-->
बेपत्ता परिवारको गुनासो: फर्कने आशा गरौं कि किरिया गरौं
Advertisement

Sthaniya GUnasoघोराही: दाङ गोल्टाकुरी ४ की कमला परियारलाई अझै लागेको छ, उनका पति फर्किएर आउँछन् । १३ वर्ष भयो पति बेपत्ता भएको न उनले पतिको किरिया गरेकी छन्, न त फर्किने आस मारेकी छन् ।

माओवादी जनयुद्ध उत्कर्षमा चढ्दै थियो । कतिबेला के हुन्छ, केही थिएन । हरपल त्रास मात्रै । बिहान घरबाट काममा निस्किएका परिवार साँझ फर्किने हो कि होइन, सबैलाई त्रास थियो ।कमला परियारलाई पनि त्यस्तै थियो । २०६० सालमा उनका पति तुलसीपुर बजार जान्छु भनेर निस्किएका थिए । त्यसपछि अहिलेसम्म फर्किएनन् । १३ वर्ष भयो । धेरैले भने पति युद्धमै मरे । कमलाको मनले मानिरहेको छैन ।

बेपत्ता छानबिन आयोगमा उनले आफ्ना पतिलाई खोजिदिन आग्रह गर्दै मुद्दा दर्ता गराएकी छन् । ‘कसले बेपत्ता बनायो मेरो श्रीमान्लाई ? मुद्दा दिएकी छु, अब सरकारले खोजिदिन्छ कि ? ‘ युद्धकालमै बेपत्ता भएका कारण उनलाई पनि लागेको छ, उनका पतिलाई सेनाले बेपत्ता बनायो कि माओवादीले ? पतिको मृत्यु भएको उनलाई अझै थाहा छैन ।

धेरैले आफ्ना बेपत्ता आफन्तको मृत्यु भएको कागज गराएर सरकारले दिएको दस लाख रुपैयाँ राहत पनि बुझेका छन् । तर उनले त्यो पनि गराइनन् । सरकारबाट कुनै पनि प्रकारको राहत पनि पाएकी छैनन् । ‘सरकारलाई निवेदन दिएकी छु, कसले मेरो पतिलाई बेपत्ता बनायो, सरकारले छानबिन गरोस्, मलाई कि पति चाहियो कि न्याय चाहियो’, उनले भनिन् ।

१४ वर्षअघि हराएका आफ्ना पति फर्किने आशा छैन, घोराही १० की चुमा आचार्यलाई तर सरकारले अब न्याय दिन्छ कि भन्ने आशा भने मरेको छैन । १४ वर्षअघि विद्यालयमा पढाउन हिँडेका आफ्ना पति स्थानेश्वर आचार्यको अझै अत्तोपत्तो छैन ।

‘अब पति फर्किने आशा त छैन तर सरकारले न्याय दिन्छ कि भन्ने आशा हो’, उनले भनिन्, ‘मेरो पति बेपत्ता कसले बनाएको हो भन्ने थाहा पाउन, बेपत्ता पार्नेलाई कारबाही होस् भनेर निवेदन दिएकी छु । न्याय पाइन्छ कि यसपटक ।’ सरकारले दिएको केही लाख राहतले मनमा शान्ति नहुने उनको तर्क छ ।

‘जिन्दगी त धकेल्न सकिन्छ सरकारले पैसा दिनै पर्दैन । हामी आफैं काम गरेर खान सक्छौं’, उनी भन्छिन्, ‘तर मन त भुल्दैन । मन भुलाउन कि ज्यान चाहियो कि चिहान चाहियो ।’

युद्धमा मारिएका परिवारका आफन्त उनीहरूलाई भुल्दैछन् । सरकारबाट राहत पनि पाएका छन् । बाँचेकाले परिवारको जीवन विस्तारै लयमा फर्काउँदैछन् । बेपत्ताका परिवार भने त्यो भुल्न सकेका छैनन् । ‘आशा पलाउँदोरैछ कहिलेकहीं फर्किहाल्छन् कि भनेर’, आचार्य भन्छिन्, ‘न लास देखिएको छ न, चिहान देखिएको छ । कसरी मर्यो भन्ने विश्वास गर्ने ? ‘

युद्धका बेला दाङबाट १ सय १३ जना मात्रै बेपत्ता पारिएको तथ्यांक छ । धेरैजसो बेपत्ता परिवारले राहतका लागि मृत्यु भएको भन्दै तथ्यांक बनाएका छन् । त्यसकारण पनि बेपत्ताको संख्या थोरै देखिएको हो । तर अहिले मुद्दा दर्ता गर्न आउने बेपत्ता पारिएकाको परिवारलाई अन्योल भएको छ, मुद्दा मुत्यु भएको भनेर दिने कि बेपत्ता पारिएको भन्नेमा । धेरैजसोले मृत्यु भइसकेको भनेर राहत बुझिसकेका कारण यस्तो समस्या आएको शान्ति समितिले जनाएको छ । अहिलेसम्म ५१ जनाले बेपत्ता छानबिन आयोगमा मुद्दा दिएका छन् ।

शान्ति समितिका जिल्ला संयोजक नरेशजंग रानाका अनुसार बेपत्ता पारिएका परिवार धेरैजसोले बेपत्ताको कारण सोधेका छन् । अनि बेपत्ता गराउनेलाई कारबाहीको माग गरेका छन् । ‘सबैलाई राहतभन्दा पनि न्याय चाहिएको छ’, उनले भने, ‘सबैको माग न्याय नै हो । सरकारले उनीहरूको चित्त बुझाउनुपर्छ ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.