नाबालक च्यापेर न्याय खोज्दै मञ्जिरा
जनकपुरधामः अन्तरजातीय प्रेम विवाह गरेको चार महिना नबित्दै फरार भएपछि धनुषामा एक दलित युवतीको विचल्ली भएको छ ।
जिल्लाको नौसय विघा–६ बस्ने २१ वर्षीया मञ्जिरा दास अन्तरजातीय प्रेमविवाह गरेका पतिले गर्भ बोकाएर फरार भएपछि न्याय खोज्दै प्रहरी प्रशासन धाउन बाध्य भएकी छिन्् ।
आफू चार महिनाकी गर्भवती हुँदा भागेका पति नफर्केपछि अलिहे उनी काखमा नाबालका च्यापेर भौतारिइ रहेकी छन् ।
दलित परिवारकी मञ्जिरा गाउँकै सम्वृद्ध परिवारका मानिने रामदयाल यादवका २३ वर्षीय छोरा विपिन यादवसँग प्रेममा परिन् ।
कथित उच्च जातका केटा विपिन र मञ्जिराले गाउँ समाज र घरपरिवारमा दलित समुदायकी युवतीसँग विवाह गर्दा स्वीकार गर्ने नदेखेपछि भागेर विवाह गरे ।
२०७१ जेठ २२ गते सुनसरी जिल्ला अदालतमा कानुनी बिहे गरेका मञ्जिराले सुनाइन् ।
विहेपछि समाजको डरले गाउँ नफर्केर आफुहरु विराटनगरमा डेरा भाडामा लिएर बस्न थालेको उनले बताइन् ।
‘त्यतिबेला विपिनको घरपरिवारबाट कहिलेकाहीँ फोन आउँदा तल्लो जातकी केटीसगँ विहे गरेर भाग्यौ, त्यसलाई छोडेर आऊ भन्दै बोलाउने गरेका थिए ।’
विवाहको चार महिनापछि मञ्जिरा गर्भवती भइन् । बच्चा जन्मेपछि घरपरिवारले स्वीकार्लान् भनेर आश गरेकी मञ्जिरा विपिन फरार भएपछि घर न घाटकी भएकी छन् ।
‘चार महिनाको गर्भवती अवस्थामा छाडेर पति फरार भएपछि मेरो दुःखको दिन शुरु भयो’, उनले भनिन्, ‘पति फरार भएको १० महिना बितिसक्दा पनि न त अहिलेसम्म फोन आएको छ न त खबर नै ।’
गर्भवती अवस्थामा एक्लै हँुंदा आमाबुवाको सहयोगमा छोरो जन्माएकी मन्जिरा अहिले काखमा ५ महिनाको छोरा बोकेर पनि खोज्न लागि परेकी छिन् ।
काखमा छोरा बोकेर नातागोता र समाजको सहयोगमा मञ्जिरा पति पत्ता लगाई दिन भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषा निवेदन दिन पुगेकी थिइन् ।
विपिनलाई उनको घरपरिवारले लुकाईछिपाई वैदेशिक रोजगारमा पठाएको मञ्जिराको अनुमान छ । विपिनसँग घरपरिवारले कुराकानी गरे पनि आफूसँग कुनै सम्पर्क रहन नदिएको उहाँको दुखेसो छ ।
मञ्जिराले कोर्ट म्यारिज गरेको प्रमाणसहित विपिनको घरमा बस्न पाउनु पर्ने भन्दै जिल्ला प्रहरी कर्यालय धनुषाअन्तर्गतको महिला तथा बालबालिका कार्यालयमा निवेदन दर्ता गराएकी छिन् ।
निवेदन परेपछि जिप्रकामा उपस्थित विपिनका बुवा रामदयाल यादवले छोरो दुई वर्षदेखि वेपत्ता भएको दाबी गरेका छन् । उनले छोरो नभेटेसम्म मञ्जिरालाई बुहारी र उनको छोरालाई नाति नस्वीकार्ने अडान राखेका छन् ।
मञ्जिरासँग कोर्ट म्यारिज गरेको प्रमाणपत्र रहेकाले ससुराले समाजिकरुपमा बुहारी नस्वीकारे कानुनी रुपमा अंश दिलाउने महिला तथा बालबालिका कार्यालयकी अध्यक्ष मिनाकेसीले बताइन् ।
विपिनका बुवाले छोरा बेपत्ता भएको भनेपनि हालसम्म खोजीका लागि कहीँ कतै उजुरी नदिएको अवस्थामा उनीहरुले नै विपिनलाई लुकाएर राखेको हुनसक्ने केसीको भनाइ छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...