काठमाडौं, १८ चैत । भारतीय नाकाबन्दीको मौका छोपेर कालोबजारी गरी अरबौं कमाउन खोज्ने व्यापारिक घराना केएल दुगडको करोडौं मूल्य बराबरको खाने तेल स्वाहा हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुगड ग्रुपबाट प्रहरीले जफत गरेको एक लाख लिटर खाने तेल लिलामीको सूचना निकाल्दा कसैको पनि टेण्डर परेको छैन । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
खाने तेल भएका कारण मिति गुज्रिन सक्ने र अन्य लफडा निस्कन सक्ने भन्दै व्यवसायीहरुले टेण्डर नहालेको स्रोतको भनाई छ । महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाको सक्रियतामा प्रहरीले करिव दुई करोड रुपैयाँ बराबरको खाने तेल जफत गरेको थियो । लिलामीमा कुनै आवेदन नपरे सबै तेललाई नष्ट गरिने भएको छ ।
भारतको अघोषित नाकाबन्दीको मौका छोपेर दुगड समूह अन्तर्गतको विराटनगरमा रहेको स्वतिस्तक आयल इन्ड्रस्टिजले खाने तेलको मूल्य प्रतिलिटर १ सय २५ रुपैयाँबाट बढाएर ३ सय २० रुपैयाँ पु-याएको थियो ।
परिसरले खाने तेलमा कालोबजारीको गुनासो आएपछि जडीवुटीमा रहेको यो समूहको गोदाममा छापा हानी पाँच ट्रक खाने तेल, प्रवन्धक अमन जैन र कर्मचारी प्रमोद अधिकारीलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
उनीहरु दुबैलाई जिल्ला अदालतले दोषी ठहर गरिसकेको छ । एसएसपी थापाले दुगड ग्रुपका केशलाल दुगडसहित उनका तीनै छोरा तथा उच्च कर्मचारीहरूलाई खोजी गरिरहेका छन् ।
प्रहरीले ठगी मुद्दाअन्तर्गत ९ करोड ९६ लाख १३ हजार ४ सय २० रुपैयाँ र कालोबजारी मुद्दाअन्तर्गत ४ करोड ६ लाख ७९ हजार रुपैयाँ बिगो दाबी गरेको थियो । दुगड समूहले उक्त मुद्दा मिलाउन नेता, बाणिज्य विभागका अधिकारी र केही एआईजीलाई मिलाउन खोजेपनि एसएपी थापाले कसैको कुरा नसुन्दा कालो बजारी रोकिएको थियो ।



0 comments
प्रतिक्रिया दिनुहोस्...