काठमाडौं, १२ जेठ । नेकपा माओवादी केन्द्रका हेडक्वाटर सदस्य देब गुरुङ्गले छिनछिनमा सरकार परिवर्तन गर्दा मुलुक अस्थिरतातर्फ धकेलिने भन्दै अहिले यही सरकारलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने- ‘सरकार परिवर्तन राष्ट्रिय सहमति भयो भने मात्रै हुने हो । अहिलेको स्थिति हेर्दा सरकार परिवर्तनको सम्भावना छैन । कांग्रेस संसदीय अभ्यासमा रहेकोले सहमतिको सरकार बन्न सक्ने अवस्था छैन । त्यसैले अहिले सरकार परिवर्तनको मुद्दा सान्दर्भिक छैन ।’
उनले अहिले माओवादी केन्द्रभित्र सरकार परिवर्तनको विषयमा कुनै छलफल समेत नभएको स्पष्ट पारे । गुरुङ्गले मुलुकको समस्या समाधान गरेर अगाडि बढाउन राष्ट्रिय सहमतिको आवश्यकता भए पनि स्थायी प्रतिपक्षको ब्यवस्थाले त्यस्तो अवस्था नरहेको स्पष्ट पार्दै यसले मुलुकलाई घाटा पार्ने आशंका ब्यक्त गरे ।
उनले मधेसीसहित आदीबासी जनजातिको माग आधारभुत रुपमा ठिकै भएकोले त्यसलाई संबोधन गर्नुपर्ने भन्दै राज्य पक्षले सहमतिको लागि लचकता अपनाउनुपर्ने धारणा राखे ।गुरुङले भने- ‘आन्दोलनरत र अरु दलको पोजिशन हेर्दा सहमतिको सम्भावना देखिन्छ । त्यसैले अहिले सहमतिको लागि सबैले पहल गर्नुपर्छ ।’



0 comments
प्रतिक्रिया दिनुहोस्...