-->
पुरानो काठबाट बिस्केटको रथ
Advertisement

भक्तपुर- यसपल्ट बिस्केट जात्राका लागि भैरवनाथको रथ बनाउन तीन सय वर्षभन्दा पनि पुरानो काठको प्रयोग गरिएको छ। जात्रा क्रममा बर्सेनि दुर्घटना हुने गरे पनि रथ निर्माणमा पुराना काठ नै धेरै प्रयोग भइरहेको छ।
काठबाट करिब ३०/३५ फिट अग्लो प्यागोडा शैली निर्माण गरिने तीनतले रथ दायाँ बायाँ दुवै छेउबाट सयौं जात्रालुले तानातान गर्दा रथ बिग्रने गर्छ। दुवैतिर ४/४ वटा डोरीले दुई पक्षबीच तानातान हुँदा रथ बिग्रनुका साथै खसेर र च्यापिएर बर्सेनि दुर्घटना हुने गरेको छ। रथको छानो खस्ने, रथमाथि बसेका मानिस च्यापिने, किचिनेजस्ता दुर्घटनाबाट बर्सेनिजस्तै विभिन्न मानिसको मृत्यु हुने गरेको छ। यस्तो स्थितिमा रथ निर्माणमा सयौं वर्ष पुरानका काठ प्रयोग गरिनुले दुर्घटना हुने निश्चितप्रायः छ।
रथ निर्माणका नाइके प्रेमलाल शिल्पकारका अनुसार यस वर्ष पनि थोरै काठ मात्रै नयाँ छन्। २४ क्युबिक फिट काठ मात्रै नयाँ छन्। निदाल एउटा, थाम दुई वटा, छाना आठ पाटा र छानाको मुठो १२ वटा मात्रै नयाँ छन्। चार वटा पाँग्रालगायत अरु सबै काठ पुराना छन्। पुराना काठबाट ९ जनाको टोलीले धमाधम रथ निर्माण गरिरहेको छ। चैत २५ मा रथ निर्माण गरिसक्ने निर्माण टोलीले जनायो।
४५ वर्षयता बर्सेनि रथ निर्माण गर्दै आएका नाइके शिल्पकारका अनुसार रथ निर्माणमा ३ सय वर्षभन्दा पुराना काठ अझै प्रयोग भइरहेका छन्। जात्रा सकिएपछि रथ फुकालेर पाँचतले मन्दिर पछाडि गुठीको भवनमा काठ राख्ने परम्परा छ। तिनै काठ फेरि अर्को वर्ष रथ निर्माणमा प्रयोग गरिन्छन्।
भक्तपुर, सूर्यविनायकस्थित गुठी संस्थानको शाखा कार्यालय प्रमुख लेखनाथ सापकोटाले नयाँ काठ नपाइने भएकाले रथ निर्माणमा पुरानै काठ प्रयोग गरिएको बताए। 'रथ निर्माणका लागि आवश्यक काठ मकवानपुर, मनहरिबाट ल्याउनुपर्ने भए पनि त्यहाँ काठ नै पाइँदैन,' उनले नागरिकसँग भने, 'काठ ल्याउन रकम अभाव भएर होइन, काठ नै नपाएर समस्या भएको हो।' रथका लागि साल (अग्राख), सल्लालगायत काठ प्रयोग गरिन्छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जात्रामा दुर्घटना हुन नदिन प्रयास गरिने बताए। त्यसका लागि सरोकारवालासँग छलफल भइरहेको प्रजिअ पौडेलले जनाए। दुर्घटना न्यून गर्न यस वर्ष भैरवनाथ रथ जात्राको रुट छोट्याउने योजना रहेको उनले सुनाए।
बिस्केट जात्रा क्रममा रथबाहेक ५२ हात लामो लिंगो उठाउँदा पनि दुर्घटना हुँदै आएको छ। भक्तपुर नपा वडा नं ११ भेलुखेलमा लिंगो ठड्याउँदा कहिले लिंगो भाँचिएर त कहिले ढलेर दुर्घटना हुने गरेको छ।
- Nagarik News


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.