काठमाडौं, जेठ १२ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला सम्पूर्ण हिमालको आरोहण सकिएको छ ।आरोहणको अन्तिम दिन बुधबारसम्म ४०० भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको यो मौसममा १०० जनाले सफल आरोहण गरेका छन् ।विश्वका १० अग्ला हिमालमध्ये नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठओटा हिमाल रहेका छन् ।वसन्त ऋतुको यस मौसममा गत वैशाख २९ गतेदेखि आरोहण सुरु भएको थियो ।पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्यांकअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका थिए ।तीमध्ये सगरमाथा आरोहणका लागिमात्र ३४, अन्नपूर्णमा तीन, मनास्लुमा ११, मकालुमा पाँचओटा टोली आरोहणका लागि गएका थिए ।विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले सगरमाथासहितका हिमाल आरोहणका लागि गएका सबै टोली बुधबारबाट फर्कनेक्रममा रहेको राससलाई जानकारी दिए ।‘वसन्त ऋतुमा सगरमाथामामात्रै ४०० बढीले आरोहण गरेका छन्, कुन देशका कति आरोहीले चढे भन्ने यकिन विवरण आउन अझै एक साता लाग्छ’–उनले भने ।
आठ हजार मिटरमाथिका हिमाल आरोहण सकिएको र केही होचा हिमालको विवरण आइनसकेको विभागले जनाएको छ ।
विभागको पर्वतारोहण शाखाका ज्ञानेन्द्रकुमार श्रेष्ठले यो मौसमका लागि बुधबारबाट सगरमाथासहितका हिमालको आरोहण सकिएको बताए ।
६ आरोहीको मृत्यु वसन्त ऋतुको यो मौसममा सगरमाथा आरोहण गर्नेक्रममा एक नेपालीसहित ६ जना आरोहीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक शेर्पा गाइड, तीन भारतीय, एक अस्ट्रेलियन र एक नेदरल्यान्डका आरोही छन् । रासस



0 comments
प्रतिक्रिया दिनुहोस्...