-->
चैत १३ मा बाग्मती महोत्सव हुने
Advertisement

बाग्मती नदी सफाइ गर्न सुरु गरिएको एक सय ५० औं हप्ताको अवसर पारेर बाग्मती महोत्सव गरिने भएको छ।                                             अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी चैत १३ गते बाग्मती महोत्सव गर्न लागेको र यसको सबै तयारी पूरा भएको जानकारी दिएको छ । महोत्सव दुई दिन चल्ने छ । महोत्सवका क्रममा मेरो सपनाको बाग्मती शिर्षकमा उपत्यकाभित्रका ६२ वटा विद्यालयका ९ देखि १२ कक्षाका विद्यार्थीबीच चित्रकला प्रतियोगिता संचालन गरिने र प्रतियोगिताको उत्कृष्ट चित्र प्रदर्शनीमा राखिने समितिले जनाएको छ । महोत्सवमा राष्ट्रियस्तरका ३३ जना कलाकारले बाग्मती किनार गुहेश्वरीमा उपस्थित भई तयार पारेका चित्रहरु पनि प्रदर्शनीमा राखिनेछन् ।

६२ वटा विद्यालयका विद्यार्थीबीच मेरो सपनाको बाग्मती शिर्षकमा कविता प्रतियोगिता गर्ने र उत्कृष्ट तीन कविता महोत्सवमा वाचन गर्न लगाइने बाग्मती सफाइ अभियानका संयोजक रहेका पूर्वमुख्य सचिव लिलामणि पौडेलले बताए। चैत १३ गते बाग्मती सफाइ अभियान सुरु भएको १ सय ५० औं हप्ता हुँदैछ ।

त्यस अवसरमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको गुहेश्वरीस्थित हातामा ६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको बाग्मती बाल उद्यानको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। महोत्सवमा १ सय ५० औं हप्ताको सरसफाइ झल्किने फोटोहरुको प्रदर्शनी  गरिने कार्यक्रम छ । पूर्वमुख्य सचिव पौडेलले बाग्मती सफाइ अभियानपछि बाग्मती नदी मात्र नभएर काठमाडौँ उपत्यका नै सफा भएको बताए। उनले नदी सफाइ अभियानको प्रभावस्वरुप सडकमा जथाभावीरुपमा फोहोर फाल्ने क्रम निकै घटेको बताए। 

२०७० सालको जेठ ५ गते सुरु भएको सफाइ अभियानयता १ सय ४९ हप्ताका क्रममा बाग्मती नदीबाट ७ हजार मेट्रिक टन फोहोर निकालिएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.