
बुधबार चितवनको रत्ननगरमा नेकपा एमालेका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दुई वर्षमा देशैभर बिजुली छ्यालब्याल पारिदिने बताएका हुन् । ‘एक वर्षमा लोडसेडिङको अन्त्य हुन्छ’ उनले भने, ‘दुई वर्षभित्रमा जसलाई जति बिजुली चाहिए पनि पाउने गरी छ्यालब्याल पारिनेछ ।’
अहिले राष्ट्रिय राजनीतिको चालक एमाले भएको दाबी गर्दै अध्यक्ष ओलीले १५ वर्षभित्र नेपालका सबै ठाउँमा सिँचाई पु¥याएर त्यसपछिको दुई वर्षसम्ममा देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाइने बताए ।
प्रधानमन्त्री ओलीले एघार महिना बितिसक्दा पनि भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माण सुरु हुन नसकेको बेला पुनर्निर्र्माणका लागि अझै केही समय लाग्ने बताएका छन् ।
उनले आज रत्ननगरमै भएको नेपाल निर्माण व्यवसायी महासंघको १८औँ साधारणसभा एवं रजत जयन्ती शुभारम्भ उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘भूकम्पबाट आठ लाख घर भत्किएका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘कागजमा नक्सा कोर्न त समय लाग्छ, आठ लाख घर बनाउने काम चानचुने होइन ।’
‘नौ हजार विद्यालय भत्किएका छन् । सरकारी कार्यालयहरु भत्किएका छन् । ऐतिहासिक र पुरातात्विक सम्पदा भत्किएका छन् । राष्ट्रपतिको बसाई प्रिफ्याबको छाप्रोमा छ । सरकार चलाउने सिंहदरबार भत्किएको छ । सेनाको हेडक्वार्टर भत्किएको छ’, गद्य कविता सुनाए झैँ उनले थपे, ‘सर्वोच्च अदालत भत्किएको छ । राष्ट्र बैंक भत्किएको छ । त्रिभुवन विश्वविद्यालयका भवन भत्किएका छन् । धरहरा ढलेको छ ।’
धरहरासँग हरेक नेपालीको भावना जोडिएकोले यसको पुनर्निर्माणमा सरकारी वा वैदेशिक सहयोगको रकम प्रयोग नगरिने प्रधानमन्त्री ओलीको भनाई थियो ।
‘मेरो धरहरा म बनाउँछु भन्ने कुरै तपाइँहरुसम्म आइपुगेको रहेनछ’ ठट्यौली पारामा प्रधानमन्त्री ओलीले भने, ‘तपाइँहरुको सहयोगले धरहराको एउटा तला त सजिलै बन्छ ।’
प्रधानमन्त्रीले यसो भनिरहँदा साधारणसभाका सहभागीबीच हाँसो चलेको थियो । भूकम्पको कारणले, आपूर्ति व्यवस्थामा भएको अवरोधका कारणले निर्माण सम्पन्न हुन नसकेका परियोजनाको म्याद बढीमा एक वर्षका लागि थपिने उनले बताए ।
‘काबु बाहिरको परिस्थिति आएको हुनाले अधिकतम एक वर्ष म्याद थपिदिनु पर्छ भन्ने मेरो राय हो’, बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रिपरिषद्मा यस विषयमा सल्लाह त भएको छैन । तर मैले भनिसकेपछि मन्त्रिपरिषद्बाट पास हुन्छ । तपाइँहरुको माग पूरा भयो ।’
‘नेपालमामात्रै हो बनाएको भोलिपल्ट बाटो भत्कने’ निर्माण व्यवसायीलाई व्यंग्य हान्दै प्रधानमन्त्री ओलीले भने, ‘बैशाखमा बनाएको बाटो जेठैमा भत्कियो भनेर लोकगीत र दोहोरीगीतमा आइसकेको त छैन, तर मैले कुरो बुझेको छु ।’
निर्माणको काम सस्तो, बलियो र छिटो हुनुपर्ने उनको भनाई थियो । पक्की बाटो बनाउने ठेक्का लिएपछि दुई–चार वर्षसम्म नभत्कने बाटो बनाउनुपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘राजमार्गलाई लोकमार्ग भनेर क्रान्तिकारी भइँदैन’ उनले भने, ‘चारदेखि ६ लेनसम्मको राजमार्ग नै बनाउने हो । पूर्वपश्चिम राजमार्ग चौडा बनाइन्छ ।’ भारत भ्रमणका बेला पूर्वदेखि पश्चिमसम्म हुलाकी राजमार्ग निर्माण कार्य तिब्रताका साथ अगाडि बढाउने समझदारी भएको प्रधानमन्त्री ओलीले जानकारी गराए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...