रमेश धमला
१६ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चलाएको ‘अप्रेसन क्वाक’मा १७ जना नक्कली डाक्टर कारबाहीमा परे । तर, कारबाहीको दायरामा आएका अधिकांश नक्कली डाक्टरले धरौटी तिरेर उन्मुक्ति पाइरहेका छन् ।
लामो अनुसन्धानपछि अप्रेसन चलाएको सिआइबीले १३ नक्कली डाक्टरलाई पक्राउ गरी एकैपटक सार्वजनिक गरेको थियो । थप चारजना पटक-पटक कारबाहीमा परेका थिए । उनीहरूले भारतबाट नक्कली सर्टिफिकेट बनाएर डाक्टर पढेका थिए ।
८ कक्षा पास गरेका ‘डाक्टर’लाई ३९ हजारमा छुटकारा
मोरङ कटहरीका पशुपति चौधरीको वास्तविक शैक्षिक योग्यता ८ कक्षा पास मात्रै थियो । तर, उनी मोरङकै पशुपति मोडल अस्पतालका डाक्टर बनेर काम गरिरहेका थिए । नक्कली डाक्टरविरुद्ध सीआईबीले चलाएको अपरेसनमा चौधरी पनि परे ।
अनुसन्धानका क्रममा उनले ८ कक्षाभन्दा माथिका सबै प्रमाणपत्र नक्कली भएको देखिएको थियो । आइएस्सीदेखि एमबीबीएससम्मको प्रमाणपत्र खरिद गरेर डाक्टर बनेका तिनै पशुपति चौधरी ३९ हजार रुपैयाँ धरौटी तिरेर उन्मुक्ति पाएका छन् ।
सीआईबीले चौधरीलाई सरकारी सहीछाप किर्ते गरेको अभियोगमा मुद्दा चलाएको थियो ।
सरकारी सुविधा धरौटीमा
विगत २ वर्षदेखि सरकारी सेवा-सुविधासहित डाक्टरी पेसा गरिरहेका थिए, सुजितकुमार श्रेष्ठ । डोटी जिल्ला अस्पतालमा सानका साथ सरकारी सेवा-सुविधा उपभोग गरेर बसेका श्रेष्ठ वास्तविक डाक्टर नभएर नक्कली डाक्टर भएको सीआईबीको अपरेसनमा परेपछि मात्रै खुल्यो ।
सुजितले आईएस्सीको प्रमाणपत्र नक्कली बनाएको अनुसन्धानका क्रममा खुलेपछि सीआईबीले उनीविरुद्ध सरकारी कागज किर्ते गरेको अभियोगमा मुद्दा चलाएको थियो ।
सिआइबीले २ वर्षभन्दा लामो समय उपभोग गरेको सरकारी सुविधाको हिसाब-किताब समेत गरेर मुद्दा चलाएको थियो । अदालतले पनि सुजितले २ वर्षभन्दा लामो समय उपभोग गरेको सरकारी सुविधा बराबरको ३० लाख रुपैयाँ धरौटी मागेको छ । आवश्यक धरौटी बुझाउन नसकेपछि उनी अहिले जेलमा छन् ।
११ जनालाई ३० हजारमा छुटकारा सीआईबीले चलाएको ‘अपरेसन क्वाक’मा अहिलेसम्म १७ जना नक्कली डाक्टर कारबाहीमा परेका छन् । तीमध्ये तीनजना मात्रै अहिले सीआईबीको हिरासतमा छन् । मेडिकल काउन्सिल ऐनअन्तर्गत मुद्दा चलाइएका ११ नक्कली डाक्टर ३० हजार धरौटीमा रिहा भएका छन् । २ जनालाई सरकारी कागज किर्ते गरेको अभियोगमा मुद्दा चलाएको थियो भने १४ जनालाई मेडिकल काउन्सिल ऐनअन्तर्गत मुद्दा चलाएको थियो ।
ब्युरोका एसपी दिवस लोहनीका अनुसार कारबाहीमा परेकामध्ये प्रायः सबै धरौटीमा छुटे पनि उनीहरूलाई कस्तो कारबाही हुने भन्ने फैसला हुन बाँकी नै छ । एसपी लोहनी भन्छन्, ‘अहिले धरौटीमा छुटेका छन्, पछि फैसलामा कारबाही हुन सक्छ ।’
१७ हजार डाक्टरमाथि अनुसन्धान जारी
प्रहरीको ‘क्वाक अपरेसन’ले सेतो पोसाकमा भइरहेको कालो धन्दा उदांगो भएको छ । आफूलाई चेक गरिरहेको सक्कली डाक्टरलाई पनि नक्कली त होइन भन्ने आशंकाले हेर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ ।
अस्पतालहरूमा छ्यापछ्याप्ती नक्कली डाक्टरहरू भेटिएपछि नेपाल मेडिकल काउन्सिल र सीआईबीको टोलीले अपरेसन चलाइरहेको छ । सीआईबीका एसपी दिवस लोहनीका अनुसार देशभरका १७ हजार डाक्टरको शैक्षिक प्रमाणपत्रमाथि छानबिन भइरहेको छ ।
‘अहिले हामी देशैभरका डाक्टरमाथि अनुसन्धान गरिरहेका छौं,’ एसपी दिवस लोहनी भन्छन्, ‘जुनसुकै अस्पतालमा कार्यरत भए पनि मेडिकल काउन्सिलको सहयोगमा सबै डाक्टरको सर्टिफिकेट छानबिन र अनुसन्धानको दायरामा राखिएको छ ।’
हाल देशभर करिब १७ हजार डाक्टर रहेको मेडिकल काउन्सिलको तथ्यांक छ ।
Onlinekhabar baata



0 comments
प्रतिक्रिया दिनुहोस्...