काठमाडौं: प्रहरीले काठमाडौंका दुई स्थानबाट ३२ करोड मूल्य बराबरको लागूऔषध कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।
लागूऔषध कोकिन र मेथाफेटामाइनसहित फरक फरक स्थानबाट तीन पुरुष र दुई महिलालाई पक्राउ गरि सोमबार सार्वजनिक गरेको छ ।
प्रहरीले ५४ किलोग्राम मेथाफेटामाइन अस्ट्रेलिया पठाएको अभियोगमा तीनजनालाई ठमेलबाट पक्राउ गरि सार्वजनिक गरेको हो ।
लागूऔषध अस्ट्रेलिया पठाउने क्रममा पक्राउ पर्नेहरुमा निलोपुल काठमाडौंका मनिष श्रेष्ठ, धादिङ घर भई काठमाडौंकै ठमेलका पर्यटन व्यवसायी विक्रम लामिछाने र नुवाकोट दाङसिङका होमबहादुर तामाङ रहेका छन् ।
उनीहरुलाई अदालतबाट म्याद थप गरि प्रहरीले कारबाही अघि बढाएको छ । यसअघि चीनको व्वान्झाउबाट समुद्री मार्ग हुँदै गत जनवरीमा अस्ट्रेलियाको ब्रिसबेनमा घर सजावटका सामान भनि झुक्याएर पठाएका सामान लिन पुगेका अस्ट्रेलियन नागरिक रेमोन्ड जोन मार्सडेन र नेपाली नागरिक भुपेन्द्र तामाङलाई ५४ किलो मेथाफेटामाइनसहित प्रहरीले पक्राउ गरेको थियो ।
यो घटनाबारे नेपाल प्रहरीले अस्ट्रेलियन प्रहरीसँग मिलेर अनुसन्धान अघि बढाइरहेको छ ।
त्यसैगरि क्षेत्रपाटीबाट पाँच करोड ४० लाख मूल्य बराबरको लागूऔषध कोकिनसहित दुई विदेशी महिला पनि पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोले विशेष सूचनाका आधारमा सोमबार बिहान चारवटा स्याम्पुको बट्टाभित्र लुकाएको अवस्थामा दुई लिटर सात सय २२ मिलि लिटर कोकिन बरामद गरेको हो ।
पक्राउ पर्नेमा दक्षिण अफ्रिकी नागरिक एम पाथोनी म्यास्ने र भारतीय नागरिक मर्सीलाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण व्यूरोका डीआईजी जयबहादुर चन्दले उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान अघि बढाएको जानकारी दिए ।
व्यूरोले सोमबार पत्रकार सम्मेलन गरेर दुबैजनालाई लागूऔषधसहित सार्वजनिक गरेको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...