-->
पतिले साउदीबाट पठाएको २० लाखसहित सुन्तली वेपत्ता
Advertisement

सिन्धुलीः चार वर्षदेखि साउदी अरबमा पसिना बगाएर एक युवाले पठाएको कमाई कुम्ल्याएर यहाँकी एक महिला वेपत्ता भएकी छन् । 

बाबुआमा र पत्नीलाई पाल्न भन्दै साउदीमा दुःख गरेर पतिले पठाएको करिब २० लाख रुपैयाँ लिएर डाँडीगुराँसे–८ बेल्टारशिर गोठखोलाकी सुन्तली पाख्रिन वेपत्ता भएपछि उनका वृद्ध सासुससुरा  रामबहादुर र जीवन्तरी पाख्रिनले प्रहरी गुहारेका हुन् । 

छोरो विष्णुले चार वर्षदेखि साउदी अरबमा कमाएर पठाएको २० लाख रुपैयाँसहित बुहारी सुन्तली वेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा केही दिनअघि उजुरी दिएका हुन् । 

उनीहरुले रकम कुम्ल्याएर वेपत्ता बुहारीको खोजी गरि लगेको रकम फिर्ता गरीदिन आग्रह गर्दै निवेदन दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशंकर पन्जियारले जानकारी दिए ।

‘माघको दोस्रो साताबाट एकाएक वेपत्ता भएकी सुन्तलीले एक महिनापछि घरमा फोन गरेर कुवेत आइपुगेकोले आफ्नो पिर सुर्ता नलिनु भने पनि त्यसपछि उक्त नम्बर अफ भएको भन्दै सासुससुराले प्रहरी कार्यालयको महिला सेलमा निवेदन गरेका छन्,’ पन्जियार भने ।

कार्यालयमा उजुरी परेपछि घटनाबारे अनुसन्धान थालिएको उनको भनाइ छ । विष्णु चार वर्षदेखि साउदी अरबमा ड्रइभिङ गर्दै आएका छन् । उनले साउदीमा कमाएको पैसा महिनैपिच्छे सुन्तलीको नाममा रहेको बैंक खातामा जम्मा गर्ने गरेका थिए । बैंकमा रहेको पैसा निकालेर सुन्तली गत माघदेखि घरबाट हिँडेकी थिइन् । 

छोराको कमाई समेत गुटमुट्याएर हिँडेकी बुहारी र छोराको कमाई खोजी गरिदिन आग्रह गर्दै पाख्रिन दम्पत्ती जिल्लास्थित विभिन्न निकाय र म्यानपावरसम्म बारम्बार धाउन थालेका छन् । 

बुहारीको खोजीको पहल गर्न जिल्ला सदरमुकाम आएपुगेका पाख्रिन दम्पत्तीले अन्नपूर्ण अनलाइनसँगको कुराकानीमा छोराको रगत पसिनासँगै आफ्ना खुसीसमेत लुटेर हिँडेको भन्दै दुःख व्यक्त गरे ।

‘न हामीलाई नै भनि, न छोरासँग सरसल्लाह गरी । छोरालाई त झनै थाहा नै छैन’, उनीहरुले भने, ‘छोरो आफँै खाडी मुलुकमा छ । दुःखमाथि थप पिर थपियो ।’

छोराले अरबको चर्को घाममा दुःख सहेर कमाएको सम्पत्ति बुहारीले लगेपछि छोरासँगै आफुहरु समेत विचल्लीमा परेको पाख्रिन दम्पती बताउँछन् । 

सुन्तलीले घरबाट हिँडेको एक महिनापछि गत फागुन १६ गते फोन गरेर आफू कुवेत पुगेको भन्दै सुर्ता नगर्न भनेकी उनीहरुको भनाइ छ । तर सुन्तलीले गरेको फोन कुवेतको नभइ यूएइको थाहा भएपछि जिल्लामा आएको सुन्तलीका ससुरा रामबहादुरले सुनाए । 

सुन्तलीको राहदानी र जारी मितिका आधारमा एसएमएसबाट जाँच गराउन लाउँदा २०१६ फेब्रुअरी ४ मा श्रम स्वीकृति लिई वार्ड वर्कर एनएमसी हेल्थकेयर, द गोर्खा रेई म्यानपावरमार्फत युएईमा गएको देखिएको रामबहादुरले बताए । 

एसएसएसमार्फत बुझ्दा यूएईमा सुन्तलीको मासिक तलब १३ सय रहेको पनि बुझिएको छ । तर, सन्तलीले आफू कुवेतमा पुगेको जनाएलगत्तै मोवाइल नम्बर अफ गरेकाले यो परिवारमा झनै शंका बढाएको छ ।

सुन्तलीबारे भएसम्मको सबै जानकारी लिएर बुहारीलाई फर्काइदिन आग्रह गर्न म्यानपावरसम्म पुगेका रामबहादुर निराश भएर फर्केका छन् । ‘म्यानपावरले सहयोग गर्छ  भन्ने आशा बोकेर काठमाडौंसम्म पुगियो तर, हाम्रा कुरा सन्दै सुनेनन्’, रामबहादुरले भने, ‘ म्यानपावरको पनि मिलेमतोमा बुहारीलाई कसैले फकाएर लगेको हुनसक्ने शंका लागेको छ ।’ 

चार वर्षसम्म कमाएको पैसा लिएर पत्नी हिँडेको खबर पाएदेखि विष्णुको होस ठेगानमा छैन । सुन्तली विष्णुकी दोस्री पत्नी थिइन् । पहिलो पत्नी विष्णु पहिलो पटक विदेशमै रहँदा अर्कैसँग हिँडेपछि सुन्तलीलाई भित्र्याएका थिए ।

विवाहपछि विष्णुले नै बीएडसम्म अध्ययन गर्न सुन्तलीलाई सदरमुकाममा राखेर सहयोग गरेका थिए । पत्नीलाई अझै पढ्न आग्रह गर्दै अब छिट्टै घर आई सदरमुकाममा घर बनाउने बताएका विष्णुको सपना पत्नीले नै चुँडेकी छन् ।   

विष्णुले साउदी अरबबाटै फोनमार्फत श्रीमतिको खोजी गरीदिन सबैसँग आग्रह गरेका छन् । उनले अर्कासँगै लागेर हिँडे पनि आफ्नो पैसा फिर्ता गराइदिन आग्रह गरे । 

सुन्तलीको खोजिका लागि प्रावसी नेपालीले समन्वय समितिमार्फत पहल गरिएको जिल्ला विकास समिति सिन्धुलीबाटा सञ्चालित वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन परियोजनाकी कर्मचारी रमा कार्कीले बताइन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.