-->
अम्बर अझै गाउन चाहन्छन्, अझै बोल्न चाहन्छन्
Advertisement

जेठ १४
झण्डै दुई वर्षअघि अम्बर गुरुङलाई पहिलोचोटी भेटेको थिएँ । उनीसँग राष्ट्रिय गानमा संगीत भर्दाका अनुभूतिबारे कुराकानी भएको थियो । बुढानिलकण्ठस्थित घरमा बसेर कुरा गर्दा उनको बोली स्पष्ट नै थियो । तर पनि पार्किन्सनको समस्याले दुःख दिइ नै रहेको थियो । उनले त्यो दुःख अभिव्यक्त गरेका थिए ।
उनीसँग मैले गरेको औपचारिक कुराकानी मैले त्यसबेला काम गरिरहको नयाँ पत्रिका दैनिकमा छापियो ।
तर निकैबेरा हामीले अनौपचारिक कुराकानी पनि गर्यौं । विशेष गरी राष्ट्रिय गानमा संगीत भर्नुअघि गरेको अध्ययन र त्यसबेला गरेको दुःखका प्रसंगबारे । त्यस्तै देश र नेपाली संगीतबारे चिन्ता उनले उठाएको अर्को प्रसंग थियो । त्यसै सिलसिलामा गायिका झुमा लिम्बूको कुरा उठेको थियो । जसले पछिल्लो एक दशक अम्बर गुरुङसँग संगीत सिकेकी थिइन् । त्यसपछि अम्बरकै रचना र संगीतको एल्बम अम्बर संगीतमा आफ्नो स्वर भरेकी थिइन् । अहिले नेपालको मौलिक संगीतबारे गम्भीर अनुसन्धानमा खटिरहेकी उनीको मिहिनेतप्रति अम्बर खुशी थिए । उनले भने, ‘एकचोटी झुमासँगै आउनु नि ।’
कुरा गर्दागर्दै अम्बरले भने, ‘मैले तपाईंको समय धेरै लिइदिएँ क्यार । तर तपाईंसँग कुरा गर्दा आनन्द आयो । सबैसँग यसरी कुरा गर्न जाँगर पनि चल्दैन ।’
उनले यसो भन्दा म आनन्दविभोर भएको थिएँ ।
म अर्कोपटक झुमासँगै आउने वाचा गरेर फर्केको थिएँ ।
०००
मैले काम गर्ने सञ्चारमाध्यम बदलियो । त्यसैगरी व्यस्तताको प्रकृति बदलियो । त्यसैबीच भूकम्प आयो । पुराना योजना, सम्पर्क र सोच पनि टुटे । तथापि मैले फर्कनेबित्तिकै झुमालाई अम्बर गुरुङले भनेको कुरा सुनाएको थिएँ । भनेको थिएँ, ‘तपाईंसँगै अम्बर सरसँग बसेर कुराकानी गर्ने योजना मिलाउनुस् है ।’
तर त्यो समय मिल्न सकेन । पछिल्लो समय गुरुङको स्वास्थ्य बिग्रिँदै गयो । मेदान्त अस्पतालमा लामो समय उपचार गराएर आएपछि उहाँ अलि–अलि बोल्न त सक्नुहुन्छ । तर पनि केही बेर कुराकानी गर्न पनि उहाँलाई गाह्रो हुन्छ । अझ बेला–बेला स्वास्थ्य बिग्रिरहन्छ । त्यसैले धेरै जोडबल गर्न पनि सकिएन ।
सोमबार झुमाको म्यासेज आयो, ‘पर्सि एक बजे अम्बर सरकोमा जाउँ है ।’
मैले सहर्ष स्वीकार गरेँ । सरको स्वास्थ्य सुध्रिएर कुराकानीको समय मिलाउनु भएको होला भन्ने सम्झिएँ । तस्बिरकार बिजु महर्जनलाई पनि खबर गरेँ ।
दुवैजना बुधबार बुढानिलकण्ठको मूल सडकमा एक बजे पुग्यौं । उहाँ बस्ने कोलोनीतिर प्रवेश गर्ने शाखा बाटोमा प्रहरी तैनाथ थिए । तलतिर अझै प्रहरी उपस्थिति बाक्लो थियो । गेटमा त सुरक्षा व्यवस्था निकै कडा पारिएको रहेछ ।
शंका लाग्यो, कुनै कार्यक्रम पो छ कि ?
