सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलको छनोटमा अर्जेन्टिनाका लियोनल मेसी र उरुग्वेका लुइस स्वारेज यसै साता पहिलोपटक सहभागी हुँदैछन्।
नौवटा अन्तर्राष्ट्रिय खेलको प्रतिबन्धका कारण स्वारेज र चोटका कारण मेसीले छनोटका सुरुका चार खेल गुमाएका थिए । सन् २०१४ को विश्वकप दौरान समूहगत चरणको अन्तिम खेलमा इटालीका जर्जियो चेलिनीलाई टोकेको आरोपमा स्वारेजले करिब दुई वर्ष लामो अन्तर्राष्ट्रिय प्रतिबन्ध भोगेका थिए । सोही विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर् याउन मेसीको ठूलो योगदान रहेको थियो।
पाँचपटकका फिफा वर्ष खेलाडी मेसी उक्त प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । १० टोली सहभागी दक्षिण अमेरिकी छनोटमा उरुग्वे दोस्रो र अर्जेन्टिना छैटौं स्थानमा छ । उरुग्वेले चार खेलबाट नौ अंक जोडेर दोस्रो स्थानमा छ।
शीर्ष स्थानमा रहेको इक्वेडरले चार खेलमा १२ अंक जोडेको छ। अर्जेन्टिनाले चार खेलबाट केवल पाँच अंक बनाएको छ। १० टोलीमध्ये शीर्ष चार टोली सोझै विश्वकपमा छनोट हुनेछन् भने बाँकी एक टोलीले प्ले अफ खेल्न पाउनेछ।
टोली कमजोर स्थितिमा रहेका बेला मेसीको पुनरागमन अर्जेन्टिनाका लागि महत्वपूर्ण देखिएको छ । उनी गत सेप्टेम्बरमा बार्सिलोनाका लागि खेल्ने क्रममा घाइते भएका थिए । मेसी र स्वारेज दुवै बार्सिलोनाका खेलाडी हुन्।
स्वारेज यो सिजन बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् । नेमार, मेसी र स्वारेजले यो सिजन क्लबका लागि संयुक्त रूपमा एक सयभन्दा बढी गोल गरिसकेका छन्। यी दुवैको उत्कृष्ट प्रदर्शनमा यो सिजनमा बार्सिलोना पुनः तीन प्रमुख प्रतियोगिता घरेलु लिग, युरोपियन च्याम्पियन्स लिग र स्पेनिस कोपा डेल रेको उपाधि यात्रामा देखिएको छ।
अर्जेन्टिनाले बिहीबार सान्टियागोमा घरेलु टोली चिलीको सामना गर्दैछ । कोपा डेल रेको फाइनलमा अर्जेन्टिनाले चिलीको नै सामना गरेको थियो। उक्त खेलमा पराजित भएको अर्जेन्टिना मेसीको पुनरागमनसँगै चिलीविरुद्ध गतिलो बदला लिने प्रयासमा हुनेछ।
जारी छनोटमा अर्जेन्टिनाले पहिलो खेलमै इक्वेडरसँग हार बेहोरेको थियो भने पाराग्वे र ब्राजिलसँग बराबरी खेलेको थियो । कोलम्बियालाई भने १-० गोलले हराएको थियो । मेसीले राष्ट्रिय टोलीका लागि एक सय पाँच खेलमा ४९ गोल गरेका छन्।
उरुग्वेले पनि उत्तिकै महत्वपूर्ण खेल शुक्रबार खेल्दैछ। उरुग्वेले ब्राजिलमा घरेलु टोलीसँग खेल्नेछ। स्वारेज सुखद पुनरागमन गर्ने प्रयासमा छन्।'लामो समयपछि टोलीसँग रहँदा फरक अनुभव होला, साथमा रोमाञ्चक पनि हुनेछु। किनभने दुई वर्षयता म उनीहरूसँग थिइनँ।
प्रतिबन्ध सकेर फर्कन लाग्दा निकै उत्साहित छु', २९ वर्षीय स्वारेजले भने। यद्यपि स्वारेजले टोली वन म्यान आर्मी नभएको बताए । ‘चार खेलमा तीन जित हात पारेकाले पनि उरुग्वेले आफूलाई वान म्यान आर्मी टोली नभएको पुष्टि गरिसकेको छ', स्वारेजले भने, 'म अहिले धेरै शान्त छु किनभने टोलीले समूहको रूपमा प्रदर्शन गरिरहेको छ।
अब टोली कुनै व्यक्तिविशेषमा निर्भर छैन।' स्वारेजले ८२ अन्तर्राष्ट्रिय खेलमा ४४ गोल गरेका छन्। मेसी र स्वारेज दुवै फिफा वर्ष खेलाडीको प्रत्यासी भइसकेका छन्। यसै साता हुने अन्य छनोट खेलमा इक्वेडरले पाराग्वे र पेरुले भेनेज्वेलाको सामना गर्नेछ।



0 comments
प्रतिक्रिया दिनुहोस्...