरकारले के गर्न खोजेको, भूकम्पबाट त बाँचियो अब कसरी बाँच्ने ?’ उहाँले भन्नुभयो ।
बौद्धमा बस्दै आएका भूकम्प पीडितलाई उठाउने हल्ला चल्न थालेपछि उनीहरु चिन्तित छन् । अब गर्ने उनीहरुसँग उत्तर छैन । सरकारले उठाउने हो कि हैन त्यो पनि थाहा छैन । जहाँ भएपनि व्यवस्थित रुपमा वस्ती बसालेर गरिखान दिन उनीहरुको माग छ ।
सरकारले राहत र बिना धितो ऋण दिए आफूहरुले केही गरेर जीवन गुजार्ने उनीहरुले बताए । चिसो जाडो, गर्मी र बर्षा सबै भोगेर खारिएका भूकम्प पीडित अब यस्तो दुःख भोग्नु नपरोस् भन्दै भगवान भरोसामा जीवन गुजार्दै छन् ।
-उज्यालोअनलाइन




0 comments
प्रतिक्रिया दिनुहोस्...