-->
बुद्धले देखाएको बाटो
Advertisement

जबजब देशमा अन्योल र संकटका भुमरीहरू आउँछन्, तब रेडियो र टेलिभिजनमा एउटा संगीत बग्छ । दैवीय अस्तित्वलाई पुकारिन्छ र त्यो गीतले भन्छ, ‘फेरि एउटा बुद्ध पठाइदेऊ यो धर्तीमा, यो देशमा ।' यो गीतको बोल, लयमा एउटा गहिरो पीडाबोध हुन्छ, अनि एउटा आशा र भरोसाको सञ्चार छिपेको हुन्छ । तत्कालीन अन्योल, पीडा र भुमरी साम्य भएपछि गीत बज्न छोड्छ । गीत र यसको धुनले कतिको मनलाई छुन्छ र त्यो कति दिगो हुन्छ यसै भन्न सकिन्न ।

यति भन्न सकिन्छ कि यसले शासक र प्रशासकलाई छुँदैन । किनकि उनीहरूमा अन्तरमनको गहिराइबाट यो भाषा बुझ्ने हृदय नै हुँदैन । नत्र भने किन बारम्बार बुद्धलाई पुकार्नुपर्छ ? शान्ति र अहिंसाबिना समृद्धि सम्भव छैन भन्ने बुद्धको सन्देश बुझ्ने कोमल हृदय नहुँदा जडता र स्थूलताले भरिएका भौतिकवादी दर्शन र वादमा डुब्ने अनि स्वार्थका लागि बुद्धलाई मान्ने तर बुद्ध भूमिबारे गफमात्र हाँक्नेहरूले बुद्धको दया, प्रेम, परोपकार र करुणाका भाषा र व्यवहार कसरी बुझ्न सक्छन् ? आपत् र संकटमा मात्र बुद्ध पुकार्ने नियतिले तबसम्म छोड्दैन जबसम्म बुद्ध, बुद्धत्व र बुद्धका धर्म दर्शन तथा साधनहरूबारे बुझ्न, मनन गर्न र अभ्यास गर्न सकिन्न ।

आज २५६०औं बुद्धजयन्ती, संसारले बुद्धलाई सम्झने, बुद्धत्वबारे बुझ्ने, सचेत र होशपूर्ण जीवन जिउन स्मरणलाई ताजा बनाउने दिन । बुद्ध कुनै कल्पना होइन, न त कुनै किंवदन्ती र कर्मकाण्डको रूप तथा छाया हो । बुद्ध एउटा व्यक्ति हुन् तर फरक व्यक्ति । बोध, होश, चेत र प्रज्ञा जागेको व्यक्ति । मानवबाट भगवान्मा रूपान्तरण भएका पुरुष हुन् बुद्ध, एउटा अनन्त जन्महरूका प्रक्रियाबाट ।

बुद्ध हाम्रा गौरव हुन् । किनकि बुद्ध पुरुष पैदा हुनु एउटा दुर्लभ घटना हो । कुन काल–युग, परिस्थिति र स्थानमा बुद्ध पुरुष पैदा हुन्छन् भन्ने कुराको आफ्नै नियम र विधान छ । यो पनि एउटा शाश्वत नियमअन्तर्गतको विधायक विषय हो । यो देशको गौरव हुन्— बुद्ध, पशुपतिनाथ, सीता र सगरमाथा । हुन त यो धर्तीको समग्र प्रकृति नै गौरवको विषय छ । हिमाल, पहाड र तराईको भूगोल नै गौरवको विषय छ । तर यसलाई बुझ्ने मन, देख्ने आँखा र सुन्न कान हुनुपथ्र्यो । हीरामा पनि कीरा लाग्दा त्यसको मूल्य हराउँछ भन्छन् । 

