एक करोड भन्दा बढी कर दस्तावेज चुहावटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीदेखि विश्वका अन्य चर्चित नेता र खेलाडीसमेत सयौंको पोल खोलेको छ । यो संगै विश्व आर्थिक अनियमितता सम्वन्धमा नयाँ बहस शुरु भएको छ । अन्तर्राष्ट्रिय खोजी पत्रकार संघ (आईसीआईजे) मार्फत संसारभरका सञ्चार माध्याममा सार्वजनिक गरिएको दस्तावेजले शक्तिमा रहेकाहरुले कतिसम्म आर्थिक नियमलाई उल्लङ्घन गर्दा रहेछन् स्पष्ट देखिएको छ । नेतादेखि कलाकार र खेलाडीसम्मले अर्वौ डलरको सम्पत्ति लुकाउन गरेको सौदाबाजीलाई पनामा लिक मार्फत पर्दाफास गरेको हो । यी दस्तावेजको जाँचमा सहभागी एक सय भन्दा बढी मिडिया समूहले गरेको इतिहासको सबैभन्दा ठूलो जाँच अभियानलाई मूर्तरुप दिँदै विश्वका हजारौं सम्पत्तिवालाको पोल खोलेका हुन् ।
यस जाँचमा लगभग १४० राजनीतिक हस्तीहरुको सम्पत्तिसंग जोडिएको डरलाग्दो सौदाबाजीलाई उजागर गरेको छ । यो जाँचमा परेका राजनीतिक हस्तीहरुमा १२ जना त वर्तमान राष्ट्र प्रमुख रहेका छन् । यति ठूलो संख्यामा सम्पत्तिमा भएको सौदाबाजीकोबारेको विवरण जर्मन अखवार सुड्से जितुङ्गले एक अज्ञात स्रोतबाट प्राप्त गरेको हो । यस खोजलाई अन्तर्राष्ट्रिय खोजी पत्रकार संघ (आईसीआईजे) मार्फत संसारभरका सञ्चार माध्यममा सार्वजनिक गरिएको हो ।
आईसीआईजेले जनाए अनुसार यस जाँच मार्फत विभिन्न देशमा रहेका २ लाख भन्दा बढी प्रतिष्ठानबाट १ करोड १५ लाख भन्दा बढी दस्तावेज प्राप्त भएका थिए । चुहिएका दस्तावेज पनामाको विधि फर्म मोज्याक फोन्सेकाबाट आएका हुन् । यस फर्मका विश्वका ३५ भन्दा बढी देशमा कार्यालय रहेका छन् । जुन जुन व्यक्तिबारे यस दस्तावेजमार्फत नाम सार्वजनिक भएको छ, त्यसले ती व्यक्तिको राजनीतिक र व्यक्तिगत जीवनमा असर पर्ने देखिएको छ ।
दस्तावेजको सूचिमा विश्वका चचिर्त नेताहरु, खेलाडीहरु, विश्व फुटवल महासंघका पूर्व पदाधिकारीहरुसमेत रहेका छन् । आईसीआईजेले जनाए अनुसार यी दस्तावेजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ्गका परिवारको विदेशी कम्पनीसंग सम्वन्ध रहेको खुलासा भएको छ । सी आफैंले देशभित्र भ्रष्ट्राचार विरुद्ध कडा अभियान चलाईरहेका बेला यी दस्तावेजमा उनका परिवारको नाम मुछिन पुगेको छ ।
पुटिन, सी, नवाज सरिफ, ज्याकी चाङ, लियोनेल मेसी, अभिताभ बच्चन तथा ऐश्वर्या राय जस्ता चर्चित नामलाई हेर्दा यो खुलासा सन् २०१० को विकिलिक्स प्रकरण भन्दा ठूलो हुने अनुमान गरिएको छ । विकिलिक्स प्रकरणमा आफगानिस्तान तथा इराक युद्धमा अमेरिकी सेनासंग जोडिएका २ लाख ५० हजार कूटनीतिक पत्र सार्वजनिक भएका थिए ।
उता मोसाक फोन्सेकाले यस खुलासालाई अपराधको संज्ञा दिएको छ । उसले यसलाई पनामामाथिको एक प्रकरणको हमला भएको पनि बताएको छ । कम्पनीका संस्थापक रेमन फोन्सेकाले केही राष्ट्रहरुलाई मोसाक फोन्सेकाले कम्पनीहरुलाई आकर्षित गर्न टक्कर दिएको मन नपरेपछि यस्तो गरेको प्रतिक्रिया दिएका छन् ।
पछिल्लो प्रकरणले विश्वमा पूजिँवादको नाममा कसरी राज्य संयन्त्रलाईसमेत प्रभावमा पारेर सम्पत्तिको दोहन र अनियमितता गरिन्छ भन्ने पर्दाफास भने निश्चितरुपमा गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...