काठमाडौं, १८ चैत । ‘स्वतन्त्र मधेस’को नारासहित देश विखण्डनको गतिविधि गरिरहेका पृथकवादी सीके राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
यो प्रस्ताव उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले गरेका हुन् । देश टुक्र्याउनुपर्छ भन्ने राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्ने भन्दै उनले यस विषयमा दबाब दिन सबै राष्ट्रवादी नेपाली एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
राजधानीमा रहेका सीके राउतको बुधबार एक टेलिभिजनले अन्तर्वार्ता लिएपछि उपराष्ट्रपतिपुत्र दिपेशले राष्ट्रियताका पक्षमा एकजुट हुन आव्हान गर्दै सीके राउतलाई गोली ठोकेर ‘इन्काउन्टर’ गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।उनले सीके राउतको अन्तरवार्ता लिने टेलिभिजनमाथि समेत कारवाही हुनुपर्ने बताए ।
बिहीबार आफ्नो फेसबुकमा सन्देश लेख्दै दिपेशले भनेका छन- ‘सीके राउतले हाकाहाकी देश टुक्र्याएर अर्को देश बनाउछौं भन्दा पनि हामी देश सम्झेर चुपचाप सुनिरहनुपर्ने यो कस्तो लोकतन्त्र ? यो कस्तो अभिव्यक्ति स्वतन्त्रता ? म प्रधानमन्त्री र गृहमन्त्री वा सुरक्षा प्रमुख हुन्थें भने साला यो देशद्रोहीलाई सिधै इन्काउन्टरको आदेश दिने थिएँ ।’
उनले सीके राउतलाई पक्राउ गर्दै छाड्दै गर्ने प्रहरीको पनि आलोचना गरेका छन् । प्रहरीले उल्टो सीकेलाई हिरो बनाउने काम गरिरहेको आरोप लगाउँदै उनले भने- ‘कि आजीवन कारावासमा राख्न सक्नुर्पयो, कि इन्काउन्टरमा जानुर्पयो ।’
तीन दिनदेखि राजधानीमा रहेका सीकेले टेलिभिजन अन्तर्वार्तामा मधेसमा आफ्नै सेना उत्पादन गरिरहेको र अबको १० वर्षभित्र मधेसलाई स्वतन्त्र बनाएरै छाड्ने बताएका थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...