भक्तपुर, जेठ १२ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले केपी ओली नेतृत्वको सरकारले ल्याएको आर्थिक एवं सामाजिक विकासको योजना नेपाल र नेपालीको हितमा भएको बताउनु भएको छ ।
बुधबार रफत सञ्चार क्लबमा भएको कार्यक्रममा बोल्दै उहाँले यो सरकारको योजनालाई कांग्रेसले समेत सहमति जनाउने बताउनु भएको छ । स्थानीय निकायको निर्वाचन गर्ने मिति सरकारले तोके पनि वास्तवमै एमालेले स्थानीय निकायको निर्वाचन भने नचाहेको उहाँको आरोप छ ।
कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक सावित हुने बताउँदै तत्काल सरकार परिवर्तन गरिए विकासको बाटाहरु बन्द हुने भएकाले सरकार परिवर्तनको बाटोमा लाग्नु नहुनेमा जोड दिनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग कुनै छलफल नै नगरी स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुले घोषित मितिमा निर्वाचन नहुने स्पष्ट भएको उहाँले जिकिर गर्नुभयो । स्थानीय निकायको निर्वाचनको मिति तोक्दैमा निर्वाचन हुन्छ भन्ने नहुने भन्दै निर्वाचनको मिति घोषणा गर्नुअघि कांग्रेससँग छलफल नगर्नुले एमालेले पनि स्थानीय निकायको निर्वाचन चाहेको छैन भन्ने कुरा प्रष्ट भएको उहाँको भनाई थियो ।
स्थानीय निकायको निर्वाचन हुन नसक्दा जतााततै भ्रष्टाचार बढेको बताउँदै उहाँले स्थानीय निकायको निर्वाचन अति आवश्यक भएको औँल्याउनुभयो । पुनर्निर्माण प्राधिकरणका काम सुस्त गतिमा हुँदा सरकारमा नकारात्मक सन्देश गएको बताउँदै उहाँले सरकारले पुनर्निर्माणको कामलाई तिब्रता दिन नेपाली सेना लगायत अन्य युवा दस्ताहरुलाई स्वयं सेवकका रुपमा परिचालन गर्न सक्नु पर्नेमा जोड दिनभयो ।
सरकारले मधेस आन्दोलनका जायज मागहरुको सम्बोधन गरेर आर्थिक र सामाजिक विकासमा सबै मिलेर यसतर्फ लाग्दै तराईलाई समेत आर्थिक बाटो तर्फ अगाडि लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।



0 comments
प्रतिक्रिया दिनुहोस्...