काठमाडौं, १ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं २९ दलीय संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले आन्दोलनलाई बलियो अन्तर्राष्ट्रिय समर्थन रहेको दाबी गरेका छन् ।
जारी आन्दोलनमा अमेरिका, बेलायत, भारत, युरोपियन युनियन र विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संगठनहरुले संविधान संशोधन गर्न यसअघि नै सरकारलाई सुझाव दिइसकेको उदाहरण दिँदै यादवले अन्तर्राष्ट्रिय समर्थनलाई बेवास्ता गर्ने हैसियतमा सरकार नरहेको दाबी गरे । काठमाडौंको व्यस्त पर्यटकीय स्थल ठमेलमा शनिबार गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै यादवले भने, –‘जनताको यो आन्दोलनलाई विश्व समुदायको बलियो समर्थन छ । यसले हामीमा उर्जा थपेको छ ।’
उत्पीडित समुदायको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरी सरकारले मुलुकमा उल्टै राज्य आतंक र हत्याहिंसा मच्चाएको यादवले आरोप लगाए । ‘सरकारलाई लाग्दो होला विश्व समुदाय आन्दोलनबारे बेखबर छ, तर, सरकारको दमनकारी कदम र बदमासीबारे अन्तर्राष्ट्रिय समुदाय नजिकबाट नियालिरहेका छन्,’ यादवले भने । सरकारको हरेक दमनकारी कार्यको स्वतन्त्र रुपमा न्यायिक छानबीन हुने यादवले बताए । गठबन्धनका संयोजकक समेत रहेका अध्यक्ष यादवले संविधान पुनर्लेखन नभए सिंहदरबार र वालुवाटारको पर्खाल भत्काउने चेतावनी दिएका छन् । आन्दोलन शान्तिपूर्ण हुने दाबी गर्दै अध्यक्ष यादवले जनताको जायज मागलाई बेवास्ता गर्दै सिंहदरबार र वालुवाटारमा सुतेर नबस्न सरकारलाई चेतावनी दिए । ‘जनताको मागलाई बेवास्ता गर्दै वालुवाटारामा सुत्ने जो कसैलाई पनि रजाइँ गर्न दिन्नौं ।’
राज्यको बेवास्ताले गर्दा आन्दोलन आफ्नो बाध्यता बनेको फोरम नेपालका अध्यक्ष यादवले भने । ‘मधेशी, आदिवासी जनजाति लगायत उत्पीडित वर्गको राष्ट्रिय समस्या हल नगरेसम्म मुलुकमा शान्ति कायम हुँदैन’- अध्यक्ष यादवले भने, ‘जनताको मागलाई सरकारले जति उपेक्षा गरियो समस्या त्यतिनै बल्झिन्छ ।’ विगतका सम्झौता लागू गर्न सरकारले बेइमानी गरेको र संविधानमा सबैको आवाज नसमेटिकोले जारी आन्दोलनले जनताको अधिकार सुनिश्चित गराउने यादवले दाबी गरे । ‘यो विभेद विरुद्धको लडाइँ हो’, उनले भने, ‘सबै खाले विभेदको अन्त्य नहुँदासम्म संघर्ष चलिरहन्छ ।’
ओली सरकारले मुलुकलाई विध्वंशात्मक बाटोमा लगेको यादवले टिप्पणी गरे । जेठ २ गते बिहानैदेखि सिंहदरबार घेराऊ कार्यक्रम सफल बनाउन गठबन्धनले प्रतिष्ठाको रुपमा लिएको छ । यसका लागि सबै तयारी पूरा भइसकेको गठबन्धन सचिवालयले जनाइसकेको छ ।
सिंहदरबार घेराऊ गर्ने कार्यक्रमको पूर्व संध्यामा झन्डै दश हजार बढीको सहभागितामा ठमेलको आमसभा सम्पन्न भएको छ । शान्ति बाटिकादेखि निकालिएको विरोध र्याली भद्रकाली, शहिदगेट, न्यूरोड हुँदै ठमेल पुगेर कोणसभामा परिणत भएको थियो । आमसभालाई कुमार लिङदेन, राजेन्द्र श्रेष्ठ, शरत्सिंह भण्डारी, महेन्द्र राय यादव, प्रेम बहादुर खाती, डा. विनय सैजु लगायतले सम्बोधन गरेका थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...