सिरानीमा सुन राखेर नुन खोज्न भौंतारिँदा अलपत्र त पर्ने नै भयो देश । प्रकृतिको वरदान, तर मान्छेको अभिशापबाट पीडित बन्दै जाँदा गौरव र धरोहरका मूल्यमान्यता र महत्त्व पनि बुझ्न नसकिने र त्यसबाट लाभान्वित हुन नसकिने अवस्थाहरू हुँदा रहेछन् । त्यही रोग लागेको छ देशलाई । तथापि निराशाबाट आशातर्फ अघि बढ्न, भरोसा र विश्वास जगाउन महापुरुष तथा युग धरोहरहरूलाई स्मरण गर्दा पनि मानव कल्याणका लागि सानो भए पनि भूमि तयार हुनेछ । बुद्ध जयन्तीलाई आशाको किरण, विवेक, करुणा र सद्भावको बीउका रूपमा ग्रहण गरौं । यसैबाट कल्याणको मार्ग खुल्नेछ ।

बुद्ध पृथ्वीमा पैदा हुनु विशिष्ट घटना हो । यो मानव कल्याणका लागि धर्मचक्रको प्रवर्तन गर्ने प्रक्रिया सुरु हुने घटना हो । विस्मृत धर्म र शाश्वत सत्य पुनः स्मृतितर्फ आउने घटना हो । मन–मानसमा बोध र चेतना जगाउने घटना हो बुद्ध पुरुषको आगमनको घटना । आजभन्दा २५६० वर्षपहिला अंकुर भएका बुद्ध पनि लामो समयको अन्तरालमा पुनः अंकुर हुन सकेका छैनन् । यो अन्तरालमा धेरै बोधीसत्व र अरहन्तहरूले जन्म लिए पनि सम्यक् सम्बुद्धको जन्म हुन सकेको छैन । अज्ञात छ यो कुरा कि पुनः सम्यक् सम्बुद्धको जन्मका लागि कति लामो समय कुर्नुपर्ला ! यो त समग्र अस्तित्वको समझको विषय छ ।

एउटा बुद्ध पुरुषको जन्मका लागि अनन्त पारमिताहरू पूरा गर्नुपर्ने र त्यसका लागि पर्याप्त समय र जन्महरूको आवश्यकता पर्छ । धेरै प्रकारका सतगुण र सत्य धर्महरूको संग्रह हुनुपर्छ । एउटा व्यक्तिमा यस्ता गुण, लक्षण, अनुव्यञ्जन र धर्म पैदा हुन धेरै समय लाग्छ । ईष्र्यालु प्रकृतिको परीक्षा र पीडाबाट सफल हुँदै, विभिन्न जन्म ग्रहण गर्दै आउनु चानचुने कुरा छैन । त्यसैले बुद्ध पुरुषको जन्मलाई दुर्लभ भनिएको हो । यस्तो दिव्य पुरुषको जन्म हाम्रो देशको भूमिमा हुनु कुनै संयोगको मात्र कुरा नभई एउटा विधानअन्तर्गत नै भएको महान् घटना हो । त्यसैले हामीले बुद्धप्रति सम्मानमात्र होइन, सत्य र धर्मको इमानमा पनि बस्न सक्नुपर्छ । त्यो नै बुद्धजयन्तीका अवसरमा समर्पण हुने सबैभन्दा मूल्यवान् तत्त्व र महत्त्वको विषय हो ।

संसार एउटा नियमअन्तर्गत चलेको छ । संसार चल्ने नियममा सानोभन्दा सानो त्रुटि पनि हुन सक्तैन । किनकि शाश्वत नियमले भूल गर्नै सक्तैन । प्रकृतिले यदाकदा भूल गर्नसक्छ तर त्यसलाई पनि उत्पन्न गर्ने परम चेतनाले भूल गर्न सक्तैन । एउटा सम्यक् सम्बुद्धको जन्म पनि शाश्वत नियमअन्तर्गत हुने हुँदा जन्मजन्मको पुण्यको संग्रह र साधनाको संस्कारबाट निर्मित प्रज्ञाको संग्रहबाट मात्र दिव्य सत्यको रूपमा बुद्ध पुरुषको प्रस्फुटन हुन्छ । सिद्धार्थ गौतम यही सिद्धान्त र अस्तित्वको कसीमा घोटिँदै सम्यक् सम्बुद्ध बन्नुभएको हो ।

