१५ चैत, काठमाडौं । बिहीबारदेखि सुरु हुने एसएलसी परीक्षाका लागि ७२ हजार ८ सय ९६ कर्मचारी खटिनेछन् र ति कर्मचारीहरुको दैनिक भत्तामा मात्रै १६ करोड रुपैयाँ खर्च हुनेछ ।
एस वर्षको एसएलसीमा १ हजार ९ सय ४३ परीक्षा केन्द्र तोकिएका छन् । जम्मा परीक्षार्थीको संख्या ६ लाख १५ हजार ५ सय ५३ छ । नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१, एक्जाम्टेड तर्फ १ लाख ५९ हजार ४१७ र प्राविधिकतर्फ ३ हजार २ सय ५५ विद्यार्थीहरु सहभागी हुँदैछन् ।
सबैभन्दा बढी काठमाडौंमा ९५ परीक्षाकेन्द्रमा ३६ हजार ८ सय ८६ परीक्षार्थी छन् । सबैभन्दा कम मनाङमा एउटा मात्र परीक्षाकेन्द्र र ६९ परीक्षार्थी छन् ।
गत वर्षको तुलनामा यसपालि देशभर ८१ परीक्षा केन्द्र बढी छन् । गत वर्ष १ हजार ८ सय ६२ परीक्षा केन्द्र थिए । भूकम्प प्रभावित जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष केहि परीक्षा केन्द्र थप गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए ।
हरेक परीक्षा केन्द्रमा एक-एक जना केन्द्राध्यक्ष तोकिएका छन् । यस्तै सहायक केन्द्राध्यक्ष २ हजार ९ सय ७८ जना छन् । तीन सय परीक्षार्थी बराबर एक सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
२९ हजार १ सय ४५ प्रहरी खटाइने
यसैगरी निरीक्षक २५ हजार ५ सय ७७ र सहयोगी १३ हजार २ सय ७४ जनाको व्यवस्था गरिएको छ ।
परीक्षा सन्चालनका लागि गत वर्षको तुलनामा यस वर्ष ९ हजार ९ सय ५१ जना बढी कर्मचारी खटिनेछन् । गत वर्ष ६२ हजार ९ सय ४५ कर्मचारी खटाइएकामा यसपटक ७२ हजार ८९६ जना खटिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
परीक्षालाई मर्यादित र सुरक्षित बनाउन हरेक परीक्षा केन्द्रमा १५ जनाको दरले देशभर २९ हजार १ सय ४५ जना प्रहरी पनि परिचालन गरिनेछ ।
एक लाख जरिवाना वा ६ महिना कैद
चैत १८ गते बिहान ८ बजेदेखि एसएलसी परीक्षा सुरु हुनेछ । परीक्षार्थीहरु आ-आफ्नो विद्यालयको तोकिएको पोशाकमा परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ ।
पहिलो दिन अंग्रेजी विषयको परीक्षा छ । परीक्षामा चिट चोर्ने-चोराउने लगायतका अमर्यादित गतिविधि गरेमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुबै सजायँ हुने उपनियन्त्रक श्रेष्ठले जानकारी दिए ।
परीक्षा केन्द्रमा मात्रै झण्डै १६ करोड खर्च
परीक्षा केन्द्रमा मात्रै सरकारको करीब १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगीहरुको भत्तालगायतको हिसाब गर्दा परीक्षा केन्द्रमा मात्रै झण्डै १६ करोड रुपैयाँ खर्च हुन्छ,’ उपनियन्त्रक श्रेष्ठले अनलाइनखबरसँग भने ।
सरकारले केन्द्राध्यक्षलाई दैनिक ८ सय रुपैयाँ भत्ता दिन्छ । यसैगरी सहायक केन्द्राध्यक्षलाई ५ सय, निरीक्षकलाई ३ सय ५० र सहयोगीले २ सय रुपैयाँको दरले दैनिक भत्ता पाउँछन् ।
प्रहरीको खाजा खर्चमा साढे ३ करोड खर्च
उपनियन्त्रक श्रेष्ठका अनुसार परीक्षाको सुरक्षाका लागि खटिने प्रहरीलाई सरकारले खाजा खर्चमात्रै दिन्छ । खाजा खर्च वाफत् एक प्रहरीले दैनिक १ सय ५० रुपैयाँ पाउँछन् ।
एसएलसीको सुरक्षामा खटिने २९ हजार १ सय ४५ प्रहरीको खाजा खर्चमा मात्रै साढे ३ करोड रुपैयाँ छुट्याइएको छ । सरकारले एक परीक्षा केन्द्रमा १५ जनाको दरले प्रहरी परिचालन गर्नेछ ।
शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालनको वातावरण बनाउन प्रहरीहरुले सहयोगीको भूमिका खेल्ने अपेक्षा परीक्षा नियन्त्रण कार्यालयको छ ।
कापि जाँच्न साढे १२ करोड खर्च
परीक्षाको कापि परीक्षणमा भने करिब साढे १२ करोड खर्च हुन्छ । एउटा कापि जाँच्दा २५ रुपैयाँको दरले खर्च हुन्छ । परीक्षकले एउटा कापि जाँचेबाफ्त २० रुपैयाँ र सम्परीक्षकले पाँच रुपैयाँ पाउँछन् । परीक्षकले जाँचको कापिमा संपरीक्षकले रुजु गरी हस्ताक्षर गर्दछन् ।
यो गत वर्षको जत्तिकै रकम हो । यसअघि कापि परीक्षणको रकम कम भएको भन्दै शिक्षकहरुले आन्दोलन नै गरेपछि सरकारले कापि जाँचेको रकम गत वर्षदेखि बढाएको थियो ।
अनलाइनखबरबाट



0 comments
प्रतिक्रिया दिनुहोस्...