जेठ ८
२५६० औं बुद्ध जयन्तीको अवसरमा शनिवार काठमाडौंको स्वयम्भु, बौद्ध सहित विभिन्न गुम्बाहरुले पूजापाठ गरि बुद्ध जयन्ती मनाएका छन् । बुद्ध जयन्तीको अवसरमा बौद्ध र स्वयम्भू परिक्रमा अर्थात कोरा गर्नेहरुको शनिवार विहानैदेखि घुँइचो लागेको थियो ।
हिन्दूदर्शनले पनि बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैले वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । यसैक्रममा शनिवार काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलस्थित चारुमति विहारलगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्यका साथै काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा विशेष रुपमा बुद्ध जयन्ती मनाइयो । सो अवसरमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्याली निकालिएको थियो ।
बुद्ध जयन्तीकै अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बौद्ध स्तूपमा बौद्ध धर्मका ञिङमा, शाक्य, गेलुक र काग्यु चारवटै सम्प्रदायका धर्मगुरुलाई बोलाएर ‘मानव जीवनमा बुद्ध वचनको महत्व’ विषयमा प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो । विहान ७ बजे बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् दिउँसो शोभा यात्रा समेत निकालिएको थियो । शनिवार बेलुकी स्वयम्भू र बौद्ध स्तूप परिसरका साथै आसपासका घरघरमा दीप प्रज्वलन गरिएको छ ।
शान्तिका प्रतीक बुद्धले देखाएको बाटोमा हिड्नले दुःख, रिस, डाह सबै अन्त्य हुने विश्वास गरिन्छ । पछिल्लो समय अहिंसा र शान्तिका पक्षपातीहरुको संख्या बढेसँगै बुद्ध जयन्तीमा उल्लेख्य सहभागीता हुँदै आएको छ ।न्यूज24 नेपालबाट




0 comments
प्रतिक्रिया दिनुहोस्...