कास्की । कृषि पर्यटनको प्रवद्र्धन र व्यावसायिक विकासका लागि जिल्लाको हेम्जामा सातौँ हेम्जा आलु महोत्सव आयोजना हुने भएको छ । चैत २३ देखि ३० गतेसम्म सप्ताहव्यापी आलु महोत्सव हुन लागेको हो । आलुका पारखीहरुलाई स्वाद चखाउन तथा कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यले आलु महोत्सव आयोजना गर्न लागिएको हो ।
पछिल्ला वर्षमा आलु ग्रामका रुपमा पहिचान दिनथालेको पोखराको हेम्जाका साथै भलाम, अर्मला, लामाचौर, लेखनाथको शिशुवा, भरतपोखरीलगायतका स्थानका कृषक व्यावसायिक आलु खेतीतर्फ आकर्षित बनेका हुन् । विस्तारै व्यावसयिकतातर्फ कृषक लागे पनि हालसम्मको उत्पादनको अवस्था हेर्दा यहाँ उत्पादित आलुले जिल्लाको मागको लगभग चार महिना मात्र थेग्ने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश कोइराला उत्पादित आलु भण्डारण गर्ने कोल्ड स्टोरको अभावका कारण समस्या भएको बताउनुहुन्छ ।
“यहाँको उत्पादन चार महिना मात्र पुग्छ,” उहाँले भन्नुभयो । जिल्लामा मालेपाटनमा दुई हजार टन भण्डारण क्षमताको एक मात्र कोल्ड स्टोर रहेको छ । क्षमतायुक्त कोल्ड स्टोर निर्माणका लागि पहल भइरहेको छ । मालेपाटनको कोल्ड स्टोरमा राखिएको बीउ गत वर्ष कुहिएका कारण हेम्जामा यस वर्ष आलुको उत्पादन घटेको बताइएको छ ।
स्थानीय कृषक चित्रनाथ पौडेल गत वर्ष हेम्जामा रु १६ करोडको आलुको कारोबार भएको बताउनुहुन्छ । “यस वर्ष रु आठ करोडदेखि रु १० करोडसम्मको कारोबार हुने देखिएको छ” उहाँले भन्नुभयो । व्यावसायिक कृषितर्फ देखिएको आकर्षणलाई प्रोत्साहित गर्न सरकारले राम्रो बीउ उपलब्ध गराउन पौडेलले माग गर्नुभयो ।
गत वर्ष हेम्जामा ६५ हजार मेट्रिक टन आलु उत्पादन भएकोमा यस वर्ष ३५ हजार मेट्रिक टन मात्र उत्पादन भएको छ । जिल्लाका वभिन्न ठाउँ तथा अन्य जिल्लाबाट आलु किन्न हेम्जा आउनको सङ्ख्या अत्यधिक छ । हेम्जाले आलु ग्रामका रुपमा आफ्नो पहिचान कायम गर्दै गएको छ ।
हेम्जाको एक हजार ९७१ हेक्टर क्षेत्रफलमध्ये ६५० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । यहाँका एक हजार १५० घर परिवार कृषिमा आधारित रहेकोमा ६५० कृषकले व्यावसायिक आलुखेती गर्दै आएका छन् । सेती नदी र याम्दी खोलाको बीचमा रहेको यो स्थल कृषिजन्य उत्पादनका अतिरिक्त ¥याफ्टिङ, जिपफ्लायर, बन्जीजम्प, दृश्यावलोकनका लागि पर्यटकको आकर्षण बनेको स्थानीय विष्णु पादुका क्लवका अध्यक्ष रमेश कार्की बताउनुहुन्छ ।
हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङ तथा तिब्बत जोड्ने राजमार्ग पनि हेम्जा भएर गएको छ । आलुको लागि उर्वर भूमि हुनुका साथै यसको व्यावसायिक खेतीतर्फ आकर्षण बढीरहेका कारण विगत छवर्ष यता हेम्जामा आलु महोत्सवसमेत सञ्चालन गरिँदै आएको छ ।रासस



0 comments
प्रतिक्रिया दिनुहोस्...