एकजनालाई सोधें, ‘केही कार्यक्रम हुँदैछ ?’
‘हो, अम्बर गुरुङलाई सम्मान गर्ने कार्यक्रम हुँदैछ ।’
ए, बल्ल कुरोको चुरो थाहा भयो । अम्बर सरसँग भेट्ने समय मिलाएको होला भनेको कार्यक्रम पो रहेछ । झुमाले किन सबै कुरा स्पष्ट नभनेको होला भनेर हल्का झोंक पनि चल्यो । तर अम्बर गुरुङलाई सम्मान गर्ने कार्यक्रममा पुग्नु पनि त महत्वपूर्ण नै थियो ।
कोलोनीकै हलमा कार्यक्रम रहेछ । हलबाहिर पुग्दा झुमा हाँस्दै आइन् । उनको हाँसोले अघिको झोंकको पारो निकै तल झर्यो, तैपनि सोधें, ‘कार्यक्रममा पो रहेछ । कस्तो नभनेको त ?’
‘मैले पनि यहीँ आएरमात्रै थाहा पाएको । केही पत्रकार र उहाँका विद्यार्थीलाई बोलाउन भनेर कवि तीर्थ श्रेष्ठले भन्नुभएको थियो ।’, उनले हाँस्दै भनिन् । ठिकै छ भन्ने लाग्यो । नलागे पनि गर्नु त केही थिएन ।
०००
अम्बर गुरुङ आइपुग्नुभएको थिएन । हलबाहिर कौसीमा बसेर झुमासँग कुराकानी गरिरहेका थियौं । सुरक्षाकर्मीले कि हलभित्रै बस्नुपर्ने कि बाहिर निस्कनुपर्ने विकल्प फर्माए । उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथिको रूपमा ‘सवारी’ हुँदै गरेको कारण सुरक्षा त्यस्तो कडा गरिएको रहेछ ।
नन्दबहादुर पुन पहिलो नन्दकिशोर पुन ‘पासाङ’ हुँदाको सम्झनामा केही प्रसंगको चर्चा गर्दै हामी हलभित्र पस्यौं ।
केही बेरपछि परिवारका सदस्यहरूले अम्बर गुरुङलाई लिएर आए । उहाँका आँखामा चाल कम थिए । अनुहार टठिलो थियो, तर भावका रेखाहरू असाध्यै धमिलो । थिरिन कठिन परेको थियो, त्यसैले कुर्सीमै राखेर मञ्चमा लगियो । पत्नी बिना गुरुङ, छोरी अल्का गुरुङ र सहयोगी रतन चन्दले उनलाई मञ्चमा बस्न सहयोग गरे ।
०००
उपराष्ट्रपति आइपुगेपछि राष्ट्रिय गानसँगै कार्यक्रम सुरु भयो । अम्बर गुरुङ पनि सहयोगीको सहयोगमा उठे । आफूले भरेको धूनमा राष्ट्रिय गान बजिरहँदा पनि उनका अनुहारमा धेरै भावका रेखा फैलिन सकेनन् । आँखामा भने केही चाल देखियो ।
राष्ट्रिय गान सकिएपछि बस्दा उनको ओठका काप रसाइरहेको थियो । उनले रुमालले मुख पुछे । आयोजक श्री भैरव सांस्कृतिक संरक्षण समिति, पोखराको बाद्यप्रस्तुति ‘देव आह्वान’लगत्तै स्वागत भाषण गर्न मञ्च पुगेका कवि तथा पुरस्कारका लागि प्रतिभा चयन समितिका संयोजक तीर्थ श्रेष्ठले गुरुङलाई सम्मान गर्न पाउँदाको खुशी व्यक्त गरे ।
