-->
फुटबलमा मलेसियासँग भिड्दै नेपाल
Advertisement

काठमाडौँ-नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको बाइस वर्षमुनि (यु–२२) को राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा नेपाली समयअनुसार आज बेलुकी सवा ६ बजे नेपाली टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । 

यसअघि भारतमा सम्पन्न बाह्राँै दक्षिण एसियाली खेलकुद (साग) र बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाली टोली त्यसपछिको पहिलो मैत्रीपूर्ण खेलमा पनि उच्च मनोबलको साथ मैदानमा उत्रने आशा गरिएको छ । साग र बङ्गबन्धुमा नेपालले स्वर्णपदक जितेको थियो ।

त्यस्तै, केही समयअघि मात्र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नियुक्त गरेको नयाँ जापानी प्रशिक्षक ग्यातुकी कोजीको प्रशिक्षणमा नेपाली टोलीले पहिलो पटक फुटबल प्रतियोगितामा सहभागिता जनाउँदैछ ।

नेपालको टोलीमा तीन गोलकिपर, नौ डिफेन्डर, छ मिडफिल्डर र पाँच फरवार्ड गरी २३ सदस्य छन् । गोलकिपरमा विकेश कुथू, विशाल श्रेष्ठ र किरणकुमार लिम्बू छन् भने डिफेन्डरमा विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तामाङ, रविन श्रेष्ठ र रञ्जित धिमाल छन् ।

त्यसैगरी, मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल समावेश छन् । फरवार्डमा भरत खवास, विश्वास श्रेष्ठ, नवयुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामा छन् । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.