काठमाडौं: अस्ट्रेलियाको सिड्नीमा कारको ठक्करबाट एक १६ महिनाका बालकको ज्यान गएको छ ।
सिकारू व्यक्तिले चलाएको कारको ठक्करबाट बिहीबार विहान साढे ९ बजे नेपाली बस्ती नजिकै सिड्नीको अवर्नमा फुटपाथमा हजुरआमासँग हिँडिरहेका १६ महिनाका नेपाली बालक श्रेयन थापाको ज्यान गएको अस्ट्रेलियास्थित सञ्चारमाध्यमले जनाएका छन् ।
हजुरआमा मेनुकासँग फुटपाथमा हिँडिरहेका ती बालकलाई सिकारू चालकले हाँकिरहेको कारले ठक्कर दिएको हो ।
श्रेयनलाई कारले ठक्कर दिँदा उनका बाबु सुजन र आमा रोजिता घटनास्थलबाट नजिकैको दुरीमा थिए । ५० वर्षीय सिकारु चालकले चलाएको कारले नेपाली बालकको ज्यान गएपछि प्रहरीले त्यसबारेमा आवश्यक अनुसन्धान अघि बढाएको छ ।
नाबालक छोराको ज्यान गएपछि थापा परिवार शोकमा डुबेका छन् । श्रेयनका बुवाले परीक्षाको तयारी गर्दैगर्दा बालक हजुरआमासँग घुम्न निस्केको बेला यो घटना भएको हो ।घटनापछि तत्कालै प्रहरी र चिकित्सकले बालकलाई बचाउन प्राथमिक उपचार गरेका थिए ।
स्थानीय अस्पतालकी नर्स मोरियम जेरिकाले दिएको जानकारी अनुसार घटना भएपछि चिकित्सक र उनी पनि घटनास्थलमा पुगेका थिए ।
'घटना थाहा पाउनेबित्तिकै हामी दौडँदै घटनास्थलमा पुग्यौं,' उनले भनिन्, 'बालकलाई तत्कालै चेकजाँच गरेँ । धड्कन छाम्दा बन्द थियो । श्वास दिएर बचाउने कोशिस गरेँ तर सफल हुन सकिनँ ।'



0 comments
प्रतिक्रिया दिनुहोस्...