उनले पहिले पोखरा सम्झिए, त्यहाँको जातीय विविधता र सांस्कृतिक विविधताबारे चर्चा गरे । ०२९ सालमा गठन गरिएको भैरव सांस्कृतिक संरक्षण समिति र त्यसकै पूर्व अध्यक्ष तथा शास्त्रीय संगीतका गुरु सर्वज्ञमान प्रधानांगले स्थापना गरेको पुरस्कारबारे खुलस्त पारे । अम्बर गुरुङको व्यक्तित्वमाथि बोले । त्यसपछि पोखराबाट टि–सर्ट लगाएर हेर्न सकिने ८ हजार मिटरभन्दा अग्ला हिमाल सम्झिँदै भने, ‘सांस्कृतिक इन्द्रधनुष भएको पोखराबाट आठ हजार मिटरभन्दा अग्ला तीन हिमाल आँखैअघिझैं हेर्न सकिन्छ, धौलागिरि, अन्नपूर्ण प्रथम र मनास्लु । त्यस्तो सहरबाट आएर ती सबैभन्दा अग्ला हिमाल अम्बर गुरुङलाई सम्मानित गर्न पाउँदा अर्कै गौरव र आनन्द महसुस भएको छ ।’
उनले काव्यिक भाषामा अम्बर गुरुङलाई गरेको सम्मानमा सबैले ताली बजाएर ऐक्यबद्धता जनाए । त्यसपछि उपराष्ट्रपतिले गुरुङलाई ७० हजार १ रुपैयाँ राशिको श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार– २०७२ उपराष्ट्रपतिले प्रदान गरे ।
मालश्री धूनबीच प्रदान गरिएको प्रमाणपत्रमा उत्कृष्ट गीत, संगीत रचना र गायनको माध्यम नेपाली संगीतको श्रीवृद्धिमा अम्बरले पुर्याएको अमूल्य योगदानको मुक्तकण्ठले प्रशंसा गरिएको थियो ।
उपराष्ट्रपति पुनले पनि आफ्नो सम्बोधनमा भने, ‘संगीत साधक अम्बर गुरुङले आधुनिक नेपाली संगीतमा गरेको योगदानको म मुक्तकण्ठले प्रशंसा गर्छु ।’ पुनले गुरुङका तीन प्रवृत्तिका गीत सम्झिँदै भने, ‘अम्बरले नौलाख तारा उदाए भन्दै जातीय जागरणका गीत गाए । रातो र चन्द्रसूर्य भन्दै राष्ट्रिय जागरणको गीत गाए । त्यस्तै उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला भन्नेजस्ता प्रणयभावनाका गीत गाएर जनमनमा छाए । र, गणतन्त्र नेपाल बनेपछि तयार भएको राष्ट्रिय गानमा संगीत भर्नुभयो । यसरी उहाँ नेपाली संगीतको स्तम्भ बन्नुभएको छ । उहाँको योगदानको कदर गर्नु राज्यको कर्तव्य हो ।’
उनले पेट काटेरै भए पनि संस्कृति संरक्षण गर्ने नेपाली नागरिकको प्रवृत्तिबारे व्याख्या गरे । नेपाललाई प्रकृतिले दिएको वरदान, पुर्खाहरूले जोगाउँदै ल्याएको संस्कृति र अम्बरजस्ता अग्रजले हासिल गरेको उपलब्धिले समृद्ध पारेको मत व्यक्त गरे ।
०००
कार्यक्रममा गीतकार रत्नशमशेर थापा भने निकै ‘नोस्टाल्जिक’ देखिए । उनले अम्बरसँग बिताएका केही पल सम्झे अनि गरेका काम पनि सम्झे । ‘मैले धेरै समय अम्बरसँग बिताएँ । हामीले गरेको कति काम त बाहिर आउन सकेकै छैन,’ उनले भने ।
