-->
भद्रगोल’ को ‘बेलासे’को गुण्डागर्दी
Advertisement

जेठ १०
नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित हाँस्वव्यंग्य टेलिश्रृंखला ‘भद्रगोल’ मा एकजना चर्चित पात्र छन्– बेलासे । उनको असली नाम हो सुवास कार्की । भद्रगोलको कलाकारको साथै उत्पादकसमेत रहेका बेलासे श्रृंखलामा जति चर्चित छन्, त्यति नै चर्चित छ उनले प्रयोग गर्ने थेगो– तनावै तनाव छ, खल्तीमा दुई रुपैयाँ छैन ।’
उनले टेलिश्रृंखलामा यस्तो थेगो प्रयोग गर्ने गरे पनि वास्तविक जीवनमा यस्तो रवैया देखाउलान् भन्न कल्पना सायदैले गर्छन् । तर, उनी काँचको पर्दामा जस्तै भूमिका वास्तविक जीवनमा पनि निर्वाह गर्दा उनको विश्वासमा परेर काम गरेका कयन कलाकार र व्यवस्थापक हैरानीमा परेको गुनासो गर्छन् ।
उता, कलाकारहरुलाई मनपरी राख्ने र निकाल्ने बेलासेको स्वच्छाचारी निर्णयले पनि भद्रगोलभित्रका कलाकारहरु उत्तिकै आजित बन्न पुगेका छन् । स्रोतका अनुसार, बेलासेले लामो समयदेखि भद्रगोल टेलिश्रृंखलाको प्रोडक्सनको सम्पूर्ण जिम्मा लिएर योगदान दिँदै आएका व्यवस्थापक विष्णु बुढाथोकीलाई अपमानजनक ढंगले निकालिदिएका छन् ।
लामो समयसम्म पैसा नदिएपछि मुख खोलेका बुढाथोकीले कार्कीसँग पैसा मागेपछि उनले निकालेको जानकारी स्रोतले दियो ।व्यवस्थापकको जिम्मेवारीबाट निकालिएपछि सुटिङका लागि आवश्यक पर्ने गाडीलगायतको व्यवस्थापन खल्तीको पैसा हालेर गरेका बुढाथोकीको रगत पसिना बेलासेले चुसेको चर्चा कलाकारहरुबीच हिजोहाज चल्न थालेको छ ।
बुढाथोकीपछि प्रोडक्सन हेर्ने जिम्मा पाएका विकासराज पाण्डेलाई पनि कार्कीले शोषण गरेका छन् । उत्पादक तथा कलाकार कार्कीले हेपाह रबैया देखाउँदा पाण्डेले पाउनुपर्ने महिनौंदेखिको रकम अझैंसम्म पाउन सकेका छैनन् ।
पाण्डेले पैसा नपाएपछि भद्रगोल व्यवस्थापनको जिम्मेवारबाट हात झिकिसकेका छन् । पाण्डेले पटक–पटक आफूले कार्कीसँग लिनुपर्ने पैसा मागे पनि उनले नदिएर हैरानी खेलाएको गुनासो गरे । पाण्डेका अनुसार, बेलासेले फोन उठाउँदै नउठाउने र उठाए पनि आफू व्यस्त भएकाले पछि सम्पर्क गर्नु भन्दै पन्छिने गरेका छन् । ‘कार्कीसँग आफूले पाउनेपर्ने रकम लिन बारम्बार सम्पर्क गर्दै आइरहेको छु,’ उनले भने । कार्कीसँग यसबारे जानकारी माग्दा उल्टै पत्रकारलाई नै धम्क्याउँदै भने, ‘समाचार छाप्न मन लागे छाप्नुस् । छापेपछि पैसा नपाएका भन्नेहरुलाइृ कसरी ठेगान लगाउनुपर्छ भन्ने मलाई पनि थाहा छ । समाचार छापिएपछि कसरी दनक दिन्छ भन्ने थाहा पाउँछन् ।’
यतिमात्र होइन उनले अभिनय गर्दै आइरहेका कलाकारहरुलाई पनि लामो समयदेखि पैसा दिने गरेका छैनन् । मिडिया हबले पैसा नदिउको भन्दै उनले कलाकारलाई पैसा नदिएर झुलाउने गरेको गुनासो कलाकारहरुको छ । कार्कीले उत्पादन गरेको कार्यक्रम मिडिया हबमार्फत नेपाल टेलिभिजनमा प्रसारण हुने गर्छ ।
मनपरी कलाकार राख्दै निकाल्दै
उता, उत्पादक कार्कीले मनपरी कलाकार राख्ने र अकारण निकाल्ने काम समेत गर्दै आइरहेको दावी स्रोतले गरेको छ । कार्कीको यस्तै स्वच्छाचारी रवैयाको कारण सिपी पुडासैनी ‘धतुरे’, लेखान्त भुसाललगायत केही कलाकार निकालेको बताइन्छ ।
अभिनय गर्दै आइरहेका कलाकारहरुलाई क्षमताको आधारमा भन्दा पनि निकटताको आधारमा भूमिका दिने गरेको गुनासो पनि भद्रगोलभित्र उत्तिकै चुलिएको छ ।
स्रोतका अनुसार, कार्कीले पैसा भएका मान्छेलाई क्षमता बिना नै भूमिका दिँदै आइरहेका छन् । ‘राम्रोलाई स्पेस नदिने र पैसा भएकालाई आवश्यकताभन्दा बढी भूमिका दिने काम बेलासेले गर्दा त्यहाँका वास्तविक कलाकार उत्तिकै हतोत्साहित भइरहेका छन्,’ एक कलाकारले नाम उल्लेख नगर्ने शर्तमा भने ।यता निर्देशक शंकर आचार्यले राम्रा–राम्रा युवतीहरुलाई सिरियलमा खेलाइदिने भन्दै शोषण गर्ने गरेको चर्चा पनि कलाकारबीच चल्ने गरेको छ ।नेपालजापान डट कमबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.