शाश्वत विषय र नियमहरू सूक्ष्म छन् । तिनलाई बुझ्न र जान्न सूक्ष्म ज्ञानै चाहिन्छ । त्यसैले शान्तिको महत्त्व छ, मौनताको महत्त्व छ र सात्विकताको महत्त्व छ । परिवर्तनशील र अनित्य वस्तुहरू प्रकृतिका रूपमा छन्, दृश्यवान् छन् र स्थूल छन् । सूक्ष्मता र कारण जगत्को विकासको रूपमा बाहिरी प्रकृति छ । संसार चलाउन अस्तित्वलाई यो आवश्यक छ । मूल केन्द्र त सूक्ष्म र कारण जगत्को रूपमा ऊर्जा र चेतना तत्त्व नै छ । त्यो द्रष्टा र साक्षीका रूपमा छ । एउटा मानिसमा परा र अपरा दुवै प्रकृतिका अंश र गुण विद्यमान छन् । बुद्ध पनि मानिसै थिए । 

अरू मानिससरह उनको पनि देह, इन्द्रिय र मन थियो । तर स्थूल अंशभन्दा सूक्ष्म चेतना तथा प्रज्ञाको अंश बढ्दै जाँदा एउटा देहधारी मानव भगवान् बन्न पुग्छ भन्ने कुरा बुद्धको शुद्ध बुद्ध स्वरूपबाट प्रस्ट हुन्छ । प्रज्ञाको उच्चतम अवस्थामा नै एउटा व्यक्ति सामान्य व्यक्तिबाट महापुरुष बन्छ, बुद्ध बन्छ । अध्यात्मका गुरु ओशोले भनेका छन्— तिमी पनि बुद्ध हौ तर बेहोश बुद्ध । मानव जन्म नै यति परम र उच्च छ कि हरेक व्यक्तिमा बुद्ध बन्नसक्ने सम्भावना छ, विज्ञ छ । तर त्यो बिजले भूमि पाउन भने कठिन छ । 

अक्सर भूमि नपाएर यी मावन देहहरू अनन्त जन्मसम्म सुक्दै फुट्दै र टुट्दै जान्छन् । समुद्रबाट बिछोड भएको पानीको थोपालाई पुनः आफ्नो स्रोत अर्थात् त्यो समुद्रसम्म पुग्न समय लागेझैं हो । यो क्रम त्यसैले सामान्यतया मानिसका जीवनहरू बेहोसीमा नै बित्छन् । के गर्ने र कहाँ जाने थाहा नै हुँदैन । स्थूलतामा नै जीवन बित्छ । खुसी खोज्छ मान्छे, आनन्द खोज्छ ।

तर त्यो क्षणिक छ र भ्रमपूर्ण छ । वास्तविक आनन्द स्रोतमा फर्कने प्रक्रियाको अन्त्यतर्फ आइपुग्दा मात्र प्राप्त हुन्छ । एउटा बुद्ध पुरुषको अटुट खोजी त्यही हुन्छ । अक्सर मानिस कामना र वासनाका दास हुन्छन् । भोग र संग्रह बुद्धिलाई नै महान् कुरा सम्झन्छन् । इच्छा, चाहना र संकल्पमा बाँच्छन् । तृष्णामा बाँच्छन् । बुद्धले यसैलाई पृथ्वीमा पुनःपुनः आउनुपर्ने कारण मान्नुभएको छ, द्वार यसैलाई मान्नुभएको छ । उहाँले निर्वाणको अवस्था प्राप्त गरेपछि शाश्वत रूपमा अनुभव गर्नुभएको सत्य हो । यसबारे निर्वाणको अति मौन अवस्थाबाट बोलीको अवस्थामा आउनासाथ बुद्धले भन्नुभएको छ, ‘मैले कति जन्म लिएछु, त्यसको हिसाब नै छैन । जन्म लिँदै र पुनः मृत्युतर्फ दौड लगाउने क्रम जारी रह्यो । 

