-->
चीनबाट सामान सहित काठमाडौंको लागि छुटेको रेल सिगात्से आइपुग्यो
Advertisement

काठमाडौं, ५ जेठ - चीनबाट नेपालका लागि छुटेको रेल सिगात्से आइपुगेको छ।
रेलमा पठाइएको सामान लिन नेपाली ट्रक त्यहाँ पुगेका छन्। गएको बुधबार सामान बोकेर नेपालका लागि छुटेको लानझाउ-काठमाडौं लेखिएको ७०११ नम्बरको रेलमा पठाइएको सामान लिन नेपाली ट्रक तिब्बतको सिगात्से पुगेको चिनियाँ समाचार संस्था पिपुल्स डेलीले जनाएको छ।
डेलीले चिनियाँ लरीबाट नेपाली ट्रकमा सामान लोडिङ गरिएको तस्बिर पनि सार्वजनिक गरेको छ। सिगात्सेसम्म मात्र रेलमार्ग भएकाले अब त्यहाँदेखि सडकमार्ग हुँदै ति सामान बोकेका ट्रक केरुङ हुँदै काठमाडौं आउनेछन्। लान्झाउदेखि सिगात्सेसम्मको २ हजार ४ सय ३१ किलोमिटर पार गरेर रेल सिगात्से आइपुगेको हो।
त्यहाँबाट केरुङ नाकासम्म ट्रक आइपुग्न ५ सय ६४ किलोमिटर दूरी पार गर्नुपर्छ। त्यहाँबाट काठमाडौं आइपुग्न १ सय ६० किलोमिटर पार गर्नुपर्ने हुन्छ। रेलवे कन्टेनर कर्पोरेसनका उपप्रबन्धकका अनुसार ४३ वटा घरायसी सामान र ८६ कार्गो कन्टेनर केरुङ नाका आइपुगेका हुन्। चिनियाँ सञ्चार माध्यमका अनुसार यो रुटबाट सामान काठमाडौं पुग्न समुद्री रुटभन्दा ३५ दिन कम लाग्छ।
यसअघि नियमित रुपमा चल्ने रेलका डिब्बा बुक गरेर सामान ल्याउनुपर्ने हुन्थ्यो । जसका कारण सामान कहिले आइपुग्छ भन्ने यकिन हुँदैनथ्यो। तर अब नेपालतर्फ आउने सामान बोक्ने डिब्बा निश्चित भएको छ। यसले सामान छिटो, भरपर्दो र सुरक्षित तरिकाले आयात गर्न सकिनेछ।
जहाजबाट भन्दा रेलमार्ग छिटो र ढुवानी लागत पनि कम लाग्ने भएकाले यसले दुई देशबीच व्यापार गर्न सहज हुने बताइएको छ। गएको महिना प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच भएको पारवाहन सम्झौता अनुसार रेल सेवा सुरु भएको हो। रेल सेवाले चीनका विभिन्न प्रान्तको दक्षिण एशियाका मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने विश्वास चीनले लिएको छ।
डिसीनेपालबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.