उनले सन् १९७५ तिर दिल्लीमा भएको पहिलो भेटमै गुरुङले संगीतबारे दुई घन्टा गफ गरेको सम्झिए । ‘त्यसैबेला अम्बरले भन्नुभयो– नेपाल फर्किनेबित्तिकै हामी केही काम गरौं ।’
रत्नका अनुसार झण्डै एक वर्षपछि नेपाल फर्किएर रत्न अम्बरलाई भेट्न जाँदा उनी श्रीमतीसँग बाहिर निस्किन ठिक्क परेका थिए । तर रत्नलाई देखेपछि भने, ‘तिमी जाऊ, म जान्नँ ।’
‘संगीतप्रति उहाँको लगाव त्यस्तो थियो । त्यसदिन बसेर हामीले केही सल्लाह गर्यौं । उहाँले बनाएको धूनमा मैले गीत लेख्ने भएँ ।’, उनले सम्झे, ‘त्यसपछिको सहकार्य अहिलेसम्म जारी छ । हामीले केही योजना बनाएका थियौं । तर उहाँको स्वास्थ्यको कारण पूरा हुन पाएको छैन ।’
उनले आफूहरूले पहिल्यै गरेका कामबाट पनि दुई–चार एल्बम निस्कन सक्ने बताए । ‘तर आर्थिक अभाव र उहाँको स्वास्थ्यअवस्थाका कारण काम हुन सकेका छैनन् ।’, उनको दुखेसो थियो । अम्बर र आफू मिलेर पहिलोपटक नेपालमा ‘क्वायर’ गरेको उनले उल्लेख गरे ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा साहित्यकार सरुभक्तले भने राज्यले अम्बर गुरुङको स्वास्थ्यप्रति देखाएको चासोबारे चर्चा गरे । पछिल्लो समयमा राज्यले प्रतिष्ठानमार्फत अम्बरलाई गरिरहेको सहयोग सह्रानीय रहेको बताउँदै अबका दिनमा पनि सहयोग उपलब्ध गराउन अनुरोध गरे । अम्बरजस्ता साधकलाई सम्मान र सहयोग गर्न राज्य हिच्किचाउनु हुन्न भन्ने सरुभक्तको मत थियो ।
कार्यक्रममा अम्बर गुरुङ पनि बोले । तर धेरै बोल्न सकेनन् । उनले आफूलाई सम्मान गर्न आएका उपराष्ट्रपतिलाई धन्यवाद दिए, सम्मान गर्ने संस्था र उपस्थित सबैलाई धन्यवाद दिए । भने, ‘म यहाँहरूलाई केही भन्न चाहन्छु । तर स्वास्थ्का कारण गाह्रो छ ।’
उनलाई धन्यवादका केही शब्द भनिसक्न पनि गाह्रो परेको थियो । त्यसैले उनको अनुमतिमा सहयोगी रतनले थप सन्देश बोलिदिए । तर अम्बरकै आँखाहरूले चाहिँ भनिरहेका थिए, ‘म आफैं केही बोल्न चाहन्छु, म त अझै गाउन चाहन्छु ।’
‘हामी पनि उनीसँग कुरा गर्न चाहन्छौं । उनका रहरसँग संवाद गर्न चाहन्छौं । उनको हृदयमा बजिरहेको धूनको अनुवाद सुन्न चाहन्छौं । कार्यक्रमबाट फर्किंदै गर्दा झुमासँग मैले भनेँ । उनी पनि आफ्नो ‘गुरु’सँग त्यसरी नै संवाद गर्ने दिन पर्खिरहेकी छिन् ।रातो पाटीबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.