-->
साँच्चै अमेरिका ध्वस्त पार्न सक्छ उत्तर कोरियाले ? यस्तो छ लेखाजोखा
Advertisement

एजेन्सी । उत्तर कोरियाले गत साता एउटा भिडियो नै जारी गरेर वासिङ्गटन डिसीसहित पूरै न्युयोर्क सहर ध्वस्त पारिदिने धम्की दियो । यस्तो धम्कीले अमेरिका डरायो, डराएन त्यो त उही जानोस् । तर सारा विश्व नै एकपटक झस्किएको सत्य भने कसैको नजरबाट लुकेको छैन ।
धम्कीसहितको उत्तर कोरियाली भिडियो सार्वजनिक भएपछि विश्वभर एक किसिमको चासो र चर्चा छ । के साँच्चै उत्तर कोरियाले चाह्यो भने अमेरिका ध्वस्त पार्न सक्छ त ? के एनिमेटेड भिडियोमा देखाएजस्तै सहज छ अमेरिकाको नामोनिसान मेटाउन ? सहज पक्कै छैन ।
तर, आफ्ना विरोधीहरुलाई सार्वजनिकरुपमा तोपले उडाउनेदेखि आफ्नै फूपाजूलाई मारेर भोका कुकुरहरुको हुलमा फाल्न सक्ने ‘सन्की’ शासकसँग सचेत भने हुनैपर्छ, अमेरिकाले ।
हल्कामा लिन सकिन्न धम्कीलाई !
के उत्तर कोरियाले आफ्नै बलबुतामा अमेरिका ध्वस्त पार्न सक्छ ? के न्युरोर्कमा परमाणु हमला गर्ने उत्तर कोरियाली धम्कीमा दम छ ? यो अहिलेको सर्वाधिक चासोको प्रश्न हो । केही महिनाअघि हाइड्रोजन बम परीक्षण गरेर कृतिम भूकम्प नै ल्याएको उत्तर कोरियाको आणविक शक्ति बुझेकाहरु यो धम्कीलाई हल्कामा लिन नहुने पक्षमा छन् ।
जानकारहरुमा विश्वास गर्ने हो भने उत्तर कोरियासँग १० हजार वा त्यो बढी किलोमिटरसम्म मार हान्न सक्ने मिसाइल तयारी अवस्थामा छ । उत्तर कोरियाबाट अमेरिकाको दूरी १० हजार ३ सय ३७ किलोमिटर छ । यस्तै २ हजार ७ सय ९० किलोमिटरको दूरीमा रुस, १ हजार ४३ किलोमिटरको दूरीमा जापान र ५ हजार ६४ किलोमिटरको दूरीमा भारत पर्छन् ।
यी हुन् शक्तिशाली उत्तर कोरियाली मिसाइल
उत्तर कोरियासँग रहेका सबैभन्दा शक्तिशाली मिसाइलहरुमा ट्यापोडोंग, मुसुदन तथा नोडोंग हुन् । यी सबै मिसाइलको मार क्षमता अलग-अलग छ । जानकारहरु भन्छन्, ट्यापोडोंग-2 ले १० हजार किलोमिटर वा त्यो भन्दा केहीबढी दूरीको कुनै पनि टार्गेटलाई सहजै निसाना बनाउन सक्छ । यदि सनकमा उत्तर कोरियाले परमाणु हतियार प्रयोग गर्यो भने आफ्नै भूमीबाट अमेरिकाको पश्चिमी तटसम्म मार हान्ने उसको क्षमता छ ।
उत्तर कोरियाको यही शक्ति अहिले अमेरिकासहित सिंगो विश्वका लागि टाउको दुखाइको विषय बनिसकेको छ । संसारका प्राय: मुलुकले उत्तर कोरियालाई नाकाबन्दी लगाएका छन् । दक्षिण कोरियाले त अमेरिकासँग मिलेर संयुक्त सैन्य अभ्यास नै गरिरहेको छ । जसले उत्तर कोरियालाई थप चिढ्याउने काम गरिरहेको छ ।
राष्ट्रसंघ सुरक्षा परिषद्बाटै उत्तर कोरियामाथि कडा रणनीति अख्तियार गर्न खोज्दा चीन पछि हट्ने गरेको छ । चीन भिटो पावर भएको मुलुक हो । उसले चाहेमा जुनसुकै निर्णयलाई रोक्न सक्छ ।
एउटा सनकी शासकसँग संसारकै सबैभन्दा शक्तिशाली बम हुनु निकै चिन्ताको विषय हो । त्यसमाथि पनि यस्तो बम, जसले क्षणभरमै कुनै सहरलाई खरानी बनाउन सक्छ । केही महिनाअघि उत्तर कोरियाली वैज्ञानिकहरुले किमको जन्मदिनमा खतरनाक हाइड्रोजन बम गिफ्ट दिए । त्यतिबेला ती वैज्ञानिकहरुले एउटा बटन दवाए, जसको प्रभाव पोंग्याङबाट सैयौं माइल टाढा पूंग्ये-री न्युक्लियर सेन्टर नजिक एक जबरदस्त विस्फोट भयो । धमाका यति शक्तिाली थियो कि ५.१ रेक्टर स्केलको कृतिम भूकम्प नै गयो ।
कम छैन अमेरिका पनि
यसअघि उत्तर कोरियाको धम्कीलाई हल्कारुपमा लिँदै आएको अमेरिका यसपटक भने केही झस्किएको छ । तर, अमेरिका आणविक शक्तिका हिसाबले विश्वकै शक्तिशाली मुलुक हो । दोहोरो हानाहानको स्थिति आएमा क्षति अमेरिकाभन्दा उत्तर कोरियाले नै बढी ब्योहोर्नु पर्नेछ । अमेरिकाको एन्टी मिसाइल सेक्युरिटी सिस्टम पनि निकै मजवुद् छ । कुनै पनि मिसाइललाई उसले आकाशमै ध्वस्त पार्न सक्ने क्षमता राख्छ ।तर, यति हुँदाहुँदै पनि आणविक हतियार प्रयोग हुने अवस्था आयो भने त्यो संसारका लागि अर्को दुर्भाग्य हुनेछ । तेस्रो विश्वयुद्ध हुनबाट कसैले रोक्न सक्ने छैन ।–
साझापाेषट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.