यो कायारूपी शरीरको घर बनाउने कारण तत्त्वलाई खोज्दाखोज्दा मेरा धेरै जन्म बितेछन् र म बारम्बार दुःखमा नै पर्दै गएको रहेछु । यो जन्ममा मैले साधनाबाट दुःखरूपी शरीर बनाउने कारक तत्त्वलाई देखेँ र यो रहेछ— तृष्णा । अब मेरो चित्त पूर्वसंस्कारबाट विहीन भएको छ । मेरो तृष्णाको बिज समाप्त भयो । अब पुनः मेरो जन्म हुनेछैन । म विमुक्त भएँ ।' यसबाट के स्पष्ट हुन्छ भने बुद्ध पुरुष हुनु भनेको तृष्णा, कामना र वासनाबाट सदाका लागि विमुक्त हुनु हो । यही नै जीवनको पूर्ण स्वतन्त्रता र सबैभन्दा ठूलो ध्येय पनि हो । यो अवस्थामा जगत् र प्राणीप्रति प्रेम, दया र करुणाबाहेक केही हुन्न । त्यसैले बुद्धलाई शान्ति र अहिंसाको प्रतीक भनिएको हो ।

बुद्धले प्राप्त गर्नुभएको निर्वाणको अवस्था पूर्ण मौन निश्चल, निरवता र प्रशान्तिको अवस्था हो । ऊर्जाको निर्मल र निष्कलंक उद्र्धगमन हुँदै चेतना तथा प्रज्ञाको सम्पूर्ण प्रस्फुटन नै बुद्धको निर्वाण अवस्थामा हो । यहाँ प्रज्ञा शब्द बहुतै महत्त्वपूर्ण छ किनकि सबै सिर्जना र आविष्कार प्रज्ञा प्रस्फुटनबाट नै सम्भव छ । विज्ञान र अध्यात्मबीच त्यसैले सामीप्यता छ, सम्बन्ध छ । विज्ञान पनि सूक्ष्म रूपमा अध्यात्मकको अंश हो । विज्ञान घटाकाश हो भने अध्यात्म अनन्त चिदाकाश हो ।

हामी बुद्धको देश नेपाल भनेर गौरवान्वित हुन्छौं । यो ठीक हो र हुनु पनि पर्छ । तर, बुद्धलाई कसरी बुझेका छौं, कति बुझेका छौं ? यो महत्त्वपूर्ण छ । ठूल्ठूला स्तूपा बनाएर र बुद्धका मुर्ति राख्दैमा बुद्धबारे बुझ्न सकिन्न । यसका लागि अन्तरयात्रा नै आवश्यक छ । बुद्धले देखाउनुभएको आठ अंगको सम्यक् मार्ग र शील, समाधि र प्रज्ञाको त्रिरत्नयुक्त साधना मार्ग अवलम्बन गरेरमात्र बुद्धलाई बुझ्न र जान्न सकिन्छ । सबैमा सद्गुण र सत्चरित्र आउने माध्यम हो यो । इतिहासका र शब्दका कुराभन्दा बुद्धले देखाउनुभएको मार्गमा हिँड्ने कुरा महत्त्वपूर्ण छ । 

मांस–मदिराको अत्यधिक सेवन, व्यभिचारी चरित्र र भ्रष्टाचार, स्वार्थ र तृष्णाका महलहरू खडा गरेर बुद्धलाई मान्न, जान्न र अनुसरण गर्न सकिन्न । शुद्ध र सत्यबाटै बुद्ध भएको हो । अहिलेका राजनीतिक नेतागण र राष्ट्रका जिम्मेवार व्यक्तिहरूले सामान्य रूपमा भए पनि बुद्धको शिक्षा र साधनबारे जान्नु जरुरी छ । अनिमात्र अन्तर्राष्ट्रियस्तरमा बुद्धजयन्ती मनाएको सार्थकता हुनेछ, परिणाममुखी हुनेछ । सबैको मंगल होस्, सबैको कल्याण होस् । अन्न्पूर्णपोस्टबाट 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.