-->
हास्य कलाकारको चहलपहलः कोही फुटे कोही जुटे
Advertisement

काठमाडौं । देशको खराव अवस्था र प्रायोजक संस्थाको आर्थिक संकटले गर्दा मुर्झाएका हास्यकलाकारहरु फेरि जुर्मुराउन थालेका छन् । यही क्रममा हास्य कलाकारका जोडीहरुभित्र फुट्ने र जुट्ने नयाँ सिलसिला पनि देखिएको छ ।
आर्थिक संकटबाट गुज्रिएको प्रायोजक संस्था मिडिया हब नेपालले कलाकारहरुलाई पैसा दिन नसक्दा टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्यश्रृंखलाहरु बन्द भएका थिए ।
वैशाखमा आएको भुकम्प र त्यसपछि भारतीय नाकाबन्दीले आगोमा घ्यू थप्ने काम गरेको थियो । नाकाबन्दी खुलेर देश सामान्य अवस्थामा फर्केपछि हास्यकलाकारहरुले पनि आआफ्नो बाटो समात्न थालेका छन् ।
सबैभन्दा पुराना दुई हास्यश्रृंखला तीतो सत्य र जिरे खुर्सानी पूर्णरुपमा बन्द भएका छन् । तीतो सत्यका दीपकराज गिरि र दीपा यतिबला होम प्रोडक्सन फिल्म छक्का पञ्जाको निर्माणमा व्यस्त छन् । यता जिरे खुर्सानीमा आबद्ध केही कलाकार भने नयाँ सिरियल निर्माणमा जुटेका छन् ।
नयाँ हास्यश्रृंखला ब्रेकफेलमा जिरे खुर्सानीका निर्देशक शिबहरि पौड्याल र कलाकार किरण केसीको जोडी गाँसिएको छ । यसमा जितु नेपाल संलग्न छैनन् । ब्रेकफेलको प्रशारण नेपाल टेलिभिजनबाट शुरु भइसकेको छ ।
अर्को चर्चित हास्यश्रृंखला ‘मेरी बास्सै’ फेरि टेलिभिजनमा फर्किएको छ । यद्यपि मेरी बास्सैका पुरानो जोडी सीताराम कट्टेल (र्मुस) र केदार घिमिरे (माग्नेबुढा) को जोडी भने टुटेको छ । धुर्मुसको निर्देशनमा मेरीबास्सैको नयाँ श्रृंखला प्रशारण सुरु भइसकेको छ ।
एक प्राविधिकले दिएको जानकारी अनुसार ‘मेरी बास्सै’ले मिडिया हबवाट ३० लाख रुपैयाँभन्दा बढि लिन बाँकी छ । बक्यौता रकम नलिई काम सुटिङ खर्च मिडिया हबले व्यहोर्ने समझदारीमा धुर्मुसले काम सुरु गरेका हुन् ।
धुर्मुसबाट छुट्टएिका माग्नेबुढा भने खासखुस नामको अर्को सिरियल लिएर दर्शकमाझ आउदैछन् । उनले जोडी बाँधेका छन् मेरीबास्सैका पूर्व कलाकार विल्सनविक्रम राई (तक्मेबुढा) सँग । यो जोडीले बनाएका खासखुसका केही एपिसोडहरु यूट्यूवमा अपलोड गरिएका छन् र दर्शकले रुचाएका पनि छन् ।
पैसा नआएसम्म काम गर्दिनः जितु
प्रायोजक संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धाले आफूहरु मारमा परेको बताउछन् हास्यकलाकार जितु नेपाल । जिरे खुर्सानी प्रशारण गरेवापत मिडिया हबवाट २५ लाख रुपैंया लिन बाँकी रहेको उनले जानकारी दिए । ‘पैसा नआएसम्म नयाँ काम गर्ने योजना छैन,’ उनले भने ।]
आफ्नै सहकर्मीहरुले नयाँ सिरियल प्रशारण सुरु गरेको थाहा पाएका जितु लेनदेनको समस्या केहि दिनमै बल्भिmने सम्भावना देख्छन् । उनी भन्छन् ‘प्रायोजक संस्थाहरुबीच अस्वस्थ प्रतिस्पर्धा छ । यो प्रबृत्तिले सिरियलहरु उँभो लाग्दैनन् ।’
लेनदेनको समस्या आउदैनः केसी
नयाँ सिरियल ‘ब्रेकफेल’का निर्माता एवं कलाकार किरण केसी लेनदेनमा केही महिना ढिलो हुनुलाई सामान्य रुपमा लिनुपर्ने धारणा राख्छन् । मिडिया हबकै कारण धेरै हास्य कलाकारको करिअर बनेको दाबी गर्दै उनले भने, ‘सडकमा हिँड्ने हास्यकलाकार मिडिया हबकै कारण गाडी चढ्ने भएका छन् । त्यो पनि त बिर्सन भएन ।’
मिडिया हबसंग सम्झौता गरेर काम सुरु गरेकाले भविष्यमा कुनै समस्या नआउने उनको विश्वास छ ।
- अनलाइनखबर


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.