जेठ ७
नेपालको महिला सगरमाथा आरोही लाक्पा शेर्पाले सातौं पटक सगरमाथाको सफल आरोहण गर्दै यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ विश्व कीर्तिमान राखेकि छिन् ।
यसअघि शेर्पाकै नाममा छ पटक सगरमाथा चढने पहिलो महिलाको कीर्तिमान राखेको उनले शुक्रबार बिहान ५ बजे सगरमाथामा आफ्नो पाइला टेकेर सगरमाथाको सफल आरोहण गर्दै नयाँ रेकर्ड बनाएकी छिन् ।
सन् २०१४ मा हिमपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि दुई वर्ष स्थगित भएर यस वर्षबाट खुलेको सगरमाथा आरोहणका लागि स्वदेशी तथा विदेशी आरोहीको लर्को लागेको छ । अहिले सगरमाथामा जाम छ । हिजो बिहिबार मात्रै १५० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आरोहीको भीडले कुन देशका कति आरोही चुचुरोमा पुगे भन्ने यकिन विवरण आइसकेको छैन । अझै धेरै सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने क्रममा रहेको श्रेष्ठले बताउनुभयो ।
वसन्त ऋतुको यो मौसममा गत वैशाख २९ गते बुधबारदेखि आरोहण सुरु भएको थियो । सगरमाथा आरोहणको छ दिन अर्थात् जेठ ३ गतेसम्म ८८ जना स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।
पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणका लागि गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन् ।नेपालजापान डट कमबाट



0 comments
प्रतिक्रिया दिनुहोस्...