बडीगार्ड सेक्यरिटी कम्पनीमा २ वर्षदेखि कार्यरत चौलागाईँ मार्च ३० मा मोटरसाइकल दुर्घटनामा परेका हुन् । घाइते बनेका चौलागाईँ अहिले उनी कार्यरत सेक्युरिटी कम्पनीले उपलब्ध गराएको होस्टलमा सुतिरहेका छन् ।
‘छुट्टी सकेर घरबाट आएको एक महिनामै यस्तो दुर्घटनामा परियो’, चौलागाईँले भने, ‘कमाउन आएको झन्डै ज्यान
मोटरसाइकलमा चढेर आवस क्षेत्रमा सुरक्षा दिनुपर्ने उनको काम थियो । कामको सिलसिलामै उनी मार्च ३० मा दुर्घटनामा परे । दुर्घटनामा उनको दाहिने खुट्टामा गहिरो चोट लागेपछि स्टील लगाइएको छ ।
हिँडडुल गर्ने अवस्था छैन । दुर्घटनामा परेपछि उनलाई तत्काल जोहरको सुल्तान अस्पतालमा लगिएपनि एक दिनमै कम्पनीले होस्टलमा फर्काएको थियो ।
‘मैले राम्रो उपचार पनि पाइँन’, चौलगाईँले भने, ‘खुट्टाको अप्रेशनपछि होस्टलमै ल्याइयो ।’ उनका साथीका अनुसार चौलगाईँलाई दिसापिसाव गराउन पनि चारजना साथी चाहिने गरेको छ ।
मलेसियामा राम्रोसँग उपचार नपाएपछि उनी नेपाल फर्कन चाहन्छन् । तर कम्पनीले करिब एक लाख ७५ हजार नेपाली रुपैयाँ जम्मा गरेमात्र नेपाल पठाउन सकिने बताएको छ । उनको घाउ निको हुनुको सट्टा झन बढेर जान थालेको छ । चौलगाईँले मलेसियामै मर्न लागकाले जीवन बचाइदिन आग्रह गरेका छन् ।
करिब दुई लाख नेपाली रुपैयाँ म्यानपावरलाई बुझाएर आएका उनलाई नेपाल फर्कन कम्पनीले त्यति नैै रकम मागेको छ । ‘यत्रो रकम मैले कहाँबाट जुटाउनु’, उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘लौ न मलाई बचाइदिनुस्, मलेसियामै मर्न लागेँ म ।’
अस्पतालमा समेत राम्रो उपचार हुन नपाइ कम्पनीले कोठामा ल्याएको उनले गुनासो गरे । सबै साथी काममा जाने भएकाले उनको उचित स्याहार नभएको उनीसँगै कार्यरत साथीहरु बताउँछन् । नेपाल पठाउन सकिए उनको स्वास्थ्यमा सुधार आउनसक्ने उनका साथीहरु बताउँछन् ।
६ हजार रिंगेट तिरेर नेपाल फर्कन नसक्ने बताएका चौलगाईँले यो अवस्थामा सहयोग गरिदिन सरोकारवालासँग आग्रह गरेका छन् ।
कार्यरत अवस्थामा दुर्घटनामा पर्दा बिमा पाउनु पर्ने नियम भएपनि उनी कार्यरत कम्पनीले उल्टै उनको सवारी चालक अनुमतिपत्र नभएकाले बिमा रकम दाबी गर्न नसकिने जनाएको छ ।
बिमा रकमसमेत नपाउने भएपछि नेपाल फर्किने चिन्ताले उनलाई पिरोलेको छ । ‘नेपाली दूतावाससँग आश राखेको छु, सहयोग गर्ला कि?’, उनले ओछ्यानबाटै झिनो आशा व्यक्त गर्दै भने, ‘मलाई यहाँबाट घर पठाइदिनुस, उतै गएर ज्यान बचाउँछु ।’



0 comments
प्रतिक्रिया दिनुहोस्...